चम्पादेवी सडक निर्माणमा अख्तियारले थाल्यो अनुसन्धान
काठमाडौंको कीर्तिपुर नगरपालिकाले निषेधाज्ञाका समयमा जंगल मासेर बनाएको सडकका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले छुट्टाछुट्टै रूपमा अनुसन्धान शुरू गरेका छन्।
योजनामै नभएको सडक निर्माणका लागि नगरपालिकाले रकमानान्तर गरी पर्यावरणीय हिसाबले महत्त्वपूर्ण स्थानमा पदमार्ग मासेर सडक निर्माण गरेको विषयमा हिमालखबरमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि अख्तियार र प्रदेश मन्त्रालयले चासो राख्दै अनुसन्धान अघि बढाएका हुन्।
अख्तियारले पर्यावरणीय हिसाबले महत्त्वपूर्ण स्थानमा मनोमानी किसिमले वन मासेर सडक बनाएको विषयमा चासो राख्दै सत्यतथ्य पेश गर्नका लागि नगरपालिकामा पत्र पठाएको छ।
त्यस्तै, बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजनल वन कार्यालयलाई पत्र लेखेर सडक निर्माण कार्यमा संलग्नलाई कारबाही गरी त्यसको विवरण मन्त्रालयमा पठाउन र सडक खनेर वन नासिएको ठाउँमा पुन:स्थापनाको आवश्यक व्यवस्था गर्न भनेको छ।
अख्तियारको पत्रपछि नगरपालिकाले सडक निर्माण कार्यमा संलग्नलाई दिनुपर्ने भुक्तानी रकम पनि रोकिएको छ।
सडक निर्माणको मुद्दा अख्तियारमा पुगेकाले रकम भुक्तानी गर्न नहुने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सीता परियारसहित कर्मचारीको मत रहेको छ।
निषेधाज्ञाको समयमा अग्निरेखा निर्माणका नाममा कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति प्रतिष्ठानबाट चम्पादेवीसम्म डोजर लगाएर सडक निर्माण गरिएको थियो। वन क्षेत्रमा कुनै वातावरणीय परीक्षणविना सडक खनिएपछि पर्यावरणकर्मी र कीर्तिपुरका केही स्थानीयले विरोध गर्दै आएका थिए।