नेप्सेमा सामान्य अंकको गिरावट, परिसूचक २९६८ बिन्दुमा
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्णको सूचीमा राखेपछि आज, दोस्रो दिन पनि शेयर बजार सामान्य अंकले घटेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १.३० अंकले ओरालो लागेको छ। आज परिसूचक २९६८.४२ बिन्दुमा झरेको छ।
आज कारोबार रकममा पनि गिरावट आएको छ। २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १० अर्ब ९० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज विकास ब्यांक, फाइनान्स, होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य र व्यापार समूहको सूचक बढेको छ। बाँकी समूहको सूचक भने घटेको छ।
बिहीबार खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यसको शेयर मूल्य ७.४२ प्रतिशतले बढेको छ। त्यस्तै, नेपाल फाइनान्स लिमिटेड ५.६१, कर्णाली विकास ब्यांक ५.२३, सोल्टी होटल ५.१३ र ग्रिन विकास ब्यांकको शेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ।
त्यसैगरी सीईडीबी हाइड्रोपावरको शेयर मूल्य ६.५५, छ्याङ्दी हाइड्रोपावर ३.५१, न्याग्दी ग्रुप पावर ३.४७ र माउन्टेन इनर्जीको शेयर मूल्य ३.४२ अंकले घटेको छ।
आज कारोबारका हिसाबले नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। यसको शेयर ७७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।