कसले जित्ला यूरो कप?
सेमिफाइलनमा पुगेका चारै टोली दाबेदार भए पनि ह्यारी केन र रहिम स्टर्लिङ लयमा रहेको र रक्षापंक्ति पनि बलियो भएकाले इंग्ल्यान्डको उपाधि जित्ने सम्भावना बढी छ।
यूरोपियन फूटबलको विशेषता के छ भने, यूरो कप खेलिरहेका २४ वटै टीम उस्तैउस्तै छन्। कसैलाई भाग्यले साथ दियो, कसैलाई दिएन। साबिक यूरो विजेता र विश्वकप विजेता बाहिरिए। यूरो कपको सेमिफाइनलमा पुग्ने चार वटै टीम यसपटक फिफा वरीयताको पहिलो १० भित्रकै छन्।
फिफा वरीयतामा स्पेन ६ र इटाली ७ नम्बरमा छ। इटालीले समूह चरणदेखि नै राम्रो खेल्दै आएको छ। तीन वर्षदेखि अपराजित छ। पछिल्लो १३ वटा खेल जितेको छ। इटालीका एक जना डिफेन्डर घाइते छन्।
नकआउट चरण शुरू भएदेखि नै इटालीले बलियो प्रतिद्वन्द्वी पायो। इटालीको सम्भावना बलियो देख्छु। यद्यपि उसको सेमिफाइनल प्रतिद्वन्द्वी पनि कमजोर छैन।
स्पेनले पछिल्ला तीन वटा खेलबाट आफू अब्बल दर्जाको टीम हो भन्ने प्रमाणित गरिसकेको छ। दुई खेलमै १० गोल गरेको छ। अभागी टीमको संज्ञा पाउने गरेको स्पेनले टाइब्रेकरमा समेत जित्न सफल भयो, त्यो पनि १-० गोलले पछि परेको अवस्था उल्टाएर। त्यसकारण यसपटक स्पेनको मनोबल उच्च छ। स्पेन र इटालीमध्ये जसले पनि जित्न सक्छ।
इंग्ल्यान्डको फिफा वरीयता त राम्रो छ नै यसपटकको यूरो कपमा एक गोल पनि खाएको छैन। कुनै गोल नखाई सेमिफाइनलसम्म पुग्नु चानचुने कुरा होइन। गोलकिपर मात्रै होइन, समग्र रक्षापंक्ति नै बलियो भएको हुनाले सजिलै कसैले पनि उसलाई हराउन सक्दैन।
ह्यारी केन र रहिम स्टर्लिङ दुवै लयमा छन्। केनले असम्भव जस्तो देखिने बललाई पनि जाली चुमाएका छन्। बेन्च लाइन पनि राम्रो छ।
डेनमार्क समूह चरणको पहिलो दुई खेल हारेर पनि सेमिफाइनल पुग्न सफल टीम हो। क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई हरायो।
डेनमार्कको टीम निकै सन्तुलित पनि छ। मैदानमा ढलेका खेलाडी क्रिस्टियन इरिक्सनका लागि सारा विश्वले प्रार्थना गर्यो। इरिक्सनका लागि भनेर डेनमार्कका खेलाडीले शतप्रतिशतभन्दा बढी ‘खेल कौशल’ प्रयोग गरेर खेलिरहेका छन्। फिफा वरीयतामा दशौं स्थानमा रहे पनि इंग्ल्यान्डलाई पन्छाउन डेनमार्कलाई सजिलो हुनेछैन।
अहिलेसम्मको प्रदर्शन हेर्दा इटाली र इंग्ल्यान्डबीच फाइनल हुन्छ भन्ने मेरो अनुमान छ। सन् १९६६ मा विश्वकप जितेको इंग्ल्यान्डले त्यसयता ठूलो उपाधि उचाल्न सकेको छैन। उनीहरूमा जीतको भोक बढी देखेको छु।
यसपटक यूरो कप ११ वटा शहरमा भएको छ। सन् १९६० मा शुरू भएको यूरो कप अहिलेसम्म १० वटा देशले जितेका छन्। इंग्ल्यान्डले जित्दा ११औं विजेता देश हुनेछ। यसपटक इंग्ल्यान्डकै सम्भावना बढी देखेको छु। तथापि इटाली, स्पेन र डेनमार्कलाई कम आँक्न किमार्थ मिल्दैन।
कोपा ओझेलमा पर्नुका चार कारण
यूरो कपको तुलनामा कोपा अमेरिका प्रतियोगिता ओझेलमा परेको साँचो हो। पहिलो, दक्षिण अमेरिकी फूटबल भन्ने बित्तिकै ब्राजिल, अर्जेन्टिना र उरुग्वेको नाम आउँछ। बाँकी टीमको दक्षिण अमेरिका बाहिर खासै चर्चा सुनिँदैन। त्यहाँका सीमित देशमात्रै विश्वभरीका दर्शकको रोजाइमा परेको हुनाले कोपाको कम चर्चा भएको हुनुपर्छ।
दोस्रो, कोपामा १० टीमलाई दुई समूहमा खेलाएर आठ टीमलाई क्वार्टरफाइनलमा पुर्याइन्छ। एक खेल जितेपछि क्वार्टरफाइनल पुग्ने भएपछि समूह चरणका बाँकी खेलहरू एक हिसाबले अर्थहीन हुन्छन्। यो प्रक्रिया नै दर्शकलाई आकर्षित गर्ने खालको छैन।
तेस्रो, कोपामा यूरोपियन टीमहरूबीच भए जस्तो चर्को प्रतिस्पर्धा देखिएन। प्रतिद्वन्द्वी जो भए पनि अर्जेन्टिना र ब्राजिलले जित्छ भने जस्तो भएको छ। जब कि यूरो कपमा कुनै पनि टीमले जुनसुकै टीमलाई हराउने सामर्थ्य राख्छ। यसपटक पनि त्यस्तो देखियो।
चाैथो, कोभिड–१९ महामारी पनि अर्को कारण हो। यूरोपमा दर्शक राखेर खेलाइएको छ। तर, कोपामा दर्शकलाई रंगशालामा प्रवेश अनुमति छैन। आयोजक नै नपाएर ब्राजिलमा आयोजना गरियो। जब कि ब्राजिल कोरोना प्रभावित संसारकै तेस्रो देश हो।
नेपालले के सिक्ने?
यूरो कपमा १० वटा आत्मघाती गोल भइसकेका छन्। यूरोपियन फुटबल कति तीव्र छ भन्ने यसले देखाउँछ। तीव्र खेलमा रक्षापंक्तिलाई धेरै गाह्रो पर्छ। केही सेकेन्डको अन्तरालमा एउटा गोलपोस्टमा भएको बल अर्कोतिर गएर गोल भएको छ।
यूरो कपको अहिलेसम्मका खेलहरू हेर्दा के भन्न सकिन्छ भने एक-दुई जना खेलाडी अब्बल भएर पुग्दो रहनेछ। सामूहिक प्रयत्न नभई हुँदैन भन्ने देखिएको छ।
एक-दुई वटा खेलाडीमा होइन, सिंगो टीमकै लागि लगानी बढाउनुपर्छ भन्ने सन्देश पनि यूरो कपले दिएको छ। नेपालसहित दक्षिण एसियाका देशहरूले तीव्र फूटबलमा जोड दिनुपर्छ जस्तो लाग्छ।