गोपाल योञ्जनबारे पिटर जे कार्थकले छरेका भ्रम र तथ्य
कार्थक किन गोपाल योञ्जनलाई अम्बर गुरुङको चेला बनाउन चाहन्छन्? के यसो गरिनुमा गोपालको उचाइ कम देखाउने अभीष्ट नै हो त? यस्तो इतिहास पढ्नेले भोलिका दिनमा कस्तो धारणा बनाउँलान्? गम्भीर प्रश्न उत्पन्न भएको छ।
मेरो बुवा गोपाल योञ्जनको २४औं स्मृति दिवसका अवसरमा बिहीबार, १३ जेठ २०७८ मा हिमालखबर डटकममा ‘गोपाल योञ्जनः एक ‘सङ्गीत सन्यासी’ शीर्षकमा लेखक पिटर जे. कार्थकको अनूदित लेख प्रकाशन भएको पाएँ। प्रकाशित लेख कार्थकलिखित र हिमाल किताबद्वारा प्रकाशित अङ्ग्रेजी पुस्तक नेपाली म्युजिकमेकर्स को नेपाली अनुवाद नेपाली सङ्गीतस्रष्टा बाट लिइरहेको रहेछ।
पढ्नुहोस् पिटर जे. कार्थकको लेख -
यो लेख पढिरहँदा म तथा मेरो परिवार झस्कियौं। लेखभित्रका विभिन्न रोचक घटना, परिघटनासँगै केही गम्भीर भ्रामक र आधारहीन व्याख्यान बुनिएको देख्यौं। त्यसैले म, मेरो परिवारको तर्फबाट केही लेख्न बाध्य भएकी छु।
काल्पनिक कथा वा उपन्यास लेख्नु फरक कुरा हो, तर जब कुनै व्यक्ति विशेषबारे, त्यसमाथि पनि उनको कार्यक्षेत्रलाई सँगै गाँसेर लेख्ने प्रयास गरिन्छ, त्यसवेला लेखकको काँधमा ठूलो जिम्मेवारी आइपर्छ। लेखकमा समेत त्यस्तो अभिभारा बोक्न सक्ने काबिलियत हुनुपर्छ। लेख्नसक्ने क्षमतालाई मात्र काबिलियतका रूपमा लिन मिल्दैन। न त जीवनको कुनै एक मोडमा भेटेको आधारमा सम्पूर्ण चित्र कोर्नु नै न्यायपूर्ण हुन्छ।
आफ्नो विषयको गहन अध्ययन, अनुसन्धान, बुझाइ, निष्पक्ष धारणा र लेखनशैली शिष्ट नरहेमा त्यो आफैंमा अनैतिक, अविश्वसनीय, भ्रामक र स्रष्टाका लागि समेत अपमानजनक बन्न जान्छ। इतिहासलाई नै गलत दिशाबोध हुने खतरा हुन्छ।
त्यस्तो जोखिम देखेरै पुस्तकको अङ्ग्रेजी संस्करण निस्किने बित्तिकै आमा (रिञ्छेन योञ्जन)ले पटकपटक सम्पादक वसन्त थापासँग आपत्ति जनाउनुभएको थियो। तर, थापाले आमाको कुरा बेवास्ता गर्दै भूलसुधार पनि नगरी नेपाली अनुवाद प्रकाशन गरियो।
प्रमाणीकरणको नाममा किताब प्रकाशन हुनुअघि एकपल्ट थापाले कुलदीप योञ्जन काकालाई सम्पर्क गर्नुभएको रहेछ। कुलदीप काकाका आमाबुवा र बुवाका आमाबुवा दाजुभाइ र दिदीबहिनी भएकाले हाम्रो नजिकको दोहोरो नाता पनि पर्छ। वल्लो–पल्लो घर पनि अनि सँगसँगै हुर्किएको पनि भएकाले होला, थापाले उहाँलाई सम्पर्क गर्नुभएको हुनसक्छ। थापाले हतारिँदै 'कुलदीप दाइ, मलाई अहिले एकदम हतार छ, एउटा कुरा सोधिहाल्छु है। तपाईंहरूको आमाहरू प्रणामी धर्म मान्नुहुन्थ्यो हो?' भनी सोध्नुभएको रहेछ। अनि काकाले, 'त्यस्तो त होइन, सबै बौद्ध धर्मवालम्बीहरू हुन्' भनेपछि उहाँले 'ए अहिले मलाई यति नै सोध्नु थियो' भनी फोन राख्नुभएको रहेछ।
अङ्ग्रेजी संस्करणमा भएका गल्ती सच्याउन आमाले थापाजीलाई इमेल मार्फत आपत्ति जनाउनुभएका विभिन्न बुँदामध्ये यो पहिलो बुँदा थियो, जसलाई ‘भेरिफाइ’ गर्ने चेष्टा भने सम्पादकले गरेछन्। तर, लेखकले 'गोपालकी माताजी उसलाई सन्न्यासी बनाउन चाहन्थे' भन्ने अर्को भ्रम थपिदिएछन्। अचम्म, लेखकले फेरि अर्को पंक्तिमा चाहिँ 'तामाङ बौद्ध परम्परामा हुर्केको युवकले हिन्दू आध्यात्मिक भजन गाउनु अनपेक्षित थियो' भनी उल्लेख गरेका छन्।
बुवा डा. बुद्धिमान योञ्जन र आमा छेगु डोल्माको एक्लो अनि कान्छो छोरा गोपाल योञ्जनलाई डाक्टर बनाउने हेतुले दार्जीलिङको नर्थ पोइन्ट कलेजको विज्ञान शाखामा भर्ना गराइएको तर मृत भ्यागुता समेत चिर्न नसकी भ्यागुता फालेर आफू पनि झ्यालबाट हाम्फालेर सदाका लागि डाक्टर बन्ने पथ त्यागेको कुरा मैले सानैदेखि धेरै जनाबाट सुन्दै आएकी हुँ।
उक्त लेखमा स्थापना गर्न खोजिएको अर्को भ्रम हो– अम्बर गुरूङ गोपाल योञ्जनका गुरू थिए !
उमेरका हिसाबमा पनि अम्बर गुरूङ सबैभन्दा ‘सिनियर’ भएकाले दार्जीलिङको आर्ट एकेडेमी तथा फोक युनिटका कार्यक्रमहरूमा उनको नेतृत्व रहन्थ्यो भन्नेमा सबैको एकमत छ। संगीतकार रञ्जित गजमेर (जसको नाम पनि गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरूणा लामा तथा त्यसवेलाका दार्जीलिङका अरू कलाकारसँगै अम्बर गुरूङका चेलाहरू भनी मुछिएको छ) का अनुसार, त्यसताका आ–आफ्ना कलामा निपूर्ण धेरैजसो कलाकार, चाहे बजाउने होस् वा गाउने फोक युनिटसँगै जोडिएका हुन्थे। उहाँले हामीसँग भन्नुभएको छ, “अम्बर दाइले प्रायः हामी जस्ता स–साना केटाहरूलाई उहाँले लेखेको गीतहरूमा बजाउन लाउने, प्रोफेसनल होइन, थपडीको भरमा। घरको भात खाने, बाबुआमाको गाली, तर मज्जा आउँथ्यो।"
गायक दुर्गा खरेल भन्नुहुन्छ, “गोपाल योञ्जन अम्बर गुरूङका शिष्य भएका भए योञ्जनका संगीतमा अम्बर गुरूङको संगीतको छाप निश्चय नै पर्ने थियो। तर, गोपाल दाजुको संगीत अलग्गै छ।”
त्यसैले लेखक पिटर जे. कार्थकले दाबी गरे अनुसार, 'गुरुङको सङ्गतमा रहेर पूर्ण प्रशिक्षित उनीहरू अब आफ्नै साङ्गीतिक संसार खडा गर्ने तरखरमा थिए' भन्ने तर्क मनगढन्ते कथा मात्र हो भन्ने पुष्टि हुन्छ। हो, अम्बर गुरुङ उमेर र अनुभवका हिसाबले ‘सिनियर’ भएकाले उनलाई सबैले आदर भने गर्थे।
बुवाले श्री नन्दी दुलाल मुखर्जीबाट हिन्दुस्तानी शास्त्रीय संगीतको शिक्षा लिनुभएको थियो। यदि कसैलाई बुवाको गुरू मान्न सकिन्छ भने उनै मुखर्जी मात्र हुन्। यसर्थ लेखक कार्थकले उल्लेख गरे अनुसार यदि बुवाले शिर निहुर्याई 'बूढोलाई बिर्सन हुँदैन है' भनेकै भए पनि उहाँले अम्बर गुरूङलाई नभई आफ्ना असली गुरुलाई सम्झेको हुन सक्छ।
काका कुलदीपका अनुसार त गुरू–चेलाको नाता नभई कर्म र गोपाल योञ्जन अम्बर गुरूङलाई ‘तिमी’ भनी सम्बोधन गर्थे र गुरूङ उनीहरूलाई मायाले ‘तँ’ भन्थे। यसको सबैभन्दा ठूलो प्रमाण त, न कहिले अम्बरले गोपाल मेरो चेला हो भनेका छन्, न त गोपालले अम्बर मेरो गुरू नै भनेका छन्।
बुवाले ‘मितज्यू नाइट’ अगाडि अम्बर गुरूङलाई सम्झेर ‘दुई हात जोडेर शिर झुकाउँदै बूढोलाई सम्झी प्रार्थना गरेको’ भन्ने कुरा अरु नभई लेखक कार्थककै मात्र नितान्त व्यक्तिगत निष्कर्ष हो।
बुवाले श्री नन्दी दुलाल मुखर्जीबाट हिन्दुस्तानी शास्त्रीय संगीतको शिक्षा लिनुभएको थियो। यदि कसैलाई बुवाको गुरू मान्न सकिन्छ भने उनै मुखर्जी मात्र हुन्। यसर्थ लेखक कार्थकले उल्लेख गरे अनुसार यदि बुवाले शिर निहुर्याई 'बूढोलाई बिर्सन हुँदैन है' भनेकै भए पनि उहाँले अम्बर गुरूङलाई नभई आफ्ना असली गुरुलाई सम्झेको हुनसक्छ।
यस सन्दर्भमा हामीसँगको कुराकानीमा बुवाका पुराना मित्र गीतकार नगेन्द्र थापा भन्नुहुन्छ, “मितज्यू नाइटमा मात्र हैन, कला मन्दिरका कति कार्यक्रमहरूमा पनि म गोपालसँगै हुन्थेँ। उनमा त्यस्तो कार्यक्रम अगाडि शिर निहुर्याएर प्रार्थना गर्ने खालको स्वभाव नै थिएन। यो मनगढन्ते कहानी हो।"
गोपाल योञ्जन सम्बन्धी लेखमा कार्थकले बारम्बार अम्बर गुरूङको चर्चा छिराएका छन्। योञ्जनलाई एक ठाउँ 'ऊ आफैं एउटा इन्स्टिच्यूसन बनिसकेको' भन्ने वाक्यमा समेत गुरूङको नाम घुसाएका छन्। यसबाट अम्बर गुरुङलाई जर्बजस्ती भए पनि गोपाल योञ्जनको गुरु बनाउने उनको आफ्नो एकल अभिप्राय देखिन्छ।
लेखक किन योञ्जनलाई गुरुङको चेला बनाउन चाहन्छन्? के यसो गरिनुमा गोपाल योञ्जनको उचाइलाई कम देखाउने अभीष्ट नै हो त? यस्तो इतिहास पढनेले भोलिका दिनमा कस्तो धारणा बनाउँलान्? गम्भीर प्रश्न उत्पन्न भएको छ।
गोपाल योञ्जनको चरित्र चित्रण गर्ने क्रममा कार्थक थप लेख्छन्, ‘व्यक्तिका रूपमा गोपालमा यदाकदा आत्माभिमान र आत्मश्लाघा देखिन्थ्यो।’
गोपाल योञ्जनमा आत्माभिमान र आत्मश्लाघा स्वभाव देख्ने लेखक कार्थक नै पहिलो व्यक्ति हुनुपर्छ। किनभने बुवासँग संगत गर्ने जो कोहीले पनि उनको धैर्य, नम्रता र सरल स्वभावबारे प्रशस्त चर्चा गरेको मैले धेरै पटक सुनेकी छु। त्यस्तो स्वभाव हुँदो हो त, बुवाले आफ्ना सम्पूर्ण सिर्जनामा अरू कसैलाई मौका नै नदिई आफैं गाउँथे होलान्, किनकि उनी एक कुशल गायक पनि थिए। जीवनको उत्तरार्धमा उनी नयाँ कलाकारलाई सिकाउने, हौसला दिने, उनीहरूको रचना रेकर्डिङको प्रबन्ध मिलाइदिन व्यस्त थिए।
हामीले आपत्ति जनाउनैपर्ने अर्को कुरा ‘गोपालको ज्यान रक्सीले लियो र ऊ इन्द्र थपलिया, शरण प्रधान, अरुणा लामा, जितेन्द्र बर्देवा अनि अरू थुप्रै अम्मली कलाकारहरूकै पङ्क्तिमा सामेल हुन पुग्यो’ भन्ने वाक्य हो। यसले ठाडै बुवाको चरित्रहत्या गरेको छ।
पहिलो कुरा त, मैले कहिल्यै पनि लेखक कार्थकलाई मेरो घरमा आएर बुवासँग उठबस गरेको देखिनँ। न उहाँको घरमा नै हामी कहिल्यै गयौं। काका कुलदीपका अनुसार, दार्जीलिङमा पनि केही रेकर्डिङहरूमा बाहेक बुवासँग उनको हिमचिम नै थिएन। हो बुवाले पिउँथे, यो कुरालाई न उनले न हामी परिवारका सदस्यले नै कहिल्यै नकारेका छौं। तर, मलाई आज यो खण्डन–लेखद्वारा ‘वान्स एन्ड फर अल’ यति भन्न मन लागेको छ– उनले पिए पनि घरमै पिउने हो, रेस्टुरेन्ट-बार चहारेर, कसैले पिलाउला भनी आश गरेर, घरबार नै बिगारेर पिएका होइनन्। न पिएर जीवनको अन्तिम समयमा सिर्जना नगरेका हुन्। उपचारका लागि दिल्ली जानुभन्दा एक महीना अघिसम्म उनी रेकर्डिङमा व्यस्त थिए।
बुवा हृदयघातका साथै लिभर सिरोसिसका कारण बितेका हुन्। तर, धेरैले यसलाई रक्सीलाई जोडेर अनुमान गरे, अफवाह फैलाए। कतिलाई थाहा छ कुन्नि– उनको खानपान शुद्ध शाकाहारी हुनाले अलि बढी नै घ्यू, तारेको परिकार, चिज, काँचो छुर्पीको झोल मनपराउँथे, जसलाई सायद स्वास्थ्यको हिसाबले नियन्त्रित राख्नुपर्थ्यो।
हो, एक चर्चित व्यक्तित्व हुन सजिलो छैन। उसका जीवनका हरेक पक्षबारे अनेकन् आवश्यक/अनावश्यक कुरा हुने गर्छ। तर, यी कुरा कसले, कसरी, कुन स्तर र माध्यमबाट गरिराखेको छ– त्यसले फरक पार्ने रहेछ। हिमाल किताब जस्तो प्रतिष्ठित प्रकाशनबाट यस प्रकारको गैरजिम्मेवार काम होला भन्ने हामीलाई अपेक्षा थिएन।
पुस्तकको नाम र उद्देश्य पनि बेमेल देखिन्छ। अंग्रेजी पुस्तकको नाम नेपाली म्युजिकमेकर्स र नेपाली अनुवादको नाम नेपाली सङ्गीतस्रष्टा राखिएको छ। तर, पुस्तकमा सम्बन्धित स्रष्टाको संगीतबारे कम र लेखक अर्थात् कार्थकको आफ्नो जीवनबारे बढी उल्लेख छ। यसरी प्रस्तुत गरिएको छ, मानौं गोपाल योञ्जन र अरू स्रष्टाहरू उनका जीवनकथाका ‘ब्याकग्राउन्ड’ पात्रहरू हुन्।
कार्थकको यो लेख पहिलो पटक अंग्रेजीमा बुवा बितेलगत्तै सन् १९९७ मा छापिएको रहेछ, जुन वेला हामी शोकको अवस्थामा थियौं। कसले कहाँ के लेखे बुझ्ने मनस्थितिमा थिएनौं। त्यही वेला कार्थकको लेखको खण्डन किन नगरेको भन्नेलाई अहिले हामी यति मात्र जवाफ दिनसक्छौं।
आज कार्थकको निधन (१० वैशाख २०७७) भइसकेको छ। त्यसैले उनका लेखमा सुधार गर्दा ‘उनका काममाथि छेडछाड तथा आचारसंहिता विपरीत हुने, लेखकले लेखेको कुराको सही अर्थ र आशय बदल्नबाट सावधानी अपनाउनुपर्ने’ कारण सम्पादक थापाद्वारा देखाइएको छ। आमासँगको इमेलमा थापाले प्रकाशित लेखमा कसैले आलोचना गरी लेख्न चाहेमा सो गर्नसक्ने र स्वयं आमालाई यस्तो लेखका लागि पनि उहाँले आग्रह गर्नुभएको छ। बुवाबारे कुनै जीवनी नछापिएकाले पनि कतिपयत्र त्रुटिहरू हुनसक्ने उहाँको भनाइ रह्यो।
तर, हाम्रो भनाइ के छ भने, जब आमाले माथिका गलत तथा भ्रामक कुराबारे सम्पादक थापालाई बताउनुभएको थियो, त्यसवेला लेखक कार्थक जीवितै थिए। त्यसो भए सम्पादकको तर्फबाट हाम्रो चासो र चिन्तालाई सम्बोधन गर्नुमा ढिलासुस्ती किन भयो? आशंका स्वाभाविक रुपमा उठ्ने नै भयो।
कुनै दिवंगत व्यक्तिबारे कथित अनुमानका भरमा लेख्न, अनुवाद गर्न र प्रकाशन गर्न चाहिँ मिल्ने तर गल्ती सच्याउन चाहिँ नमिल्ने ? यो त सम्पादक थापाको विरोधाभाषपूर्ण कुरा भयो।
पुस्तकको नाम र उद्देश्य पनि बेमेल देखिन्छ। अंग्रेजी पुस्तकको नाम नेपाली म्युजिकमेकर्स र नेपाली अनुवादको नाम नेपाली सङ्गीतस्रष्टा राखिएको छ। तर, पुस्तकमा सम्बन्धित स्रष्टाको संगीतबारे कम र लेखक अर्थात् कार्थकको आफ्नो जीवनबारे बढी उल्लेख छ। यसरी प्रस्तुत गरिएको छ, मानौं गोपाल योञ्जन र अरू स्रष्टाहरू उनका जीवनकथाका ‘ब्याकग्राउन्ड’ पात्रहरू हुन्।
कथा बुन्ने र भन्नेहरूले भन्दै जान्छन्। यस्ता हरेकका पछि लागिरहनुभन्दा आफ्नो ढंगले गर्नुपर्ने काम गर्दै जाऔं भन्ने भावले हामी योञ्जन परिवार अगाडि बढिरहेका थियौं र छौं। तर, यस खालका मनगढन्ते र भ्रम फैलाउने खालका लेख जो कोहीका बारे अब लेखिनु, अनुवाद गरिनु र प्रकाशन गरिएमा कडा शब्दमा विरोध अनि परिआए कानूनी कदम पनि उठाउन पछि नपर्नुपर्ने देखिएको छ।
हाम्रो चाहना हो– भावी पुस्ताका लागि समेत सन्दर्भ सामग्री बन्ने यस्ता लेखहरूका कारण इतिहास नै विकृत नहोस्। आशा गर्छु, मेरो यो प्रयासले, लेखक कार्थकका लेखमार्फत फैलिन गएका भ्रामक विवरण, यस्तै खाले यसअघिका प्रयास र भविष्यमा पनि हुनसक्ने सम्भावित गलत लेख तथा हल्लाहरुले अब सदाका लागि विश्राम लिनेछन्।
*लेखको यसअघिको शीर्षक परिवर्तन गरिएको छ।