स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतलाई पनि अर्थ मन्त्रालयको स्पष्टीकरण
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्जलाई पनि सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर कारोबारका विषयमा स्पष्टीकरण सोध्दै पत्र पठाएको छ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले १४ साउनमा पत्र पठाउँदै तीन दिनभित्र जवाफ पठाउन भनेको हाे।
शेयर बजारको कारोबार गर्ने प्लेटफर्म नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी दोस्रो बजारमा आउने तयारीमा रहेको एक कम्पनीको शेयर खरीद गरेको हिमालखबरले १३ साउनमा सार्वजनिक गरेको थियो।
मन्त्रालयले साउदका नाममा स्पष्टीकरण नसोधी स्टक एक्सचेन्जलाई सम्बोधन गरेर पत्र पठाएको छ। महाशाखाका अधिकृत श्यामप्रसाद आचार्यले पठाएको पत्रमा सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो, सोको प्रष्ट र तथ्यपरक विवरण तीन दिनभित्र पठाउन भनिएको छ।
यसअघि, १३ साउनमा मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पनि पत्र पठाउँदै तीन दिनभित्र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर कारोबारका विषयमा स्पष्टीकरण पठाउन भनेको थियो। तर, यी दुवै पत्रमा आरोपित व्यक्तिलाई नभएर संस्थाका नाममा पत्र पठाइएको छ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीले सीधै व्यक्तिलाई पत्र नपठाई शुरूमा संस्थाका नाममा पत्र काटेर बुझ्न खोजिएको बताए। उनले ती संस्थाहरूबाट जवाफ आएपछि विषयको गम्भीरताका आधारमा छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाइन सक्ने बताए। “उनीहरूको जवाफ आएपछि मात्रै छानबिन समितिबारे निर्क्योल हुन्छ,” उनले भने।