गोपाल योञ्जनः एक ‘सङ्गीत सन्न्यासी’
व्यक्तिका रूपमा गोपालमा यदाकदा आत्माभिमान र आत्मश्लाघा देखिन्थ्यो। तर, म त्यस्तो चारित्रिक दोषलाई दार्जीलिङ वा अन्य ठाउँबाट आउने नेपाली ‘प्रवासी’ हरूप्रति काठमाडौँको वातावरणमा त्यसबेला र अहिले पनि विद्यमान रहेको सङ्कुचित दृष्टिकोणलाई प्रतिकार गर्ने एउटा रणनीतिका रूपमा लिन्थें।
सन् १९६८, काठमाडौंको खाँट्टी जाडो रात चिसो, अँध्यारो र सुनसान। हामी पाँच जना अविवाहित तन्नेरीहरू सँगै बस्थ्यौँ म, देवेन्द्र गुरुङ, लक्ष्मण तिवारी, फुर्बा छिरिङ र राजु राई क्षेत्रपाटीस्थित एउटा घरमा। दार्जीलिङबाट आएका अर्का सहयात्री रञ्जित गजमेर केही घर पर्तिर आफ्नो परिवारसँग बस्थ्यो।
बर्माको लडाइँमा बहादुरी देखाएका कारण द्वितीय विश्वयुद्धपछि भिक्टोरिया क्रसबाट विभूषित सिक्किमका गञ्जु लामाकी जेठी छोरी ‘बेबी रिन्छेन’ (रिन्छेनलाई उनका परिवारले मायाले ‘बेबी’ भनेर बोलाउँथे) पनि आफ्नो परिवारसँगै छिमेकमै बस्थिन्।
म, देवेन्द्र, फुर्बा र राजु क्यासिनो नेपालमा काम गर्थ्यौं र हामी थियौं रुले र ब्ल्याक ज्याक खेलाउने क्रुपियर। त्यस रात हाम्रो छुट्टी थियो। हामी रक्सी पिउँदै, गीत सुन्दै बसिरहेका थियौँ। नजाने कहाँबाट हाम्रो कोठामा गोपाल योञ्जन फुत्त झुल्कियो। सम्भवतः त्यस साँझ उसले रिन्छेनसँग भेटेर आएको हुनुपर्छ। दुईबीच प्रेमको पालुवा पलाएको सुइँको हामीले पाइसकेका थियौं।
तन्नेरी दार्जीलिङेहरूको सुखद पुनर्मिलनमा परिणत हुनपुग्यो त्यो साँझ। हामीले गोपाललाई रम पेश गर्यौं । हामी उसलाई बडो प्रेमले ‘गोफ्ले’ भन्थ्यौँ, जसलाई उसले पनि प्रेमपूर्वक स्वीकार गरेको थियो। त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा मास्टर्स गर्न ऊ काठमाडौं आएको धेरै भएको थिएन।
त्यतिखेर गोपाल नेपाली सङ्गीत जगत्मा प्रसिद्ध सङ्गीतकार भइसकेको थियो। भर्खरै उसैको मीत नारायणगोपालको स्वरमा रेकर्ड भएको ईश्वर बल्लभको गीत ‘सारा दिन अरूलाई बाँडे’ मा उसले भरेको सङ्गीत रातारात हिट भएको थियो। मीतजोडीको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ (सहसङ्गीतकार कर्म योञ्जन) र ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ एकसाथ उग्र रूपमा हिट भएका गीतमध्ये थिए।
त्यस रात हाम्रो आग्रहमा गोपालले एकपछि अर्को गीत सुनायो। उसले हाम्रो कोठामा रञ्जितले राखेको रञ्जितको हार्मोनियम बजायो। फुर्बाले तबला बजायो र मैले गिटार। हुँदाहुँदै मध्यरातको छेकोमा गोपालले रेकर्ड नभइसकेको एउटा नौलो गीत सुनायो। लोकधुनमा आधारित प्रयोगात्मक सङ्गीत र उत्तिकै अपरम्परागत शब्दहरूले जडिएको गीत थियो त्यो। गीत गाइसकेपछि उसले गिलासमा बाँकी रहेको रम स्वाट्ट पायो, उठ्यो र कोठाबाट बाहिरियो। हामीले ऊ बाथरुम गएको होला भन्ठान्यौं। तर, धेरै बेरसम्म ऊ नआएपछि हामी बाहिर निस्केर उसलाई खोज्न थाल्यौँ। तर, ऊ चिसो रातको कुहिरोमा कतै अल्पिसकेको थियो।
अम्बर गुरुङको आर्ट एकेडेमी अफ म्युजिकमा सामेल हुनुअघिसम्म गोपालसँग मेरो भेट भएको थिएन। (सन् १९५६ मा म बस्तीबाट शहर पसेको केटो थिएँ, गोपाल भने शहरमै जन्मी हुर्केको ठिटो।) एकेडेमीमा गोपाल प्रमुख सदस्य बनिसकेको थियो। त्यतिखेर एकेडेमी अगमसिंह गिरीले पढाउने भानुभक्त स्कूलमा सञ्चालित थियो। त्यहाँ हामी मैनबत्तीको उज्यालोमा अभ्यास गर्थ्यौँ। एकेडेमीमा प्रभावशाली सदस्यहरू थिए– गोपाल योञ्जन, इन्द्र थपलिया (गोपाल र इन्द्र मिल्ने साथी थिए र दुवैको बसाइ हुकर रोड इलाकामा थियो), कर्म योञ्जन, पासाङ बाङवाल, रुद्र गुरुङ, शेखर दीक्षित, शरण प्रधान, अरुणा लामा, रञ्जित गजमेर, इन्द्र गजमेर, गणेश शर्मा, जितेन्द्र बर्देवा, अजय गुरुङ, प्रकाश गहतराज, ललित तामाङ र अरू थुप्रै। म र मेरो भाइ मार्क एकेडेमीमा नवागन्तुक थियौं।
शान्ति ठटाल, गगन गुरुङ, किशोर सोताङ, कपिलराज सुब्बा, मानवीर सिंह र अरू थुप्रै त्यहाँका नियमित आगन्तुक थिए, यद्यपि उनीहरूका आफ्नै ‘प्रतिस्पर्धी’ समूहहरू खुलेका थिए। इन्द्रबहादुर राई, तिलविक्रम नेम्वाङ (बैरागी काइँला) र ईश्वर बल्लभ जस्ता प्रतिष्ठित नेपाली लेखकहरू पनि एकेडेमीमा पाउकष्ट गर्थे। पेमाला र छोदेन भुटिया दिदीबहिनीहरू अम्बर गुरुङ र उनको सङ्गीतका प्रबल प्रशंसक थिए। यो फेहरिस्त निकै लामो छ। कोर्ट इन्स्पेक्टर सचिन्द्रमणि गुरुङ एकेडेमीका कर्मठ सजग संरक्षक थिए। उनले अम्बर गुरुङको नवकालिक गीत ‘नौ लाख तारा उदाए’ र अन्य गीत रेकर्ड गर्न चाहिने खर्च मात्रै व्यहोरेनन्, शहरको मुटुमा रहेको बेलायती शैलीको आफ्नो आवासीय क्वार्टरमा पछि एकेडेमी चलाउन पनि ठाउँ दिएका थिए। उनी परिवारसहित क्वीन्स हिलस्थित फ्ल्याटमा बस्थे।
पश्चिम बङ्गाल सरकारले भर्खरै खोलेको लोक मनोरञ्जन शाखामा अम्बर गुरुङको नियुक्ति सङ्गीत प्रमुखमा भएपछि गोपाल योञ्जन लगायत इन्द्र थपलिया (जो अम्बर गुरुङका मीत थिए), लीला घिसिङ, ल्हामु भुटियासहित धेरै जना कलाकार सहकर्मीका रूपमा त्यहाँ सामेल भए।
अम्बर गुरुङका चेलाहरूका लागि यो अवधि नाजुक थियो, विशेषगरी कर्म, गोपाल, शरण, जितेन्द्र र रञ्जितका लागि। गुरुङको सङ्गतमा रहेर पूर्ण प्रशिक्षित उनीहरू अब आफ्नै साङ्गीतिक संसार खडा गर्ने तरखरमा थिए। अम्बर गुरुङले छाड्नाले एकेडेमी छिन्नभिन्न भयो। गोपाल र कर्म तत्कालै नेपाली–बङ्गाली समाज अन्तर्गत हिमालय कला मन्दिरसँग जोडिन पुगे। शरण, रञ्जित, अरुणा लामा र जितेन्द्र बर्देवाले भने आफ्नै संस्था खोले– संगम क्लब। म त्यसैमा सामेल भएँ, जसबारे मैले अक्सर उल्लेख गर्ने गरेको छु।
हिमालय कला मन्दिर र संगम क्लब प्रतिस्पर्धी बन्न पुगे। यी दुई कट्टर ‘प्रतिद्वन्द्वी’ बीच साङ्गीतिक युद्ध छेडिनबाट जोगियो, जब अखिल दार्जीलिङ सङ्गीत प्रतियोगिताको निर्णायकमण्डलले कूटनीतिपूर्ण ढङ्गले दुवै समूहलाई समान संख्यामा पुरस्कार दिने निर्णय गर्यो । निर्णायक समूहमा अम्बर गुरुङको पनि सहभागिता थियो। परिणामबाट सबै जना सन्तुष्ट भए, जुन तयार दुई कित्तामा बाँडिएका दार्जीलिङ शहरका श्रोता समूह समेत।
गोपाल (जोसेफ) हुकर रोडको बासिन्दा थियो, म फरेस्ट रोडको। उसको घर मुन्तिर ह्याप्पी भ्याली टी स्टेट फैलिएको थियो र मेरो बगलमा लोएड्स बोटानिकल गार्डेन। हाम्रो स्कूल फरक थियो। गोपाल सम्पन्न योञ्जन खलकको सदस्य थियो, म भखरै बस्तीबाट आएको कमाने। एकेडेमीमा हामीले बजाउने बाजाहरू भिन्न थिए, गोपाल बाँसुरी, भ्वायलिन, सारङ्गी र हार्मोनियम बजाउँथ्यो, मैले बजाउने बाजा चाहिँ गिटार र पछि बेस–गिटार भयो। गोपाल चर्चित गायक पनि थियो। ऊ उस्ताद भइसकेको थियो, विशेषगरी बाँसुरीमा। म भने भर्खरको सिकारु (छिटो टिप्थें, त्यो कुरा बेग्लै हो)।
तर, कलेजमा भने हामी सँगै भयौं– नर्थ पोइन्टको सेन्ट जोसेफ्समा। एउटै कक्षामा दाखिला भएको थियो हाम्रो। नेपालका नवोदित कवि नगेन्द्रबहादुर थापा मेरा ‘बेन्चमेट’ थिए। गोपाल योञ्जन, नारायणगोपाल र नगेन्द्र थापाको त्रिमूर्तिले यहाँभन्दा दूर रहेको काठमाडौँमा सन् सत्तरीको दशकमा नेपाली सङ्गीतमा तरङ्ग ल्याउनेवाला थिए।
तर, म यहाँ थामिएर त्यसअधिका कुरा गर्न चाहन्छु।
नर्थ पोइन्टमा दुई वर्ष बिताएपछि गोपाल र नगेन्द्र गभर्मेन्ट कलेजमा गए। म पढ्ने बेला नर्थ पोइन्टमा तेह्रवटा फरक राष्ट्रियताका विद्यार्थी र शिक्षकहरू थिए। हुनसक्छ, नर्थ पोइन्टको अन्तर्राष्ट्रिय माहोलभन्दा उनीहरूलाई गभर्मेन्ट कलेजको नेपालीमय वातावरण मन परेको होस्, जहाँ दार्जीलिङका गुमानसिंह चाम्लिङ, खर्साङका प्रेम थापा, नगेन्द्र शर्मा र बस्ती चियाकमानबाट आएका जोनाथन थापा, एडोन रोङगोङ र तारकबहादुर थापाका साथै नेपालका तिलविक्रम नेम्वाङ र उनका दाजुभाइहरूको उपस्थिति थियो।
हामीमध्ये जो काठमाडौँ आएका थियौं, अस्थायी आगन्तुकका रूपमा आएका थियौँ। मसँग दश महिनाको समय थियो। त्यसपछि म पोस्ट ग्राजुएसन गर्न या जागीर खोज्न हिन्दुस्तान फर्किनेवाला थिएँ। तर, कालान्तरमा काठमाडौं छाड्नेमा रञ्जित र फुर्बा भए। अर्का चाहिँ लुई ब्याक्स।
हामीमध्ये केहीले कहिल्यै नेपाल छाडेनौं। गोपालसँग मेरो भेट काठमाडौंका कन्सर्ट हलहरूमा, रेडियो नेपालको स्टुडियोमा हुन्थ्यो। फुर्बा, रञ्जित र म काठमाडौँमा सँगै रहँदासम्म स्टुडियोमा हामीलाई नै खोजिन्थ्यो– सेसन म्युजिसियनका रूपमा।
यो मेरो सौभाग्य हो, मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरूका निम्ति गिटार र बेस बजाउने मौका पाएँ। अम्बर गुरुङ, नारायणगोपाल र गोपाल योञ्जनका साथै नातिकाजी, शिवशंकर, बच्चुकैलाश, तारादेवी, प्रेमध्वज, कोइलीदेवी, दीप श्रेष्ठ, फत्तेमान, पुष्प नेपाली, माणिकरत्न, मीरा राणा, ज्ञानु राणा, लेकाली समूह र अरू कैयन्का लागि बजाएँ। सी.के. रसाइली र भक्तराज आचार्यका लागि समेत रेडियोमा स्पुलमा हुने दैनिक रेकर्डिङका साथै रत्न रेकर्डिङ संस्थानको डिस्क रेकर्डिङ सेसनहरूमा पनि मैले बजाएको थिएँ। उस बेला रत्न रेकर्डिङ संस्थानले नेपाल–जापान द्विपक्षीय सहयोग अन्तर्गत लोकप्रिय गीतहरू उत्पादन र मार्केटिङ गर्ने काम गर्थ्यो।
तर, मेरा निम्ति सबैभन्दा रोमाञ्चक चाहिँ अम्बर गुरुङ र गोपाल योञ्जनको रेकर्डिङ सेसन हुन्थ्यो। नेपाली सङ्गीतलाई गहकिलो र फराकिलो बनाउने चुनौती जन्माउँदै उनीहरू सधैं नौलो प्रवृत्ति र धारको सिर्जना गर्थे।
सिर्जनात्मक सङ्गीतकारहरू प्रयोगधर्मी हुन्छन् भन्ने कुरालाई प्रमाणित गर्दै गोपालले पनि एक दिन आफ्नै शब्द, सङ्गीत र स्वरमा दुईवटा आध्यात्मिक भजन रेकर्ड गर्यो। तामाङ बौद्ध परम्परामा हुर्केको युवकले हिन्दू आध्यात्मिक भजन गाउनु अनपेक्षित थियो, तर गोपाललाई बुझेकाहरूका निम्ति भने यो कुनै अनौठो कुरो थिएन। हामीलाई थाहा थियो, धेरै वर्षअघि गोपालकी माताजी उसलाई सम्भवतः सन्न्यासी बनाउन चाहन्थिन्। तर, एक दिन गोपाल नशामा हल्लिँदै घर पुग्दा आमा रोइन् र आफूले साँचेको सपना त्यागिन्। आमाको धार्मिक ‘मिशन’ अधुरै रहे पनि गोपाल जिन्दगीभरि सख्त शाकाहारी रह्यो।
फरकफरक ईश्वरहरू र मानिसलाई पृथक् बनाउने धार्मिक सिद्धान्तहरू रहेको संसारमा सच्चा आध्यात्मिकताको चाहना अभिव्यक्त गरिएको थियो, उसले त्यस दिन रेकर्ड गरेको दुई वटा भजनमा। रेकर्डिङ सिद्धिएपछि स्टुडियोको वातावरण असामान्य रूपमा चकमन्न भयो।
आधिकारिक तवरले आर्काइभमा सार्नका लागि ती भजनहरू दोहोर्याएर बजाउँदा स्टुडियोका हाकिमहरू, रेकर्डिङ प्राविधिकहरू र वाद्यवादकहरू सबै जना निःशब्द थिए। सम्भवतः तबलावादक इन्द्रलाल श्रेष्ठले होला, भुइँमा केही धूपहरू सल्काएका थिए। यो भजन सुन्ने जोकसैले त्यस दिन रेकर्डिङ स्टुडियोमा छाएको शान्ति महसूस गर्नेछन्।
त्यस्तै दुर्लभ अनुभवको पुनरावृत्ति अर्को सेसनमा भयो, जब अम्बर गुरुङले उही स्टुडियोमा रातको एघार बजे ‘मेरो बेहोसीलाई’ र ‘खोजिरहेछु निस्तार प्यारदेखि’ रेकर्डिङ गरेका थिए। ती गीतहरू क्रमशः कवि ईश्वर बल्लभ र बैरागी काइँलाले लेखेका थिए। यस्ता गहिरोसँग हृदय झङ्कृत गर्ने अवसरहरू सङ्गीतको दुनियाँमा दुर्लभ हुन्छन्, जसले यी गीतहरू सुन्नेछन् तिनले मेरो कुराको मर्म बुझ्नेछन्। हामी भाग्यमानी थियौं, हामीले उनीहरू जस्तासँग सङ्गीत गर्न पायौँ।
मैले गिटार र बेस बजाएर रेडियो नेपालमा भएको मेरो अन्तिम रेकर्डिङ गोपालका लागि हुन पुग्यो। त्यस दिन नारायणगोपालले तीन गीतहरू रेकर्डिङ गरे – ‘लौ सुन म भन्छु’, ‘यति चोखो यति मीठो’ र यादव खरेलको शब्दमा ‘पिउँदा पिउँदै जिन्दगी यो’ (नारायणगोपालकै सङ्गीत)। त्यसपछि मैले रेडियो नेपाल र नेपाली आधुनिक सङ्गीतलाई स्थायी रूपमा छाडिदिएँ, लेखक बन्ने धुनमा। नेपाली सङ्गीतबारे बेलाबेलामा लेख्नेबाहेक त्यसपछि मैले नेपाली सङ्गीतलाई फेरि फर्केर पनि हेरिनँ। मैले त छाडें, तर गोपाल सङ्गीतमै रमायो, जो उसको महानता थियो।
व्यक्तिका रूपमा गोपालमा यदाकदा आत्माभिमान र आत्मश्लाघा देखिन्थ्यो। तर, म त्यस्तो चारित्रिक दोषलाई दार्जीलिङ वा अन्य ठाउँबाट आउने नेपाली ‘प्रवासी’ हरूप्रति काठमाडौँको वातावरणमा त्यसबेला र अहिले पनि विद्यमान रहेको सङ्कुचित दृष्टिकोणलाई प्रतिकार गर्ने एउटा रणनीतिका रूपमा लिन्थें। ‘प्रवासी’ हुनुको कलङ्क हामीले अझै बोक्नुपरेको छ। नेपालको थातथलो छाडेर हाम्रा पुर्खाहरू मुग्लान र परदेश गएका थिए। तिनकै सन्तान तीन वा चार पुस्तापछि पुर्खाको घर फिरेका हुन्। तर, यस वास्तविकतालाई स्वविवेक भएका थोरै नेपालीहरूले मात्र आत्मसात् गर्छन्। चिनजानको भीडमा भनसुन र सोसफोर्सको जङ्गलरूपी काठमाडौँमा गोपालले त्यसो गरेर आफ्नो अधिकारपूर्ण स्थानको दाबी मात्र गरेको हुनुपर्छ। आफू सुरक्षित रहन त्यस्तो आवरण ओढेको हुनुपर्छ।
गोपालको सदाबहार सदाचार भनेको उसले आफ्नो साङ्गीतिक प्रारम्भ बिन्दुलाई ऊ प्रसिद्धिको शिखरमा हुँदा वा ऊ आफैं एउटा 'इन्स्टिच्यूसन’ बनिसकेको अवस्थामा पनि कहिल्यै बिर्सेन।
एक साँझ महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा रञ्जित र म पनि वाद्यवादक थियौँ। मञ्चमा छिर्नुअघि गोपालले झुकेर प्रार्थना गरेको थियो। नारायणगोपाल र उसको यो संयुक्त कार्यक्रम थियो, जुन पछि गएर 'मीतज्यू नाइट’ का रूपमा ऐतिहासिक घटना बन्न पुग्यो। आज पनि त्यस साङ्गीतिक साँझलाई मानिस सम्झन्छन्।
गोपालले हामीलाई चेतावनीको लवजमा दुई हात जोडेर शिर झुकाउँदै प्रार्थना गर्नुअघि भन्यो, ‘बूढोलाई बिर्सनु हुँदैन है।’ बूढाको माने वृद्ध त भइहाल्यो, तर यो गुरुलाई सम्मानसाथ गरिने सम्बोधन पनि हो। त्यतिखेर यो बूढा शब्द अरू कसैप्रति नभई अम्बर गुरुङप्रति लक्षित थियो। गोपाल योञ्जनले भन्दा ज्यादा अम्बर गुरुङको योगदानलाई शायदै कसैले बुझेको थियो होला। त्यसैकारण त्यो साँझ अम्बर गुरुङ जहाँ भए पनि गोपालले आफ्नो गुरुप्रति कृतज्ञता व्यक्त गर्दै उनको आशीर्वाद वरण गरिरहेको थियो। गोपाल यस्तो दुर्लभ र गुणग्राही कलाकार थियो जसले अरूबाट हासिल गरेका कुरा कहिल्यै बिर्सेन। उसको यही गुणग्राही स्वभावले उसको महानतालाई बढाएको थियो।
अम्बर गुरुङलाई हामीले बीथोवन (विश्वविख्यात जर्मन सङ्गीत रचयिता लुडवीग भान विथोवन) र बाख (महान् जर्मन सङ्गीत रचयिता योहान सेवास्तियन बाख) मान्ने हो भने अग्लो, गोरो, खाइलाग्दो गोपाल उसको हिस्सी, साङ्गीतिक सिर्जना र रचनात्मक देनका कारण हाम्रा लागि फिलिक्स मेन्डल्ससोन (विख्यात जर्मन सङ्गीत रचयिता फिलिक्स मेन्डल्ससोन) हो।
सन् १९६८ को त्यस जाडो रातमा हामी मुकलिसे ठिटाहरूको कोठामा फेरि फर्किएर गोपाललाई सम्झँदा मलाई उसको रेकर्डिङ हुन नपाएको र उसले त्यस रात गाएको गीतको दुई हरफ अझै याद आउँछ :
तेरो माया के लाग्छ भन्नु
मलाई मेरै माया नै लाग्दैन
के यो गोपालले आफ्नो निम्ति आफैंले ३० वर्षअघि लेखेको अलौकिक भविष्यवाणी थियो? ५२ वर्ष पुगेको अवसरमा प्रकाशित गोपालको अन्तिम साङ्गीतिक सङ्कलन ‘निशानी–५२’ सुन्दा वास्तवमै भविष्यवाणी हो जस्तो मलाई महसूस हुन्छ। सम्भवतः आफ्नो भाग्य देख्नसक्ने अन्तर्दृष्टि उसँग थियो– स्थायी केही छैन र ढिलो या चाँडो जीवन लगायत सारा कुराहरू हराउँछन्।
सम्भवतः ऊ सदैव सन्न्यासी थियो, सन्त थियो।
पुनश्चः
गोपाल योञ्जनको देहावसान हुँदा ऊ केवल ५४ वर्षको थियो। त्यसको दुई वर्षअघि मात्र महत्त्वपूर्ण गीत सँगालो ‘निशानी–५२’ को रेकर्डिङ भएको थियो।
गोपालको ज्यान रक्सीले लियो र ऊ इन्द्र थपलिया, शरण प्रधान, अरुणा लामा, जितेन्द्र बर्देवा अनि अरू थुप्रै अम्मली कलाकारहरूकै पङ्क्तिमा सामेल हुन पुग्यो। ढिलै भए पनि उसलाई नयाँ दिल्ली लगिएको थियो, जहाँ उसले मृत्युवरण गर्यो।
यो संस्मरणात्मक लेख गोपाल योञ्जनको काठमाडौँमा दाहसंस्कार भएको दिन द काठमान्डु पोष्ट मा छापिएको थियो।
गोपाल योञ्जनको जन्म २६ अगस्ट १९४३ मा र निधन २० मे १९९७ मा भएको थियो।
- २४ मे १९९७ शनिबारको द काठमान्डु पोष्ट मा छापिएको यो लेख इगेन, मिनिसोटामा ३ अगस्ट २०१५ मा र १८ अप्रिल २०१७ का दिन काठमाडौंको शान्तिनगरमा परिमार्जन।
(गत वर्ष निधन भएका पिटर जे कार्थकलिखित यो लेख हामीले हिमाल किताबद्वारा प्रकाशित ‘नेपाली सङ्गीतस्रष्टा’ पुस्तकबाट लिएका हौं। अंग्रेजी मूलबाट यो लेखको अनुवाद विप्लव प्रतीकले गरेका हुन्। पुस्तकमा यो लेख ‘सम्झनामा गोपाल योञ्जन’ शीर्षकमा छापिएको छ।)