‘कोरोनाबाट जोगिन खोपको तेस्रो डोज पनि आवश्यक पर्नसक्छ’
अहिले खाेप सामान्यतया कति प्रतिशत एन्टिबडी बनाउँछ, अध्ययन गर्नै बाँकी छ। मानिसमा सोझै यसको अध्ययन गर्न सकिँदैन। पहिले जनावरमा गर्नुपर्छ। त्यसैले दोस्रो डोज खोप लगाएका व्यक्तिले पनि सतर्कता अपनाउनुपर्छ भनिएको हो।
कोभिड-१९ विरुद्ध १४ माघमा खोप अभियान शुरूआत भएको नेपालमा तीन लाख ६२ हजार एक जनाले मात्रै खोपको दोस्रो डोज लगाउन पाए। खोपको पहिलो डोज पाउनेहरू २० लाख ९१ हजार ५११ छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हिमालखबरसँगकाे अन्तर्वार्तामा ‘बिचौलिया’का कारण भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियासँग थप ५० लाख डोज खरीद गर्ने सम्झौता अगाडि बढ्न नसकेकाे बताएका थिए। जसले गर्दा खोप अभियान प्रभावित बन्न पुग्यो। विज्ञहरूले दैनिक सात-आठ हजार कोरोना संक्रमित भएको नेपालमा महामारी नियन्त्रणका लागि खोपको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की प्राज्ञ प्रा.डा. अञ्जना सिंह भने अब खोपको दोस्रो डोजले नपुगे तेस्रो डोज समेत आवश्यक पर्नसक्ने बताउँछिन्। कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने भएकाले थप मात्रा आवश्यक पर्नसक्ने उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख रहिसकेकी प्रा.डा. सिंहसँग कोरोनाभाइरस र खोपसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
विश्वलाई हायलकायल पारेको कोरोनाभाइरस कस्तो प्रकारको भाइरस हो?
भाइरसहरू सात प्रकारका हुन्छन्। त्यसमध्ये एउटा कोरोनाभिरिडी भन्ने वंश छ, कोरोनाभाइरस त्यसैमा पर्छ। यसलाई हामी आरएनए (रिबोन्युक्लिक एसिड) भाइरस भन्छौं। यो भाइरस टेबलको सतह, स्टीलमा वा लुगाफाटोमा टाँसिँदा निर्जीव कणका रूपमा बस्छ। तर, कुनै जीवको सम्पर्कमा आएर शरीरभित्र पस्ने मौका पायो भने आफूलाई जीवमै परिणत गर्छ। र, जीवले झैं व्यवहार गर्नथाल्छ। अनि गुणात्मक वृद्धि भएर दुईबाट चार, चारबाट आठ, आठबाट १६ गर्दै आफ्नो संख्या बढाउँदै लैजान्छ।
सन् २०२० को कोरोनाभाइरसको स्वरूप अहिले परिवर्तन भएको छ। यस्तो परिवर्तनले कहिले राम्रो गर्छ त कहिले नराम्रो। सन् २०२० मै हामीले कोरोनाभाइरसमा म्युटेसन हुने सम्भावना छ र म्युटेसनपछि यसले अझ बढी संक्रमण क्षमता लिएर आउनसक्छ भनेका थियौं। आज त्यही भयो।
कोरोनाभाइरसले अहिले आफ्नो स्वरूप परिवर्तन (म्युटेसन) गरेको छ भन्ने कुरा आइरहेको छ। यो भनेको के हो?
कोभिड-१९ भाइरसको आफ्नै किसिमको बनावट छ। यसको बाहिरपट्टि खोल जस्तो छ। यसमा धेरै स्पाइक प्रोटिन रहेका छन्। यो प्रोटिन लिपिड बाइलेयर हो, जसलाई चिल्लो पदार्थ भनेर बुझ्दा हुन्छ। जीन सिक्वेन्सिङ गरेर हेर्यो भने यसमा विभिन्न सेटमा क्यास्केडहरू बनेको देखिन्छ। ती क्यास्केड कहिलेकाहीँ यताउता परिवर्तन हुन्छन्। यसलाई म्युटेसन वा स्वरूप परिवर्तन गरेको भनिन्छ। जीनको जुन संरचना हुन्छ, त्यसमा केही मात्रामा हेरफेर हुनु भनेकै म्युटेसन हो।
सन् २०२० को कोरोनाभाइरसको स्वरूप अहिले परिवर्तन भएको छ। यस्तो परिवर्तनले कहिले राम्रो गर्छ त कहिले नराम्रो। सन् २०२० मै हामीले कोरोनाभाइरसमा म्युटेसन हुने सम्भावना छ र म्युटेसनपछि यसले अझ बढी संक्रमण क्षमता लिएर आउनसक्छ भनेका थियौं। आज त्यही भयो। म्युटेसनको शुरूआत यूरोपेली देशबाट भयो।
भारतका वैज्ञानिकले म्युटेसनपछि यसमा दुई किसिमको परिवर्तन आएको छ भनेर बताएका छन्। नेपालमा भने यसबारे अनुसन्धान गर्न बाँकी नै छ। खुला सिमाना भएकाले त्यही परिवर्तित भाइरस उताबाट यता आएको पनि हुनसक्छ।
भाइरस म्युटेसनपछि नयाँ भेरिएन्टको कुरा पनि आएको छ। यसको अर्थ के होला?
एउटै प्रजातिको परिवर्तनपछिको अवस्थालाई भेरिएन्ट भनिन्छ। गएको २ अप्रिलमा एउटा अमेरिकी जर्नलमा प्रकाशित लेख अनुसार, ६ महीना समयावधि राखेर अमेरिकामा गरिएको एक अध्ययनले त्यहाँ १९ वटा भेरिएन्ट रहेको पत्ता लगाएको थियो। वासिङ्टनमा झन्डै सय जनामा नयाँ भेरिएन्ट भेटियो भनेर अध्ययनले देखाएको छ। यसले गर्दा अझै सतर्क हुनुपर्छ भनेर पनि बताइएको छ।
अहिले खाेप सामान्यतया कति प्रतिशत एन्टिबडी बनाउँछ, अध्ययन गर्नै बाँकी छ। मानिसमा सोझै यसको अध्ययन गर्न सकिँदैन। पहिले जनावरमा गर्नुपर्छ। त्यसैले दोस्रो डोज खोप लगाएका व्यक्तिले पनि सतर्कता अपनाउनुपर्छ भनिएको हो।
खोपले हामीलाई कसरी कोरोनाबाट जोगाउँछ?
कोभिड-१९ विरुद्धको खोप दुई प्रकारले बनाइएका छन्। पहिलो, कोरोना भाइरसकै प्रोडक्टलाई लिएर। दोस्रो, त्यसको कुनै भाग लिएर।
खोप आउनुअघि सुरक्षाका मापदण्ड पालना गर्नुबाहेक समाधानका केही उपाय थिएनन्। अहिले भने हामीसँग खोप छ। हामीमध्ये कतिपयले खोप लिइसकेका पनि छौं। हामीकहाँ दुई किसिमका खोप वितरण गरिएको छ- एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको- कोभिशिल्ड र चीनबाट दानमा आएको- भेरोसेल। दुवैको काम भने एउटै हो।
अहिले हामीमध्ये धेरैले खोपको पहिलो मात्रा लगाएका छौं। सबैले त त्यो पनि लगाउन पाएका छैनौं। बुस्टर डोज भनिने दोस्रो मात्रा एकाध जनसंख्याले मात्रै लगाएका छन्। पहिलो डोज लगाउनुको अर्थ, कोरोनाभाइरस जीवाणुको केही अंश हामीमा राखिएको हो। यो राखेपछि त्यसको विरुद्धमा हाम्रो शरीरले रगतमा एन्टिबडी (रोगप्रतिरोधात्मक शक्ति) बनाउन थाल्छ।
अमेरिकामा बनेको फाइजर-बायोएनटेक खोपको पहिलो मात्रा लगाउँदा त्यसले ८० प्रतिशत र दोस्रो लगाएपछि ९० प्रतिशत काम गर्ने अनुसन्धानले देखाएका छन्। हामीकहाँ वितरण भएको एस्ट्राजेनेका (कोभिशिल्ड) खोपको पहिलो मात्राले ७० प्रतिशत र दोस्रोले एन्डिबडी अझ बढ्ने भनिएको छ।
चिनियाँ खोपको पहिलो मात्राले ५० प्रतिशत र दोस्रोमा अझ बढ्ने भनिएको छ। चीनले त पहिलो डोज भेरोसेल लगाए पनि दोस्रो वा तेस्रो डोजमा अन्य खोप लगाएर मिक्स्ड गर्न सकिने बताएको छ। तर, त्यसो गर्दा के हुन्छ भनेर हामीले अध्ययन गर्न पाएका छैनौं। तसर्थ, मिक्स्ड नगर्न सुझाव दिन्छौं।
महामारी नियन्त्रणमा खोप कत्तिको प्रभावकारी हुनसक्छ?
पहिले-पहिले हामीले बिफरविरुद्ध खोप लगाएका थियौं। त्यसबेला धेरै वर्षको प्रयासपछि एक डोजले नै शतप्रतिशत काम गर्ने खोप विकास गर्न सकिएको थियो। त्यही भएर अहिले बिफर उन्मुलन भएको छ।
कोरोनाभाइरस पनि त्यस्तै होस् भनेर हामीले चाहेका छौं। तर, अहिलेका लागि जुन खोप विकास भएको छ, यसको पहिलो मात्राले ३० देखि ८० प्रतिशतसम्म रोगप्रतिरोधात्मक क्षमता निर्माण गर्ने हुँदा यसले रोगलाई थेग्न वा कम गर्न मद्दत गर्छ। दोस्रो डोजले चाहिँ कतिपय अवस्थामा शतप्रतिशत नै थेग्छ भनिएको छ। तर, यसले सामान्यतया कति प्रतिशत एन्टिबडी बनाउँछ, अध्ययन गर्नै बाँकी छ। मानिसमा सोझै यसको अध्ययन गर्न सकिँदैन। पहिले जनावरमा गर्नुपर्छ।
त्यसैले दोस्रो डोज खोप लगाएका व्यक्तिले पनि सतर्कता अपनाउनुपर्छ भनिएको हो। तर, खोप लगाएका व्यक्तिमा संक्रमण भइहालेमा लक्षण नदेखिन पनि सक्छ वा अवस्था गम्भीर नहुन सक्छ।
दोस्रो डोज लगाइसकेपछि पनि कोरोना लाग्दो रहेछ भने किन खोप लगाउने भन्ने आशंका पनि गर्न थालिएको छ नि?
खोप त लगाउनैपर्छ। ९१ प्रतिशतसम्म भए पनि सुरक्षित रहिन्छ। बाँकी ९ प्रतिशतमा परियो भने त्यो दुर्भाग्य भयो। सकारात्मक सोचौं।
दोस्रो डोजले पुगेन भने तेस्रो डोज दिनुपर्ने पनि हुनसक्छ। कहिलेकाहीँ ड्रग कम्बिनेसन (जस्तै, एन्टिबायोटिक्सको कम्बिनेसन) झैं खोपकोे पनि कम्बिनेसन बनाएर दिनुपर्ने हुनसक्छ। बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनका खोप एकैठाउँमा मिसाएर त्यसको विकास गर्दै छ।
खोपबारे अझै पनि विभिन्न अफवाह चलिरहेकै छन्। के खोपका नकारात्मक पक्ष पनि छन्?
साढे दुई लाख व्यक्तिमध्ये एक जनामा खोप लगाएपछि ब्लड क्लटिङ (रगत जम्ने) समस्या देखिएको छ। त्यसो भनेर के हामीले खोप नै नलगाउने? यो त दुर्घटनाको जोखिमले गाडी चढ्नै हुँदैन भनेजस्तो भएन र?
भाइरसजस्ता जीवाणु एकदमै कन्टेजियस अर्थात् असाध्यै छिटो संक्रमण हुने प्रकृतिका भएकाले हामीलाई कम्तीमा बीएसएल-थ्री लेभलको प्रयोगशाला चाहिन्छ। यस्ता प्रयोगशाला हाम्रा विश्वविद्यालयहरूमा छैनन्। यसकारण हाम्रो हात बाँधिएको छ। सैद्धान्तिक ज्ञान भए पनि प्रयोगमा ल्याउन सकेका छैनौं।
गर्भवतीले खोप लगाउँदा सन्तानमा पनि जन्मजात एन्टिबडी सर्छ भन्ने सुनिएको छ। के यो साँचो हो?
यो इम्युनोलोजी विषयमा पर्छ। आमाको शरीरमा एन्टिबडी बनेको छ भने त्यो एन्टिबडी प्लासेन्ट (साल)बाट बच्चामा सर्छ। तर, यसमा पनि अध्ययन हुन बाँकी नै छ।
अहिले विभिन्न किसिमका खोप बनाइएका छन्। कुनै खोप गर्भवतीलाई दिँदा हुन्छ भनिएको छ भने कुनै नदिनु भनिएको छ। के हुन्छ, कसो हुन्छ भनेर अध्ययन भइसकेको अवस्था छैन। तर, आमाबाट भ्रूणमा एन्टिबडी सर्नसक्ने कुरा सही हो। तर, आमामा भएको सबै एन्टिबडी भ्रूणमा जान्छ भन्ने पनि छैन।
बेलायतको अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको छ। हामीकहाँ चाहिँ खोप उत्पादन सम्भव छैन?
हामी माइक्रोबायोलजिस्टहरूका लागि यो चुनौतीपूर्ण विषय हो। माइक्रोबायो टेक्निसियन, भिइरोलोजीका विज्ञहरू पनि हामीकहाँ हुनुहुन्छ। खोप उत्पादन गर्न नसकिने भन्ने होइन। तर, हामीले प्लेटफर्म पाएका छैनौं।
खोप उत्पादनमा सरकार, नीतिनिर्माण तहका मान्छे, राजनीतिकर्मी, स्वास्थ्य क्षेत्रका विज्ञ, विश्वविद्यालय, प्राइभेट तथा डायग्नोस्टिक इन्स्टिच्यूट्स, रिसर्च सेन्टर र उद्योगहरू सबैको सहकार्य चाहिन्छ।
भाइरसजस्ता जीवाणु एकदमै कन्टेजियस अर्थात् असाध्यै छिटो संक्रमण हुने प्रकृतिका भएकाले हामीलाई कम्तीमा बीएसएल-थ्री लेभलको प्रयोगशाला चाहिन्छ। यस्ता प्रयोगशाला हाम्रा विश्वविद्यालयहरूमा छैनन्। यसकारण हाम्रो हात बाँधिएको छ। सैद्धान्तिक ज्ञान भए पनि प्रयोगमा ल्याउन सकेका छैनौं।
कोरोना महामारीले हामीलाई यस्तो प्रयोगशाला बनाउने चुनौती दिएको छ।