प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ फर्किए
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे रुपमा कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।
बुधबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा नियुक्तिको पत्र बुझेसँगै घिसिङ प्राधिकरण पुुगेर पदभार ग्रहण गरेका हुन्।
मन्त्रिपरिषद्को २५ साउनको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पद (सचिव सरह) सिर्जना गरेर आयोगको सदस्यका रुपमा नियुक्त गरिएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी निर्देशक नियुक्त गरेका शाक्यलाई राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गर्न ऊर्जामन्त्री पम्फा भुसालले दबाब दिँदै आएकी थिइन्।
घिसिङको चार वर्षे कार्यकारी निर्देशकको पदावधि २०७७ भदौमा सकिएको थियो। उनको पुनर्नियुक्तिको चर्चाबीच ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। सरकार फेरिएसँगै शाक्यलाई हटाएर घिसिङलाई फेरि प्राधिकरण ल्याइएकाे हाे।