‘यो बजेटले सुदूरपश्चिमको विकासका लागि नयाँ कुरा दिन सक्दैन’
सुदूरपश्चिमको बजेटमा नयाँ लागेको ‘प्रदेशको जवानी, प्रदेशको लगानी,’ ‘च्याउ उत्पादन गर्ने र च्याउ प्रशोधन’ गर्ने केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम छन्।
आज प्रस्तुत भएको सुदूरपश्चिम सरकारको बजेटमा प्रतिक्रिया व्यक्त गर्नुभन्दा पहिला अर्थमन्त्री प्रकाशबहादुर शाहको समस्यालाई मध्यनजर गरिदिनुपर्छ। किनभने, यो बजेटमा उनको अन्तरमन प्रतिविम्बित नभएको हुनसक्छ।
उनी भर्खरै कानून मन्त्रालयबाट यता आएका हुन्। मन्त्रालयको जे–जति तथ्यांक हो, त्यसैको आधारमा बजेट निर्माण गरिएकाले सबै कुरा समेट्न नसकिएको हुनसक्छ।
प्रादेशिक बजेटले अर्थतन्त्रमा असर गर्ने त केही होइन, तर प्रदेशको विकासलाई विश्लेषण गरी हेर्दा चालू आर्थिक वर्षको बजेटभन्दा विशेष खाले बजेट आएको देखिँदैन। उस्ताउस्तै छ।
नयाँ लागेको ‘प्रदेशको जवानी प्रदेशको लगानी, च्याउ उत्पादन गर्ने र च्याउ प्रशोधन गर्ने केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम छन्। फेरि पनि एउटा आरोप के हुनसक्छ भने, यो चुनाव वर्ष भएकाले पनि कतै चुनावका लागि त होइन भन्ने जस्तो लागेर बजेटमा कुनै पनि क्षेत्रलाई सम्बोधन गर्न छुटेको छैन। तर, यस्तो किसिमको बजेटबाट ठोस उपलब्धि देखिँदैन।
प्रदेशको विकासका लागि प्रमुख आवश्यकता के हो, भारतबाट रोजगारी गुमाएर फर्किएकाहरूका लागि होस् या भारत फर्किनेहरूका लागि होस्, उनीहरूलाई विकल्प दिने विशेष योजना देखिएन।
कृषिको उत्पादन गर्ने क्षेत्रमा नौ वटै जिल्लालाई समावेश गरेर जुन जिल्लामा जे बढी उत्पादन हुन्छ, त्यो जिल्लाले अरू जिल्लालाई निर्यात गर्ने प्रणाली अर्थात् कृषि बजारको विकास गर्न नयाँ योजना ल्याउनुपर्ने हो, त्यो पनि देखिएन।
कुनै पनि कुरा छोड्नुभएको छैन, तर यो बजेटले सुदूरपश्चिमको विकासका लागि नयाँ कुरा दिन सक्दैन।
(धनगढीस्थित नास्ट कलेजका प्राचार्य मुडभरीसँग गरिएको कुराकानीमा आधारित।)