निषेधाज्ञामा काठमाडौंमा के खुल्छन्, के खुल्दैनन्?
कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता थपिएको निषेधाज्ञामा पसल खोल्न र निजी सवारी साधन चलाउन पाइने भएका छ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १४ असारसम्म निषेधाज्ञा थपेको छ। यसअघि थपिएको निषेधाज्ञा ७ असारमा सकिँदै छ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा औषधि पसल र स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा पनि खोल्न पाइने जनाएको छ। त्यस्तै, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री बिक्री गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र), स्टेसनरी र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ।
अन्य पसलका लागि बार तोकिएको छ। डिपार्टमेन्ट स्टोर (ग्रोसरी बाहेक), शपिङ मल र खेलकुद सामग्री पसल, कपडा जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइनेछ।
यस्तै, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने भएको छ।
निर्माणजन्य सामग्री पसल जस्तै हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ पसल सबै दिन खोल्न पाइनेछ। यसका लागि बिहान ११ देखि साँझ ६ बजेसम्म समय तोकिएको छ। ठूलो परिमाणको ढुवानी राति मात्रै गर्नुपर्नेछ। सवारी साधन मर्मतका लागि वर्कशपहरू बेलुका ७ बजेसम्म खोल्न पाइनेछ।
त्यस्तै, अत्यावश्यक सेवाका सवारी साधनहरू नियमित सञ्चालन गर्न पाइनेछ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र बिरामी बोकेका सवारी साधन र एम्बुलेन्स नियमित सञ्चालन गर्न पाइनेछ।
यससँगै निजी सवारी साधनहरू कार, जीप, भ्यानमा बढीमा चार जना चढ्न पाइनेछ। ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल तथा स्कुटी चलाउने पाइने भएको छ। निजी सवारी साधन जोर गतेमा जोर नम्बर र बिजोर गतेमा बिजोर नम्बर चलाउनुपर्नेछ।
तरकारी, फलफूल तथा खाद्यान्न ढुवानीका साधन बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यसमा ब्यानर तथा प्रिन्ट गरेर लेख्नुपर्नेछ।
यससँगै सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी गर्न राति ९ देखि बिहान ५ बजेसम्मको समय तोकिएको छ।
निषेधाज्ञा खुकुलो पारिएको भए पनि संक्रमणको जोखिमलाई ध्यानमा राखेर केही क्रियाकलापमा रोक लगाइएको छ। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनारमा रोक लगाइएको छ। भीडभाड हुने सबै प्रकारका कार्यक्रममा पनि प्रतिबन्ध यथावत् छ।
यससँगै फूटपाथ र खुला ठाउँमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसायमा पनि रोक लगाइएको छ। विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने भएको छ।
थपिएको निषेधाज्ञामा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन्। भौतिक उपस्थितिमा परीक्षा पनि सञ्चालन गर्न नपाइने भएको छ। यो अवधिमा सार्वजनिक सवारी साधन पनि बन्द नै रहने भएका छन्।