उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ।
सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गरेपछि आयोगको इजलासले यादव पक्षलाई आधिकारिकता दिने फैसला गरेको हो। बहुमत केन्द्रीय सदस्य यादवको पक्षमा भएकाले इजलासले आधिकारिकता दिने फैसला गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा रहेको इजलासले एक सातादेखि सुनुवाइ गरिरहेको थियो। आज जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएर सनाखत गरेको थियो।
अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि अवसर दिने पनि फैसला गरेको छ। यादवलाई आधिकारिकता दिए पनि ठाकुरलाई दल दर्ताका लागि अवसर दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आज आयोग पुगेका यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका थिए। डिल्लीबजार कारागारबाट आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी भने तटस्थ बसे।
यसअघि केपी शर्मा ओली सरकारलाई समर्थन गर्ने विषयमा जसपामा विवाद उत्पन्न भएको थियो। ठाकुर पक्ष ओलीको समर्थनमा उभिएको थियो भने यादव पक्षले विरोध गरेको थियो। यही विषयलाई लिएर विवाद बढ्दै जाँदा विभाजनमा पुगेको हो।
आफ्नो पक्षमा बहुमत रहेको भन्दै यादवले निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसपछि आयोगले ठाकुर पक्षसँग जवाफ मागेको थियो। दुवै पक्षलाई बोलाएर छलफल पनि गरेको थियो।
दुवै पक्षले मिलेर जान नसकिने भन्दै कानूनी रूपमा अलग गरिदिन सहमति दिएका थिए। त्यसपछि आयोगले इजलास गठन गरेर सुनुवाइ थालेको थियो।
अन्तिममा आएर आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्न बोलाएपछि ठाकुर पक्ष रोक्न माग गर्दै ८ साउनमा सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चले १० साउनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगलाई निर्णयमा पुग्न सजिलो भएको हो।