धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण
शेयर खरीद प्रकरणमा अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको शेयर आचारसंहिता र कानून विपरीत हात पारेको समाचार हिमालखबरले सार्वजनिक गरेपछि मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको हो।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले १३ साउनमा पठाएको पत्रमा विभिन्न सञ्चारमाध्यममा बोर्डसँग सम्बन्धित समाचार प्रकाशन भएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ। पत्रमा भनिएको छ, “सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ।”
धितोपत्र बजारको नियामक संस्था बोर्डका अध्यक्ष ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत काम गरेको प्रमाणसहितको समाचार हिमालखबरले मंगलबार सार्वजनिक गरेको थियो। उनले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएको थियो।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी श्रीमतीको नाममा उक्त कम्पनीको शेयर राखेको देखिएको थियो।