‘सरकारलाई शेयर बजारको खेलाडी बन्न नउचालौं’
नियामक निकायले सफ्टवेयरमा लगानी बढाउनुपर्यो। अनुगमन तीव्र पार्नुपर्याे। नयाँ ‘ब्रोकर कम्पनी’लाई लाइसेन्स दिनुपर्यो। कारोबार उपत्यका बाहिर थप विस्तार गर्नुपर्यो। तर, आफैं खेलाडी बन्ने भने होइन।
माग र आपूर्तिको सन्तुलनले गर्दा कुनै पनि वस्तुको मूल्य घट्ने वा बढ्ने गर्दछ। आपूर्तिभन्दा माग बढी भए मूल्य बढ्छ, कम भए घट्छ। खाद्यान्न, सागसब्जी, औषधि आदि जीवन धान्नका लागि नभई हुँदैन। तर, कुनै कम्पनीको शेयर नकिने पनि जीवन चल्छ। अर्थात् शेयर बजार अत्यावश्यक कुरा होइन। जग्गा, सुन लगायतको पनि विकल्प छ। त्यसैले शेयर बजारको नियमभित्र रहेर चल्दा केही समय कुनै शेयर बढ्छ, कुनै बढ्दैन। लगानीकर्ताको व्यवहार पनि त्यही अनुसार पाको हुँदै जान्छ।
हरेक कम्पनीको मूल्य फरक हुन्छ। फलाना ब्याङ्कको भाउ बढेन, फाइनान्स वा लघुवित्तको किन बढ्यो? भन्ने जस्ता तर्क सही होइनन्। यो त हिराको भाउ बढेन, सुनको किन बढ्यो? भनेको जस्तो भयो। कसैले पनि वर्षौं पुरानो कम्पनी फोर्डको भाउ यति हुँदा टेस्लाको यति किन भयो भनेर विरोध गर्दैनन्। वा, त्यसो भनेर दाँजेको सुनिँदैन।
युवराज खतिवडा अर्थमन्त्री हुँदा शेयरको भाउ दुईतिहाइले घटेको थियो, त्यस्तो बेला बढाऊ भनेर वक्तव्य निकाल्ने, सम्पादकीय लेख्ने त? त्यस्तै कसैले पनि शेयरको मूल्य घटाऊ भनेर लेख्ने कुरा आउँदैन। बढ्न त जग्गाको भाउ पनि बढेको छ। सुनको पनि बढेकै छ।
केही वर्षमा शेयर बजारबाट वार्षिक १०० अर्बको राजस्व अपेक्षा गर्न सकिन्छ। यो निकै ठूलो आम्दानीको स्रोत हो। यस्ता वैकल्पिक करका क्षेत्र सरकारले पहिचान गर्नुपर्छ।
मलाई लाग्छ, अहिले नेपाली शेयरबजारमा मुख्य मुद्दा नियमन र पारदर्शिताको हो। कसैले ‘इन्साइडर ट्रेडिङ’ गरेको छ भने कारबाही गर्नुपर्छ। नियम अनुसार भएको छ/छैन, हेर्ने हो। अहिलेको बजारमा कुरा सुन्दा ‘शेयर कर्नरिङ’ चाहिँ भएको हो कि जस्तो लाग्छ।
खासमा सधैं यस्तो भाउ बढ्ने हुँदैन। कतिपय आफैँ घट्छन् र घटेका छन् पनि। यदि ‘इन्साइडर ट्रेडिङ’ भएको छ भने तिनीहरूलाई कडा कारबाही गर्नुपर्छ।
हाम्रो शेयर बजार लामो समयदेखि ‘अन्डर ट्रेडिङ’ थियो। एक वर्षअघि नै दैनिक २० अर्ब कारोबार हुनुपर्छ भनेर मैले भनेको–लेखेको थिएँ। भारतसँगै दाँज्ने हो भने पनि हाम्रो दैनिक २० अर्ब कारोबार अपेक्षित पारदर्शी हो। शेयर बजारमा अझै धेरै उतारचढाव आउन बाँकी छ जस्तो लाग्छ। असारको वित्तीय विवरण कस्तो आउँछ, तर अपेक्षा गरे झैं राम्रो आएमा अहिलेसम्म खासै नबढेका वाणिज्य ब्यांकको अझै बढ्छ जस्तो लाग्छ। सायद धेरैले ब्यांकको असार मसान्तको विवरण कुरेका छन्।
नेपालका ठूल्ठुला शेयर कारोबारी समेत डुबेको देखिएको छ। सबै साना लगानीकर्ता नै हुन्। म त अझ धेरै व्यक्ति शेयर बजारमा आउनुपर्छ भन्छु। यसो हुँदा सीमित व्यक्तिको हातबाट शेयर बजार सबैको पहुँचमा पुग्छ। ब्यांकको पैसा शेयर बजारमा गयो। त्यो सर्वसाधारणको पैसा हो भन्ने गरिन्छ। शेयर बेच्ने/किन्ने पनि त सर्वसाधारण नै त हुन्। कमाउने र गुमाउने दुवै सर्वसाधारण हुन्।
साना लगानीकर्ता ठगिन्छन् भन्ने सुनिन्छ। तर, त्यो शेयर बजार सम्बन्धित घटना मात्र त हाेइन। नकारात्मक कुरा मात्र हेर्ने हो भने सबै ठाउँमा साना ग्राहक ठगिएको पाइन्छ। कुन ठाउँमा ठगिएका छैनन्? मध्यमवर्ग र साना लगानीकर्ता? चामल, तरकारी किन्दादेखि स्कूलको शुल्कमा ठगिएका पनि भन्न सकिएला। अस्पतालमा ठगिएका छन् भन्न सकिएला। मुख्य कुरा नसक्ने गरी, ज्यादै जोखिम लिएर ऋण लिएर नकिन भन्नु चाहिँ पर्छ। सानालाई देखाएर आफूले कमाउने माध्यम भएको छ। यहाँ लगानी गर्ने बेला नियामक निकायदेखि दलाल सबै कम्पनीले लगानी गरेका छन्। अनि हस्तक्षेप खोज्ने बेला साना लगानिकर्ताको सुरक्षा भन्ने घिसापिटा बहाना लिएर हस्तक्षेप गर्न खोजिएको हो कि जस्तो लाग्छ। जे कुरामा पनि सानालाई असर गर्छ भन्यो, पन्छियो।
'शेयर कर्नरिङ' को हकमा बजारमा गलत भएको भन्ने लाग्छ भने सरकारले निश्चित नियम बनाएर एउटा व्यक्तिले यतिसम्म शेयर किन्न सक्छ भनेर सीमा तोके भयो। कडा अनुगमन गरे भयो। होइन भने कोही व्यक्तिले घाटामै भएको कम्पनीको शेयर बढी मूल्यमा किन्छ भने अरूलाई किन समस्या? जे कुराको पनि विरोध गर्नुपर्ने किन? औषधि, खाद्यान्न हो भने पो त्यसो गर्न हुँदैन भन्न हुन्थ्यो।
अहिले शेयर बजारमा यसकारणले पनि आकर्षण भएको छ कि सर्वसाधारणले लगानी गर्ने अन्य क्षेत्र पनि त छैनन्। ब्यांकमा ब्याजदर ६ प्रतिशत जतिबाट २ प्रतिशतमा झरिसक्यो। २ प्रतिशतमा ब्यांकमा पैसा राखेर के गर्ने?
शेयर मात्रै बढेको छ र? ४/५ वर्षअघि ३० लाख आना रहेको जग्गा अहिले डेढ करोड पुगिसक्यो। केलाई स्वाभाविक भाउ भन्ने, केलाई अस्वाभाविक? जग्गाको उत्पादन त बढेको छैन। अनि जग्गाको भाउ अस्वाभाविक रूपले बढ्यो भनेर मालपोत कार्यालयले वक्तव्य निकाल्ने?
पक्कै पनि कुनै खराब, कुनै राम्रा कम्पनी छन्। बरु खराब कम्पनीका बारेमा सञ्चारमाध्यमले लेखिराख्नु भने पर्छ। सुसूचित गराउन जरुरी छ। आफूले शेयर बेचेपछि नराम्रो र किनेपछि राम्रो भनेर लेख्नु ठीक होइन। यसबारे नियमन हुन जरुरी छ। दैनिक लाखौं मान्छेले कारोबार गरिरहेका छन्। त्यसलै उनीहरूलाई निर्धक्क कारोबार गर्न दिनुपर्छ।
केही वर्षमा शेयर बजारबाट वार्षिक १०० अर्बको राजस्व अपेक्षा गर्न सकिन्छ। यो निकै ठूलो आम्दानीको स्रोत हो। यस्ता वैकल्पिक करका क्षेत्र सरकारले पहिचान गर्नुपर्छ। एउटा महत्त्वपूर्ण कुरा चाहिँ कम्पनीका लगानीकर्ता, माथिल्लो तहका कर्मचारीले शेयर किनेको/बेचेको हेर्न पाउनुपर्छ। अमेरिकामा यो अभ्यास छ। यसले ‘इन्साइडर ट्रेडिङ’ रोक्न पनि सघाउँछ।
नियामक निकायले म अनुुुसन्धान गर्दै छु भनेर वक्तव्य निकाल्नु कति जरुरी छ मलाई थाहा छैन, तर उक्त निकायको काम सधैं अनुसन्धान गरिराख्नु नै हो। वक्तव्य निकालेर भनिराख्नु पनि पर्दैन। केही नतिजा देखिए त्यही अनुसार कदम चाल्ने हो, नभए पनि हामीले बुझेको के हो भने उक्त निकायले सधैंजसो केही न केही अनुसन्धान गरिराखेकै हुनुपर्ने हो। भन्नुको अर्थ के हो? मैले बुझ्न सकेको छैन।
अहिले शेयर बजारमा यसकारणले पनि आकर्षण भएको छ कि सर्वसाधारणले लगानी गर्ने अन्य क्षेत्र पनि त छैनन्। ब्यांकमा ब्याजदर ६ प्रतिशत जतिबाट २ प्रतिशतमा झरिसक्यो। २ प्रतिशतमा ब्यांकमा पैसा राखेर के गर्ने? यो भनेको बैंकले दिने पैसाको भाउ हो, यो घटेको नदेख्ने शेयरको भाउ बढ्यो भनेर मात्रै हुन्छ? शेयर बजार जुवा होइन। बढ्ने बढ्छ, घट्ने घट्छ।
अब नियामक निकायले सफ्टवेयरमा लगानी बढाउनुपर्यो। अनुगमन तीव्र पार्नुपर्याे। नयाँ ‘ब्रोकर कम्पनी’लाई लाइसेन्स दिनुपर्यो। कारोबार उपत्यका बाहिर थप विस्तार गर्नुपर्यो। तर, आफैं खेलाडी बन्ने भने होइन। अरूले पनि सरकारलाई शेयर बजारको खेलाडी बन्न नउचालौं, रेफ्री नै रहन दिऔं।
(कुराकानीमा आधारित)