डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड यूरो कपको फाइनलमा
डेनमार्कलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड यूरो कपको फाइनलमा प्रवेश गरेको छ।
इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो (विश्वकप–यूरो कप) प्रतियोगिताको फाइनलमा पुगेको हो। यसअघि सन् १९६६ मा विश्वकपको फाइनलमा पुगेको हो। साे खेलमा पश्चिमी जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो।
गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले पराजित गरेको हो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै जित दिलाएका हुन्। डेनमार्कका खेलाडीले डी–एरियाभित्र इंग्ल्यान्डका स्टरलिङ रहिमलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
यसको डेनमार्कका खेलाडीले विरोध पनि गरेका थिए। त्यसपछि रेफ्रीले ‘भिडिओ एसिस्टेन्ट रेफ्री’ सहायता लिएका थिए।
यसअघि खेलको पहिलो हाफमै डेनमार्कले अग्रता लिएको थियो। डेनमार्कका लागि खेलको मिकेल डाम्सगार्डले गोल गरेका थिए। उनले फ्री–किकमा उत्कृष्ट गोल प्रहार गरेका थिए।
त्यसको केहीबेरमै इंग्ल्यान्डले बराबरी गरेको थियो। खेलको ३९औं मिनेटमा इंग्ल्यान्डका रहिमको प्रहार डेनमार्कका सिमोन जाइरलाई लागेर गोलमा परिणत भएको थियो। त्यसलाई रेफ्रीले आत्मघाती गोल करार गरेका थिए।
खेलको दोस्रो हाफमा कुनै पनि टीमले गोल थप्न सकेनन्। दुवै टिमले एक–अर्कालाई दबाबमा राखेका थिए।
त्यसपछि अतिरिक्त समयको १०४औं मिनेटमा ह्यारीले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा प्रवेश गराएका हुन्।