जग्गा प्लटिङ प्रकरण : माडी नगरपालिकालाई अख्तियारको पत्र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा प्लटिङ तथा जथाभावी कित्ताकाट गरेको प्रकरणमा चितवनको माडी नगरपालिकालाई पत्र पठाएको छ।
संघीय सरकारको निर्देशन र कानूनविपरीत जग्गा प्लेटिङ तथा कित्ताकाटका लागि स्वीकृत र विभिन्न व्यक्ति तथा संस्थालाई मनोमानी रुपमा सार्वजनिक जग्गा भाडामा दिएको विषयमा जवाफ पेश गर्न अख्तियारले माडी नगरपालिकालाई पत्र पठाएको हो। ८ साउनमा अख्तियारकी नापी अधिकृत राधिका तिमल्सेनाले पठाएको ‘अत्यन्त जरुरी/गोप्य’ पत्रमा कागजात पनि पेश गर्न भनिएको छ।
माडी नगरपालिकालाई अख्तयारले पठाएकाे पत्र।
२४ साउनमा नगरपालिकामा पुगेको पत्रमा माडी–३ स्थित कित्ता नं. १३१ को ४० बिघा जग्गा माडी नगरपालिकाको स्वीकृतिमा प्लटिङ गरिएको, सोही वडाको कित्ता नं. ३९ को १६-१-२ बिघा जग्गा 'ट्वान्टी वान ग्रुप'लाई आवासीय प्रयोजनको लागि कित्ताकाट तथा प्लटिङ स्वीकृति दिएको लगायतका विषयमा जवाफ मागिएको छ।
यससँगै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र लगायत विभिन्न ६ स्थानको सयौं बिघा जग्गा भाडामा लगाएको लगायतका विषयमा पनि अख्तियारले जवाफ मागेको छ।
माडी नगरपालिका मेयर ठाकुर ढकालले नेकपा (माओवादी केन्द्र) निकटका कार्यकर्ता तथा आफन्तलाई नियम विपरीत कित्ताकाटको स्वीकृति तथा जग्दा भाडामा लगाउँदै आएकोबारे खोज पत्रकारिता केन्द्रले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशित भएको थियो।
समाचार प्रकाशित भएपछि माडी नगरपालिकाले दशौं नगरसभामार्फत मध्यवर्ती क्षेत्रका सार्वजनिक जग्गा भाडामा लगाउने निर्णय खारेज गरेको जनाएको छ। यद्यपि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रोक लगाएको जग्गा कित्ताकाटको लागि भने नगरपालिकाले ‘ट्वान्टी वान ग्रुप’लाई स्वीकृति दिइसकेको छ।