निषेधाज्ञामा काठमाडौंमै जंगल मासेर सडक निर्माण
काठमाडौंको कीर्तिपुर नगरपालिकाले निषेधाज्ञाको समयमा पुष्पलाल स्मृति प्रतिष्ठान नजिकबाट चम्पादेवीसम्म जंगल मासेर सडक निर्माण गरेको छ।
कीर्तिपुर नगरपालिकाले पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण र चलन चल्तीमा रहेको पदमार्ग मासेर कीर्तिपुरदेखि चम्पादेवीसम्म डोजर लगाएर मोटरबाटो खनेको छ। निषेधाज्ञाको मौकामा नगरपालिकाले चम्पादेवी सामुदायिक वन क्षेत्रभित्रको करीब पाँच किलोमिटर वन क्षेत्रमा रू.५० लाख खर्च गरेर मोटरबाटो निर्माण गरेको हो।
नगरपालिकाले केही सीमित व्यक्तिको स्वार्थमा अन्य शीर्षकको रकम रकमान्तर गरेर कोरोनाभाइरसको महामारीका बेला चोर बाटोबाट मोटरबाटो निर्माण गरेको हो। निषेधाज्ञाको समयमा चारवटा डोजरको प्रयोग गरिएको थियो।
मोटरबाटो निर्माण गरिएको क्षेत्र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो। काठमाडौंको प्रमुख जलाधार र पदयात्रीका लागि उपयुक्त स्थानलाई मासेर नगरपालिकाले सीमित व्यक्तिको स्वार्थमा काम गरेको कीर्तिपुर नगरपालिकाको पर्यटन विकास रणनीतिक गुरुयोजनामा काम गरेका डा. तारालाल श्रेष्ठ बताउँछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक समेत रहेका श्रेष्ठ भन्छन्, “अहिले बाटो खनिएको ठाउँ सिमसार क्षेत्र र निकै संवेदनशील क्षेत्र हो। सुन्दर डाँडोलाई मासेर कुरूप बनाउने काम भयो। जनप्रतिनिधिले केही व्यक्तिको स्वार्थमा काम गरे।”
कुनै अध्ययनविना नगरपालिकाले उपभोक्ता समिति मार्फत बाटो खनाएको हो। बाटो खनिएको रकम भुक्तानी गर्ने नगरपालिकाले तयारी गरेको छ।
कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बानियाँले अग्निरेखा निर्माणको काम मात्र गरिएको दाबी गरे। “पहिला पनि बाटो नै थियो, झाडी पलाएको थियो। त्यसलाई सफा गर्न अग्निरेखा निर्माण गरिएको हो,” बानियाँले हिमालखबरसँग भने, “स्थानीय जनता, जनप्रतिनिधि सबैको माग अनुसार अग्निरेखा निर्माण गरिएको हो।”
उनले दाबी गरे जस्तो अग्निरेखा मात्रै निर्माण नगरिएको स्थानीय बासिन्दा बताउँछन्। डोजर लगाएर बाटो खनिएपछि बर्खाको शुरूआतमै ठाउँठाउँमा भूक्षय भएको छ। कीर्तिपुरको पुष्पलाल स्मृति प्रतिष्ठानबाट करीब तीन घण्टा जंगलमा उकालो हिँडेपछि चम्पादेवीसम्म पुग्न सकिन्थ्यो। उक्त स्थानमा पदयात्रीका लागि पदमार्ग निर्माण गरिएको थियो। त्यही ठाउँलाई मास्न नगरपालिकाले डोजर चलाएको स्थानीय बासिन्दा बताउँछन्।
नगरपालिकाकी उपप्रमुख एवं चम्पादेवी सामुदायिक वन उपभोक्ता समेत रहेकी सरस्वती खड्काले चम्पादेवीसम्म पुग्ने सडकलाई चौडा बनाएको दाबी गरिन्। उनले त्यसबारे सम्बन्धित वडाका वडाध्यक्षसँग बुझ्न र फिल्डमा गएर अध्ययन गर्न आग्रह गर्दै थप बताउन चाहिनन्।
डिभिजनल वन कार्यालय, काठमाडौंका डिभिजन वन अधिकृत बद्री कार्कीले बन्दाबन्दीमा सडक निर्माण गरिएकोबारे जानकारी नभएको प्रतिक्रिया दिए। अहिले विभिन्न नाममा काठमाडौंको दक्षिण क्षेत्रका थानकोटदेखि कीर्तिपुरसम्मको डाँडामा तीनवटा सडक बनाइएका छन्। जसका कारण हरियाली र सौन्दर्य देखिने काठमाडौंको दक्षिण क्षेत्र कुरूप बन्दै छ।
विभिन्न ठाउँमा पहिरोका घटना देखिन थालेका छन्। एउटा सडक थानकोट हुँदै चन्द्रागिरि पुर्याइएको छ भने अर्को सडक मातातीर्थ हुँदै चन्द्रागिरिभन्दा पूर्वतिरबाट मकवानपुरको इन्द्रसरोवर जोडिएको छ। पछिल्लो समय कीर्तिपुरबाट सडक खनेर चम्पादेवी पुर्याइएको छ।
जलाधारविज्ञ मधुकर उपाध्याय यसरी अन्धाधुन्ध खनिएका सडकले पर्यावरणीय नोक्सानीका साथै पहिरो निम्तने जोखिम रहेको बताउँछन्। सडक खन्दा पानीको प्राकृतिक बहाव बिथोलिने र एक स्थानमा पानी धेरै भएपछि पहिरो जाने विज्ञ बताउँछन्।