अझै किन भइरहेको छ अक्सिजन अभाव?
अक्सिजनको अभावमा नागरिकको मृत्यु हुने अवस्था आउन नदिन सर्वोच्च अदालतले आदेश दिए पनि कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले माग अनुसार अक्सिजन पाएका छैनन्।
सरकारले २३ वैशाखमा ‘मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८’ ल्यायो। कोभिड–१९ संक्रमितको उपचार व्यवस्थापनमा अक्सिजनको महत्त्वपूर्ण भूमिका रहेकाले अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्न मापदण्ड ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो मापदण्डमा आधारित भएर सरकारले अक्सिजनको अभाव हुन नदिने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ।
पछिल्लो पटक ३० वैशाखमा सरकारले अक्सिजनको अभाव समाधान गर्न अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरीद जस्ता विषयलाई प्राथमिकतामा राखेको निर्णय गरेको थियो।
अस्पतालहरूमा अक्सिजन पर्याप्त नभएकै कारण कोरोनाबाट पछिल्लो समय धेरै संक्रमितको मृत्यु भइरहेको छ। ८ जेठसम्म ६ हजार १५३ जनाले ज्यान गुमाइसकेका छन्। अहिले दैनिक मृत्यु संख्या करीब २०० को हाराहारीमा छ।
सरकारको पटकपटकको निर्णय, सर्वोच्च अदालतको आदेश आए पनि अस्पतालमा उपचार गराइरहेकाहरूका आफन्त भने अहिले पनि अक्सिजनको अभावमा भौंतारिरहेका छन्।
अक्सिजनको अभावले नागरिकको मृत्यु बढेपछि सर्वोच्च अदालतले पनि अक्सिजन र अन्य औषधिको अभावमा संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन विस्तृत योजना बनाएर कार्यान्वयन गर्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले ३ जेठमा त्यस्तो आदेश दिएको हो।
सर्वोच्चले कोभिड–१९ को महामारीका कारण नागरिक उपचार नपाई मृत्यु कुरेर बस्नुपर्ने स्थिति अत्यन्त गम्भीर र चिन्ताजनक अवस्था भएको र जनताको जीवन रक्षा गर्नु राज्यको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताएको छ।
“स्वास्थ्योपचार नपाएर नागरिकको मृत्यु हुनु भनेको राज्य नागरिकको जीवन रक्षा गर्ने दायित्वप्रति गम्भीर र संवेदनशील नभएको अवस्था हो,” सर्वोच्चको आदेशमा भनिएको छ, “साधनस्रोतको अभाव लगायत कुनै पनि बहानामा सरकारले जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबाट उन्मुक्ति पाउन सक्दैन।”
अक्सिजन जुटाउँदै संक्रमितका आफन्त
सरकारको पटकपटकको निर्णय, सर्वोच्च अदालतको आदेश आए पनि अस्पतालमा उपचार गराइरहेकाहरूका आफन्त भने अहिले पनि अक्सिजनको अभावमा भौंतारिरहेका छन्।
पाटन अस्पताल कोभिड वार्डको इमर्जेन्सीमा उपचाररत उषा शाक्यलाई अक्सिजनको आवश्यकता परेपछि छोरा उज्ज्वलले सिलिन्डरको जोहो गरे। अस्पतालले बिरामीको चाप बढेर अक्सिजन पर्याप्त नभएको बताएकाले आफैं जुटाएको उज्ज्वल बताउँछन्। “अस्पतालले अक्सिजन खोज्नु त भनेको थिएन, तर वरपरका बिरामीले आफैं जोहो गर्दा सजिलो हुने सल्लाह दिएपछि उद्योगमै गएर ल्याएको हुँ,” उनले भने। अस्पतालको भर परेर बिरामीलाई समस्या हुनुभन्दा आफैं जोहो गर्दा ढुक्क हुने उनको बुझाइ छ।
उज्ज्वल जस्तै दाङका सञ्जय केसीले पनि हप्ता दिनअघि बहिनीको उपचारका लागि आफैं अक्सिजन जोहो गरेको सुनाए। “होम आइसोलेसनमा बस्दा गाह्रो भएपछि ३१ वैशाखमा भक्तपुर अस्पताल लगेका थियौं,” उनले भने, “अस्पतालमा अक्सिजन कति बेला सकिने टुङ्गो नभएकाले आफैं खोजेको थिएँ।” अहिले चाहिँ आफैं खोज्नुनपरेको उनको भनाइ छ।
पाटन अस्पतालका कोभिड वार्ड सम्पर्क व्यक्ति डा. आशिष श्रेष्ठ भने बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाएको बताउँछन्। “बिरामीका आफन्तले भोलि समस्या आउँछ कि भनेर आफैं जोहो गरेका होलान्,” उनी भन्छन्, “तर, कुनै पनि अस्पताल र डाक्टरले खोज भन्दैनन्।”
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिले देशभर दैनिक करीब ३५ हजार सिलिन्डरको माग छ। तर, करीब २० हजार सिलिन्डर मात्र उत्पादन भइरहेको छ। त्यसमध्ये काठमाडौं उपत्यकाभित्रका उद्योगहरूले दैनिक ६ हजार सिलिन्डर उत्पादन गरिरहेका छन्। दुई हजार ५०० हाराहारीमा अस्पतालहरूले तयार पार्छन्।
त्रिवि शिक्षण अस्पतालका डा. दिनेश काफ्ले पनि बिरामीका आफन्तलाई अक्सिजन खोज्न पठाउनु मानवीय हिसाबले सही नहुने बताउँछन्। बिरामीका लागि चाहिने सबै सामग्री जुटाउने जिम्मा अस्पतालको भएको उनको भनाइ छ।
“स्वास्थ्यमा समस्या भएपछि अस्पताल आएकालाई अक्सिजन खोज भन्ने प्रश्नै हुँदैन,” डा. काफ्ले भन्छन्, “अस्पतालले ल्याउन नसक्ने अक्सिजन बिरामीका आफन्तले कहाँबाट ल्याउँछन् र?”
अभाव स्विकार्दैन सरकार
शनिबारसम्म नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार नाघेको छ। यसमध्ये एक लाख आठ हजार बढी संक्रमित होम आइसोलेसनमा छन्। अस्पतालमा भएका आठ हजार संक्रमितमध्ये करीब ७० प्रतिशतलाई अक्सिजनको सहारा चाहिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिले देशभर दैनिक करीब ३५ हजार सिलिन्डरको माग छ। तर, करीब २० हजार सिलिन्डर मात्र उत्पादन भइरहेको छ। त्यसमध्ये काठमाडौं उपत्यकाभित्रका उद्योगहरूले दैनिक ६ हजार सिलिन्डर उत्पादन गरिरहेका छन्। दुई हजार ५०० हाराहारीमा अस्पतालहरूले तयार पार्छन्। उपत्यकाबाहिर करीब ११ हजार सिलिन्डर अक्सिजन उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, अहिले काठमाडौंका साथै नेपालगन्ज, बुटवल, वीरगन्ज लगायत क्षेत्रमा अक्सिजनको माग उच्च छ।
पछिल्लो साता अस्पतालहरूमा कोरोना संक्रमितको चाप तुलनात्मक रूपमा केही घटेको छ। संक्रमणमुक्त हुने संख्या बढिरहेको छ। ५ जेठमा ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ७ हजार ९८९ जना संक्रमणमुक्त भएका थिए। ६ जेठमा ८ हजार ३०५ जना संक्रमित थपिए भने ६ हजार ५४३ जना संक्रमणमुक्त भए। त्यस्तै, ७ जेठमा ८ हजार ४०७ संक्रमित थपिँदा ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन्। ८ जेठमा ८ हजार ९८० संक्रमित थपिएका छन् भने ८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन्।
अक्सिजनको चरम अभाव हुन थालेपछि विभिन्न देशबाट सहयोग पनि बढेको छ। चीन, तिब्बत सरकार, अस्ट्रेलिया, स्वीट्जरल्यान्ड लगायत देशका साथै प्रवासी नेपालीले पनि अक्सिजन पठाइसकेका छन्। अन्य देशबाट आउने क्रम जारी छ।
अस्पतालमा बिरामीको चाप घटेको, अक्सिजनको आपूर्ति बढेको अवस्थामा पनि अस्पतालले पर्याप्त अक्सिजन किन पाइरहेका छैनन् त? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम केही दिनअघि एकै पटक माग बढेकाले धान्न गाह्रो भए पनि अहिले समस्या नरहेको बताउँछन्।
“केही दिनअघिसम्म माग र आपूर्तिको तालमेल नमिल्दा थोरै समस्या देखिएको थियो,” उनी भन्छन्, “वैदेशिक सहयोग आउने क्रम र आन्तरिक उत्पादन क्षमता विस्तार गरेकाले अहिले समस्या छैन।”
“हामीले क्षमताभन्दा दोब्बर बिरामीको उपचार गरिरहेका छौं। सरकारले चाहिँ बेड संख्या हेरेर अक्सिजन वितरण गरिरहेको छ, त्यो पनि पर्याप्त छैन। अस्पतालले मागेकोभन्दा करीब ७० प्रतिशत मात्रै अक्सिजन आपूर्ति भइरहेको छ।" - डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल
मन्त्रालयले अक्सिजनको समस्या छैन भने पनि कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालले भने माग अनुसार अक्सिजन पाउन नसकेको बताएका छन्।
काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालका लागि कोरोना उपचारका सम्पर्क व्यक्ति डा. सुमनबाबु मरहट्ठा अक्सिजनको अभाव कायमै रहेको बताउँछन्। “सरकारले कोटा तोकेको छ, सोही कोटा अनुसार पनि पाउन सकिएको छैन,” उनी भन्छन्, “हप्ता दिनअघिको भन्दा केही सहज चाहिँ भएको छ।” थोरै अक्सिजन मार्फत जसोतसो काम चलाइएको उनको भनाइ छ।
भक्तपुर अस्पतालकी डा. सुमित्रा गौतमको अनुभव पनि मरहट्ठाको जस्तै छ। “हामीले क्षमताभन्दा दोब्बर बिरामीको उपचार गरिरहेका छौं,” उनी भन्छिन्, “सरकारले चाहिँ बेड संख्या हेरेर अक्सिजन वितरण गरिरहेको छ, त्यो पनि पर्याप्त छैन।” अस्पतालले मागेकोभन्दा करीब ७० प्रतिशत मात्रै अक्सिजन आपूर्ति भइरहेको उनको भनाइ छ।
तर, स्वास्थ्य मन्त्रालय अक्सिजन अभावको कुरा स्विकार्दैन। प्रवक्ता गौतम अहिले सबै अस्पतालमा कोटा अनुसार वितरण भइरहेको बताउँछन्। “अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर वितरणलाई प्राथमिकता दिएका छौं,” उनी भन्छन्, “अहिले अस्पतालका बेड समेत खाली हुन थालेका छन्, अक्सिजनको अभाव कतै पनि छैन।”
अक्सिजन अभावको हल्ला फैलाएर कालोबजारी गर्न खोज्ने समूह सक्रिय भएको उनको भनाइ छ।