बाढीले क्षतविक्षत मेलम्ची, सयौंको बिचल्ली (तस्वीरहरू)
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र क्षतविक्षत भएको छ। सयौं परिवार बिचल्लीमा परेका छन्।
मंगलबार साँझ आएको बाढीले पुल, घर र सडक बगाएको छ। घरभित्र र बाहिर बाढीसँगै आएको लेदोले भरिएको छ। जसले गर्दा स्थानीय बासिन्दा बिचल्लीमा परेका छन्।
बाढीबाट जोगिन घरको छतमा रातभर बिताएका स्थानीय बासिन्दालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। अहिले पनि पानी पर्ने क्रम जारी रहेको छ।
घर बगाउँदा अप्ठ्यारोमा परेका सबैको उद्धार गरिएको मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले बताए। “उद्धारको काम सकिएको छ, अब राहत वितरणका लागि तयारी गरिरहेका छौं,” मेयर अर्यालले हिमालखबरसँग भने।
एकाएक आएको बाढीले घर खेत गुमाएका परिवारलाई पत्याउन मुश्किल भइरहेको छ। पानी परिरहेकाले उद्धार गरिएका परिवारलाई पनि सकस भएको छ।