सुदूरपश्चिमको बजेट ३० अर्ब, अस्पताल स्तरोन्नति र सेवा सुधारका लागि दुई अर्ब विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रू.३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको छ।
मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा चालूतर्फ रू.१० अर्ब ६६ करोड ९ लाख, पूँजीगततर्फ रू.१७ अर्ब ६५ करोड ४० लाख, वित्तीय व्यवस्थातर्फ रू.३० करोड र वित्तीय हस्तान्तरणतर्फ रू.१ अर्ब ७२ करोड ४५ लाख विनियोजन गरेको जानकारी दिए।
उनले कोभिड–१९ लगायतका महामारी नियन्त्रणका लागि ९० करोड रकम विनियोजन गरेको बताए। आगामी आर्थिक वर्षलाई अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रूपमा कार्यान्वयन गरिने उनले बताए। यस कार्यक्रमका लागि रू.२ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका लागि रू.२ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ। प्रदेशमा कर्मचारी भर्ना लगायतका लागि बजेट विनियोजन गरिएको हो। आगामी आर्थिक वर्षको बजेटमा बादी समुदायको आर्यआर्जन वृद्धि गर्न तथा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रू.३ करोड विनियोजन गरिएको छ।
प्रदेश सभा तथा विषयगत समितिको साैन्दर्य कायम गर्न १८ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा श्रृंगारपटार तथा प्रदेश सचिवालय व्यवस्थापन, प्रदेश सभाका विषयगत समितिको सुदृढीकरण, भौतिक स्रोतसाधन सम्पन्न बनाउन यो रकम विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री शाहले बताए।
उनले बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने बताए। यसका लागि रू.५ करोड विनियोजन गरिएको छ। यस्तै, थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया लगायत जटिल रोगबाट प्रभावितको उपचारका लागि रू. १ करोड १ लाख विनियोजन गरिएको छ।
सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमका लागि रू.१६ करोड विनियोजन गरेको छ। प्रदेशमा कृषि क्षेत्रको विकासका लागि सञ्चालन गरिएको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम ल्याइएको जनाइएको छ। प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेर कैलालीका पाँच स्थानीय तहमा ५० हजार क्विन्टल धान खरीद गर्न रू.२ करोड ३० लाख विनियोजन गरेको छ।
जनआन्दोलन तथा सशस्त्र द्वन्द्वमा घाइते तथा शहीद परिवारको निःशुल्क उपचार गर्ने साथै द्वन्द्वपीडितका परिवारलाई आत्मनिर्भर बनाउन रू.१० करोड विनियोजन गरेको छ।
यस्तै, सुदूरपश्चिम हुँदै कैलाश मानसरोवर तीर्थयात्राका लागि मार्ग निर्माण गर्न रू.२० करोड ५० लाख विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक खेल मैदान’ कार्यक्रमका लागि रू.३ करोड २० लाख विनियोजन गरेको छ। बजेटमा राजधानी पूर्वाधार विकास समितिलाई प्रभावकारी बनाउन, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न रू.२ करोड ७२ लाख विनियोजन गरिएको छ।
कुन मन्त्रालयलाई कति बजेट?
आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी बजेट विनियोजन भएको छ। मन्त्रालयका लागि रू.८ अर्ब ४३ करोडको विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा साढे ११ अर्ब विनियोजन गरिएको थियो।
त्यस्तै, सामाजिक विकास मन्त्रालयका लागि रू.४ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयको बजेट करीब रू.६ अर्ब थियो।
यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि रू.२ अर्ब ३४ करोड विनियोजन गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि रू.१ अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रू.१ अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि रू.३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि रू.३१ करोड विनियोजन भएको छ।
यस्तो आयको अनुमान
संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सुदूरपश्चिम प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ रू.८ अर्ब ५४ करोड ४० लाख, सशर्ततर्फ रू.४ अर्ब १९ करोड ३३ लाख, विशेष अनुदानतर्फ रू.६१ करोड ३५ लाख र समपूरक अनुदानतर्फ रू.१ अर्ब २२ करोड ९४ लाख विनियोजन गरिएको छ।
संघीय सरकारबाट सुदूरपश्चिम प्रदेशले चालूतर्फ रू.१० अर्ब ६३ करोड १७ लाख र पूँजीगततर्फ रू.३ अर्ब ९४ करोड ८५ लाख गरी रू.१४ अर्ब ५८ करोड २ लाख अनुदान पाउनेछ।
यसैगरी, प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट रू.८० करोड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँड बापत प्राप्त रकम र चालू वर्षको बजेट बचतलाई समावेश गरी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माण गरेको जनाएको छ।