काठमाडौंमा थपियो निषेधाज्ञा, बारअनुसार सबै पसल खुल्ने, निजी सवारीलाई जोरबिजोर
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ। अब पसल खोल्न र निजी सवारी साधन चलाउन पाइने भएको छ।
कोभिड–१९ को संक्रमणको जोखिम कायम रहेकाले निषेधाज्ञा एक साता थपिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। “कोरोना संक्रमण केही कम भएको छ। तर, जोखिम कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको छ,” भट्टराईले भने।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १४ असारसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–बिजोर नम्बरका आधारमा चलाउन पाइने भएको छ।
त्यस्तै, ८ असारदेखि सबै पसल खोल्न पाइने भएको छ। त्यसका लागि बार अनुसार पसल खोल्ने व्यवस्था गरिएको भट्टराईले बताए।