‘योञ्जन परिवारमा अम्बर गुरुङप्रति चरम घृणाभाव र पिटर जे. कार्थकप्रति द्वेषभाव देखियो’
उहाँहरूको टिप्पणीबाट एउटा कुरा प्रष्टसित प्रकट भएको छ: त्यो हो अम्बर गुरुङप्रति योञ्जन परिवारको चरम घृणाभाव र मेरो बुवा कार्थकप्रतिको द्वेषभाव, जो दुर्भाग्यपूर्ण हो भन्छु। नत्र ‘तिललाई पहाड’ बनाएर दिवङ्गत व्यक्ति उपर यस्तो विवादास्पद विचार पोख्ने अशोभनीय काम उहाँहरूबाट हुने थिएन।
गएको २५ जेठमा हिमालखबर डटकम मा सिर्जना सिंह योञ्जनको नाममा प्रकाशित ‘गोपाल योञ्जनबारे पिटर जे. कार्थकले छरेको भ्रम’ भन्ने टिप्पणीबाट हामी कार्थक परिवारको ध्यान आकर्षित छ। त्यसैले दिवङ्गत कार्थकका छोरा म जिमी (प्रेमदीप) कार्थक हामीलाई लागेका केही कुरा संक्षिप्तमा व्यक्त गर्न चाहन्छु।
बुवा स्वर्गीय पिटर जे. कार्थकले अंग्रेजी भाषामा लेख्नुभएको ‘नेपाली म्युजिकमेकर्स’ किताब मूलतः उहाँले संगत गरेका र संगीत क्षेत्रमा सँगै काम गरेका व्यक्तिहरूको निधनपछि सम्झना गर्दै लेख्नुभएको लेखहरूको सँगालो हो। (हुन त किताबमा जीवित व्यक्तिबारे लेखिएका लेखहरू पनि परेका छन्।) त्यहाँ बयान गरिएका कुरा उहाँका निजी अनुभव र अनुभूतिका अभिव्यक्ति हुन्। उहाँका व्यक्तिगत धारणा, दृष्टिकोण र विचार हुन्। कसैलाई राम्रो त कसैलाई नराम्रो लाग्ने कुरा स्वाभाविकै हो।
बुवाले किताबमा जस–जसबारे जे–जे लेख्नुभएको छ, त्यसमा यो ठीक, यो बेठीक भन्ने पक्षमा म छैन। उहाँले लेखेका प्रसंगहरूलाई यहाँ मैले व्याख्या वा पुनर्व्याख्या गर्न मिल्दैन। त्यसो गर्नु अनुपयुक्त हुन्छ। तर, एउटा कुरा चाहिँ म भन्न सक्छु, बुवा ‘कालोलाई कालो र सेतोलाई सेतो’ भन्न नहिचकिचाउने सिद्धान्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो। आफूलाई लागेको कुरा निर्धक्क लेख्नुहुन्थ्यो, लेखेको विषय र कुरामा अडान लिनुहुन्थ्यो।
बुवाले गोपाल योञ्जनको निधनपछि लेख्नुभएको लेख अंग्रेजी दैनिक ‘द काठमाडौं पोस्ट’ को २४ मे १९९७ को अंकमा प्रकाशित भएको थियो। त्यसलाई केही परिमार्जन गरी माथि भनिएको किताबमा समावेश गरिएको थियो। लेखमा गोपाल योञ्जनलाई अम्बर गुरुङको चेला भनेर बुवाले भ्रम छर्न खोजेको भनी सिर्जना सिंह योञ्जनबाट आक्षेप लगाउने काम भएको छ।
त्यसैगरी मेरा बुवालाई आफ्नो घर (गोपाल योञ्जनको घर) मा आएको कहिल्यै नदेखेकाले उहाँहरूबीचको मित्रता पनि हावादारी थियो भन्ने खालको अभिव्यक्ति पनि त्यस टिप्पणीमा परेको छ। म जन्मनुभन्दा अगाडिदेखि नै उहाँहरूबीचको मित्रतापूर्ण सम्बन्धबारे जानकार व्यक्तिहरू अझै पनि यो संसारमा जीवितै हुनुहुन्छ। त्यसैले म यस विषयमा थप टिप्पणी गर्न आवश्यक ठान्दिनँ।
जहाँसम्म गोपाल योञ्जन अम्बर गुरुङका चेला थिए कि थिएनन् भन्ने कुरा हो, त्यो पनि उहाँहरू (योञ्जन र गुरुङ)ले नै जान्ने कुरा हो। उहाँहरूको सम्बन्धबारे मेरा बुवा बाहेक गुरुङले शुुरू गरेको ‘आर्ट एकेडेमी अफ म्युजिक’मा उसबेला सम्बद्ध अरू सदस्यलाई पनि थाहा हुनुपर्छ। एकेडेमीमा मेरो बुवा लगायत योञ्जन र संगीत क्षेत्रका अरू थुप्रै कलाकार संलग्न हुनुहुन्थ्यो।
एकेडेमीका धेरै सदस्य अहिलेसम्म बितिसकेका भए पनि केही अझै हुनुहुन्छ। उहाँहरूले नै बुवाले लेखेको कुरा भ्रम हो कि यथार्थ बताउन सक्नुहुन्छ। यसअघि नै उहाँहरूमध्ये कतिपयले लेखेका र बोलेका प्रसंगहरूबाट पनि तथ्य बुझ्न सकिन्छ। सत्य त प्रकट हुन्छ नै।
मेरा बुवाले गोपाल योञ्जनलाई होच्याउने मनसायले ‘अम्बर गुरुङको चेला’ भनेको ठान्नु उहाँप्रति सरासर अन्याय हो। किनभने, हाम्रो घरमा पटक पटक कुरा हुँदा उहाँ गुरुङ र गोपाल योञ्जनलाई सदैव तारिफ गर्नुहुन्थ्यो, आदरभाव राखेरै बोल्नुभएको हामी परिवारका सदस्यलाई सम्झना छ।
योञ्जनको असामयिक निधनपछि बुवा अक्सर ‘धेरै छिटो गयो, उसले अझै धेरै गर्न बाँकी थियो’ भनेर विस्मात मान्ने गर्नुहुन्थ्यो।
किताबमा परेका अरू लेखहरूमा समेत पटक पटक योञ्जनको नाम उल्लेख भएको छ। ती प्रसङ्गहरू पढ्दा पनि उहाँमा योञ्जनप्रतिको साँचो भावना बुझ्न सकिन्छ।
बुवाको त्यो लेख पहिलो पटक आज होइन, २४ वर्षअघि नै पत्रिकामा छापिएको कुरा अगावै उल्लेख भइसक्यो। लेखप्रति परिवारजनको आपत्ति थियो भने उहीबेला यो कुरा बाहिर किन आएन? त्यस लेखमा उहाँहरूको आँखा पर्न यतिका वर्ष किन लाग्यो?
यति मात्र होइन, २५ नोभेम्बर २०१८ मा ‘नेपाली म्युजिकमेकर्स’ किताबको विमोचन काठमाडौंको ब्रिटिश काउन्सिलको हलमा भएको थियो। अंग्रेजी किताब बजारमा आएको पनि साढे दुई वर्ष पुग्यो। कार्यक्रममा अतिथि वक्ता केदारभक्त माथेमा र बैरागी काइँला हुनुहुन्थ्यो। कार्यक्रममा स्वयं रिन्छेन योञ्जन पनि उपस्थित हुनुहुन्थ्यो। त्यसबेला उहाँले मेरो बुवाको हस्ताक्षरसहितको पुस्तक किनेर पनि लैजानुभएको थियो।
किताब लिएर गएपछि उहाँले पढ्नु पनि भयो होला। पढ्नासाथ उहाँलाई चित्त नबुझेका प्रसंगहरू थिए भने बुवा जीवितै हुँदा उहाँले किन संवाद गर्नुभएन? किन आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएन? अहिले हिमालखबर मा गरे जस्तै सार्वजनिक प्रतिक्रिया त्यो बेला किन गर्नुभएन? समयमै आफ्नो धारणा सार्वजनिक गर्न उहाँ पटक पटक किन चुक्नुभयो?
मेरा बुवाको २२ अप्रिल २०२० मा निधन भयो। उहाँ बितेको एक वर्षपछि मात्रै हो, किताबको नेपाली अनुवाद ‘नेपाली संगीतस्रष्टा’ छापिएको। नेपालीमा त्यही कुरा आएपछि मात्र सिर्जनाजी र रिन्छेनजीले आपत्ति उठाउनुको अर्थ के? मलाई लाग्छ, त्यो बेला सधैं स्पष्टवक्ता मेरो बुवाको सामना गर्ने आँट नभएर नै उहाँहरू चुप बसेको हुनुपर्छ।
अहिले आएर बुवाप्रति जुन आक्षेप लगाइएको छ, त्यसको प्रतिवाद गर्न उहाँ यो संसारमा हुनुहुन्न। यो त सरासर आफ्ना अप्रासङ्गिक टिप्पणी उठाउन बुवा नभएको मौका पर्खेर बसे जस्तो देखिएन र? हाम्रो परिवारलाई लाग्छ, बुवाको निधन पश्चात् विवादको विषय बनाउनु उहाँको आत्मालाई नै प्रताडित गर्नु हो।
अहिले आएर बुवाप्रति जुन आक्षेप लगाइएको छ, त्यसको प्रतिवाद गर्न उहाँ यो संसारमा हुनुहुन्न। यो त सरासर आफ्ना अप्रासङ्गिक टिप्पणी उठाउन बुवा नभएको मौका पर्खेर बसे जस्तो देखिएन र? हाम्रो परिवारलाई लाग्छ, बुवाको निधन पश्चात् विवादको विषय बनाउनु उहाँको आत्मालाई नै प्रताडित गर्नु हो।
अहिले आपत्ति गर्ने उहाँहरूको यो काम रेल छुट्ने समय थाहा पाउँदापाउँदै प्लेटफर्म पुग्न जानाजान ढिलो गरेर उल्टै हल्ला गरे जस्तो भयो। सबै कुरा बुझीबुझी नचाहिँदो विवाद खडा गरेर उहाँहरूबाट बुवाको लेखकीय निष्ठामाथि प्रहार गर्ने काम भएको छ।
उहाँहरूको टिप्पणीबाट एउटा कुरा प्रष्टसित प्रकट भएको छ: त्यो हो अम्बर गुरुङप्रति योञ्जन परिवारको चरम घृणाभाव र मेरो बुवा कार्थकप्रतिको द्वेषभाव, जो दुर्भाग्यपूर्ण हो भन्छु। नत्र ‘तिललाई पहाड’ बनाएर दिवङ्गत व्यक्ति उपर यस्तो विवादास्पद विचार पोख्ने अशोभनीय काम उहाँहरूबाट हुने थिएन।