'अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध काम नगर्न सक्छ, त्यसैले जोगिऔं’
कोभिड–१९ महामारी नियन्त्रणका लागि १६ वैशाखदेखि पुनः उपत्यकासहित देशका प्रमुख शहरहरूमा निषेधाज्ञा जारी गरेको सरकार अहिले बल्ल संकट सँघारमा आइपुगेको र स्थिति नियन्त्रणबाहिर जानसक्ने जोखिम महशूस गर्दै छ। आखिर सरकार कहाँ चुक्यो? नागरिकले कहाँ बाटो बिराए? भारतको पूने विश्वविद्यालयबाट विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय, माइक्रोबायोलोजी केन्द्रीय विभागका पूर्वप्रमुखसमेत रहिसकेका प्राध्यापक डा. द्विजराज भट्ट सरकारले विज्ञानलाई विश्वास नगरेकै कारण आजको अवस्थामा आइपुगेको तर्क गर्छन्। खासगरी कोरोनाविरुद्धको खोप अभियानमा केन्द्रित रही भट्टसँगको कुराकानीको सार:
नेपालमा कोभिड–१९ विरुद्धको खोपको वितरणलाई तपाईंले कसरी हेरिरहनुभएको छ?
पहिलो चरणमा भारतबाट कोभिशिल्ड भ्याक्सिन प्राप्त गरेपछि जोखिमका आधारमा प्राथमिकतामा राखेर खोप वितरण गरिनु सरकारको सही रणनीति थियो। तर, मौज्दात नराखेका कारण लक्षित समूहलाई दोस्रो डोज दिन बिलम्ब भयो।
भारतमै यसको आपूर्ति पर्याप्त नभएका कारण हामीले समयमा खोप पाउने परिस्थिति रहेन। अब यसमा सुधार आवश्यक छ। जुन ब्याचको खोप हामी प्राप्त गर्छौं, त्यसैबाट दुई डोजलाई पुग्नेगरी जोखिम समूह, लक्षित समूहको संख्या निर्धारण गराैं, पहिलो डोज दिऔं, दोस्रो डोजका लागि मौज्दात राखौं, लगभग १० प्रतिशत अतिरिक्त भायल समेत मौज्दात राखौं।
भारतसँगै नेपालमा पनि सबैलाई खोप दिएपछि मात्र दुवैतिरको सङ्क्रमण रोक्न सकिन्छ। खुला सीमामा जति नै प्रयास गरे पनि आवतजावत रोक्न सम्भव छैन, यो कुरा भारत सरकार र जनताले राम्रो बुझेका छन् जस्तो लाग्छ। त्यसैले नेपाल सरकारले उच्च तहमा कुरा गर्नुपर्छ।
चीनबाट आएको भेरोसेल खोप हामीले लगाउँदै छौ। यो इन्एक्टिभेटेड भाइरल भ्याक्सिन हो, जुन परीक्षणकै चरणमा छ। यसलाई विश्व स्वास्थ्य संगठनले अझैसम्म मान्यता दिएको देखिँदैन। त्यसबाहेक यो सरकारले खरीद गरेको हो वा अनुदानमा आएको हो, वा तेस्रो चरणको परीक्षण गराउन, अनुसन्धान गर्न कुनै संस्थाले ल्याएको हो, यो खोप कुन समूह, उमेर समूह, कति जनालाई दिइएको छ, यसको आधिकारिक तथ्यांक सार्वजनिक गर्नु बेस होला। यसमा देखिने नकारात्मक प्रभावको तथ्यांक राख्ने काम कसरी, कुन निकायले गरिरहेको छ, सो पनि बताउनुपर्छ। समग्रमा कोभिडका भ्याक्सिनहरू परीक्षणकै क्रममा छन् भन्ने लाग्छ। हामीकहाँ मोडर्ना र फाइजरको एमआरएनए खोप उपलब्ध छैन, ल्याउन पहल गर्नुपर्छ। हाल उपलब्धमध्ये एमआरएनए खोप नै बढी प्रभावकारी देखिएको छ।
अब हरेक देशले भिन्नभिन्न प्रकारका भ्याक्सिन लगाउनुभन्दा एउटै खोप लगाउने अर्को चरणमा हामी जानुपर्छ। यसका लागि अफ्रिका, यूरोप, चीन, अमेरिका, दक्षिण एसिया भारतमा भ्याक्सिन उत्पादन गर्ने रणनीति बनाउनुपर्छ। यसमा खासगरी विश्व स्वास्थ्य संगठनले समन्वय गर्ने र अमेरिकाले प्रविधि हस्तान्तरणमा प्रमुख भूमिका खेल्नुपर्छ। अहिले जस्तो हरेक देशले आफ्नै देशमा भिन्न प्रकारका भ्याक्सिन बनाउने काम व्यावहारिक र उपयोगी छैन। यसले एकै प्रकारको इम्युनिटी प्राप्त हुने देखिँदैन ।
अहिले निषेधाज्ञाका समयमा कतिपय विज्ञहरूसमेत सरकारले खोप सेवा पुनः थाल्नुपर्ने सुझाव दिइरहेका छन्। तपाईं के भन्नुहुन्छ?
अहिले त हुँदै हुन्न। सबैलाई कम्तीमा दुई हप्ता घरभित्रै राखौं, बसौं। घरभित्र बसेरै संक्रमणको चक्र तोड्नुपर्छ। बल्ल नयाँ संक्रमण कम हुँदै जान्छ। संक्रमण कम भएपछि बिस्तारै लकडाउन खोलौं, अनि जनस्वास्थ्यका मापदण्ड पालना गरेर खोप अभियान पुनःसञ्चालन गरौं। निषेधाज्ञा अवधिभर खोप अभियानको कुरा नगरौं।
हालै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बिचौलियाले कमिसन मागेकै कारण नेपालमा समयमै भारतबाट खोप नआइपुगेको बताउनुभएको छ। के यस्तो हुनसक्छ ?
भारतबाट खोप ल्याउन बिचौलिया चाहिँदैन। किनभने, हामी जीवनरक्षक औषधि, एन्टिबायोटिक्स लगायत सबैजसो मेडिकल सप्लाईमा भारतमै निर्भर छौं र निर्बाध रूपले पाइरहेकै छौं। पूनेको सिरम इन्स्टिच्यूटले मासिक करोडाैं डोज खोप उत्पादन गर्नसक्छ। भारतसँगै नेपालमा पनि सबैलाई खोप दिएपछि मात्र दुवैतिरको संक्रमण रोक्न सकिन्छ। खुला सीमामा जति नै प्रयास गरे पनि आवतजावत रोक्न सम्भव छैन, यो कुरा भारत सरकार र जनताले राम्रो बुझेका छन् जस्तो लाग्छ। त्यसैले नेपाल सरकारले उच्च तहमा कुरा गर्नुपर्छ। जिम्मेवार सरकारी टोली पठाएरै भए पनि डील फाइनल गर्नुपर्छ। कोही बिचौलिया बन्न खोजे सरकारले कारबाही गर्नुपर्छ।
यसबीचमा स्वास्थ्य मन्त्रालयले रसियाको स्पुतनिक–भी खोपलाई पनि आपत्कालीन प्रयोगका लागि भन्दै अनुमति दिएको छ। यसबारे के भन्नुहुन्छ?
रसियाको स्पुतनिक–भी खोपको एडेनोभाइरस भेक्टरको इवान र इथ्री जीन डिलिट नगरेका कारण भेक्टरको रेप्लिकेसन भएर स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ भनेर भाइरोलोजिस्टहरूले प्रश्न गरेका छन्। तर, उत्पादकले यसको खण्डन गरेको छ । हामी यसको जाँच गर्न सक्दैनौं, त्यसैले वास्तविकता थाहा नभएसम्म ल्याउनु र लगाउनु उपयुक्त नहोला भन्ने मेरो मत छ।
पूनेको सिरम इन्स्टिच्यूटले मासिक करोडाैं डोज खोप उत्पादन गर्नसक्छ। भारतसँगै नेपालमा पनि सबैलाई खोप दिएपछि मात्र दुवैतिरको सङ्क्रमण रोक्न सकिन्छ। खुला सीमामा जति नै प्रयास गरे पनि आवतजावत रोक्न सम्भव छैन यो कुरा भारत सरकार र जनताले राम्रो बुझेका छन् जस्तो लाग्छ। त्यसैले नेपाल सरकारले उच्च तहमा कुरा गर्नुपर्छ ।
स्वास्थ्यमन्त्रीले त रसियाका औषधि कम्पनीहरूले नेपालबाटै खोप उत्पादन गर्ने कुरा बताउनुभयो। माइक्रोबायोलोजी विषयको वैज्ञानिकका रूपमा तपाईं यसलाई कत्तिको सम्भव देख्नुहुन्छ?
केही वर्षअघि हामीले नेपालमा फैलिरहेको रेबिजको क्लेडलाई उपयुक्त हुनेगरी ह्युमन भ्याक्सिनका लागि अनुसन्धान गरेको थियौं। तर, भाइरसको कल्चर सिक्वेन्सिङको आधिकारिकताका लागि हामीले चीन र अस्ट्रेलियाका ल्याबमा काम गर्नुपर्यो। फ्रान्सेली वैज्ञानिकहरूसँग समन्वय गर्नुपर्यो।
हामीकहाँ ह्युमन भाइरल भ्याक्सिन उत्पादनबारे विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार, पूर्वाधार र सम्भाव्यता अध्ययन भएकै छैन। ल्याब स्केलमा खोप बनाउने पूर्वाधार छैन, भ्याक्सिन उत्पादक कम्पनी त छँदै छैनन्। यो अहिलेका लागि हाम्रो आर्थिक, व्यापारिक, प्राविधिक रूपले पनि क्षमताबाहिरको कुरा हो। रसियाबाटै मानव स्रोत, वित्त सबै थोक यही ल्याए कुन्नि! तर, वर्षौं लाग्ने कुरा हो यो। यसका लागि हामीसँग अनुभव र जनशक्ति नै छैन। त्यसैले अहिले भ्याक्सिन किन्नु नै उपयुक्त हुन्छ।
शक्तिशाली देशहरूले कोरोनाविरुद्धको खोपलाई कूटनीतिक अस्त्रका रूपमा प्रयोग गरिरहेका छन्। खोप कूटनीतिको रणनीतिबाट नेपाल जस्तो देशले कसरी फाइदा लिनसक्छ?
हामीले फाइदा लिनेभन्दा पनि छिमेकी भारतबाट सकभर सबै नागरिकलाई पुग्नेगरी भ्याक्सिन किनेर ल्याउँदा उपयुक्त हुन्छ। खरीद, ढुवानी, भन्डारणका हिसाबले यो सबैभन्दा सस्तो हुन्छ। अनुदान चाहिए विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा उपयोग गर्न सक्नुपर्छ। अमेरिका, बेलायत, चीन लगायतसँग पनि महामारी नियन्त्रणमा सहयोग पुग्नेगरी सन्तुलित व्यावहारिक कूटनीतिक सम्बन्ध राख्नुपर्छ।
खोपको प्रभावकारितालाई लिएर पनि विभिन्न जिज्ञासा र आशंका गरिएका छन् नि ?
माथि नै भनियो, अध्ययनहरूका आधारमा भन्ने हो भने मोडर्ना र फाइजरले उत्पादन गरेका एमआरएनए खोपहरू सबैभन्दा बढी प्रभावकारी देखिएका छन्, तर हामीकहाँ यी खोप उपलब्ध छैनन्। एडेनोभाइरस भेक्टरबेस्ड कोभिशिल्ड खोप लगाएका कतिपयमा इन्फेक्सन देखिएको छ।
चिनियाँ भेरोसेल नामक इन्एक्टिभेटेड खोप ट्रायल फेजको हो, तर हामीकहाँ धमाधम लगाउने काम भएको छ। यसबारे धेरै जानकारी बाहिर आएको छैन।
समग्रमा खोपले संक्रमण हुनबाट रोक्ने नभई जटिलता कम गर्छ, मृत्यु हुने सम्भावना घटाउँछ भन्ने बुझौं। त्यसैले खोप लगाऔं। तर, खोप लगाउँदैमा नयाँ भेरिएन्टका लागि पनि प्रतिरोधी क्षमता छ, संक्रमण हुँदैन भनेर नबुझौं। त्यसैले सावधानी अपनाऔं।
कोरोना खोप लगाउँदा ब्लड क्लटिङ (रगत जम्ने) सम्भावना हुन्छ भनिन्छ। वास्तविकता के हो?
ब्लड क्लटिङको समस्या सार्स कोभ-२ भाइरस सङ्क्रमणले पनि गर्नसक्ने अनुसन्धानहरूले देखाएका छन् । खोप लगाएपछि सामान्य नकारात्मक असर देखिनसक्छ। तर, ब्लड क्लटिङको यो जटिल समस्या एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन खोप लगाएपछि देखिएको छ। यस्ता समस्या धेरैमा देखिएको छैन भनिएको छ। यसको कारण र निवारणबारे अनुसन्धान हुँदै छ। धेरैमा यो समस्या भ्याक्सिनकै कारण भएको नदेखिएकाले भ्याक्सिन लगाउनु नै उपयुक्त हुन्छ।
१८ वर्षभन्दा कम उमेर समूहका लागि खोप नआउनुको कारण के हो?
यो उमेर समूहमा इम्युन रेस्पोन्स के हुन्छ भनेर ट्रायल परीक्षण गरिएको देखिँदैन। डोज पनि फरक फरक होला, अब सबै उमेर समूहमा कोभिड संक्रमण देखिएको छ। अब भने परीक्षण होला।
अहिले पनि हामीकहाँ खोप नलगाएकाको संख्या नै धेरै छ, त्यसैले एक व्यक्तिबाट अर्कोमा संक्रमण सर्दै जान्छ, भाइरसले पनि नयाँ भेरिएन्टका रूपमा म्युटेसन गर्छ। अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध कामै नगर्ने पनि हुनसक्छ। त्यसैले पनि भ्याक्सिन लगाएकाले पनि नलगाएका जस्तै मास्क लगाउने, जनस्वास्थ्यका मापदण्ड अपनाउने, भाइरस संक्रमणबाट जोगिन भीडभाडमा नजाने वा जोखिमयुक्त स्थान र जोखिमपूर्ण व्यवहारबाट जोगिनुपर्छ भनिएको हो।
खोपको दोस्रो डोजपछि पनि संक्रमण देखिएका प्रशस्त उदाहरण छन्। यस्तो किन हुन्छ?
सामान्यतया खोप लगाउनुको उद्देश्य संक्रमण र जटिलता दुवै कम गर्नु हो। तर, कोभिडका हाल उपलब्ध भ्याक्सिनले संक्रमण शतप्रतिशत रोक्दैनन्, घातकपन र जटिलता मात्र कम गर्छन् भनेर अध्ययनहरूले देखाएका छन्।
यसमा पनि कोभिशिल्डको पहिलो डोजले साँच्चिकै भाइरस संक्रमण भए भाइरसलाई छिटो चिन्न र त्यसविरुद्ध इम्युन सिस्टमलाई छिटो परिचालित हुन तम्तयार पार्ने हो। यो लगाएको दुई सातापछि एन्टिबडी बन्न शुरू हुन्छ, तर पर्याप्त हुँदैन। त्यसैले दोस्रो बुस्टर डोजले पर्याप्त भाइरस न्युट्रलाइजिङ एन्टिबडी बनाउन मद्दत गर्छ। एक पटक लगाएको भ्याक्सिनले कति लामो समय इम्युनिटी हुन्छ, त्यो अध्ययनकै क्रममा छ।
अहिले पनि हामीकहाँ खोप नलगाएकाको संख्या नै धेरै छ, त्यसैले संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्दै जान्छ, भाइरसले पनि नयाँ भेरिएन्टका रूपमा म्युटेसन गर्छ। अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध कामै नगर्ने पनि हुनसक्छ। त्यसैले पनि भ्याक्सिन लगाएकाले पनि नलगाएका जस्तै मास्क लगाउने, जनस्वास्थ्यका मापदण्ड अपनाउने, भाइरस संक्रमणबाट जोगिन भीडभाडमा नजाने वा जोखिमयुक्त स्थान र जोखिमपूर्ण व्यवहारबाट जोगिनुपर्छ भनिएको हो ।
तपाईकाे विचारमा कोभिड–१९ महामारी नियन्त्रणमा यतिबेला हामी कुन दिशामा छौं? कहाँ चुक्यौं?
तीव्र फैलिरहेको संक्रमणको चक्र तोड्न अहिले केही समयको लकडाउनबाहेक अर्को विकल्प छैन। अहिले दैनिक संक्रमण बढ्दो क्रममा देखिएको छ। यसको कारण जटिल नभएसम्म जाँच नगरेर बसेकाले हो। अब जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर दुई–तीन साताको लकडाउनमा बसे नयाँ संक्रमण घट्नेछ। यसो गरिएन भने अझै संक्रमण विस्फोटक रूपमा फैलिनसक्छ।
हिजो हामीले चिकित्सा विज्ञान मानेनौं, भाइरोलोजी मानेनौं। सरकारको नेतृत्वले नै कोरोना केही होइन भन्नेहरूलाई हौसला दियो। बलिया नेपालीलाई कोरोना लाग्दैन भन्यौं।
पहिलेको लकडाउन बिनातयारी हटायौं। सामान्यजस्तो देखायौं, भीडभाड गरायौं। नागरिकले महामारी सकिएको ठाने। अस्पतालको तयारी केही गरिएन। सत्ताधारीले त झन् राजनीति मात्र गरे। आफ्नो स्वास्थ्यबाहेक नागरिकको स्वास्थ्यबारे सोच्दै सोचेनन्। चरम स्वार्थले हामी चुक्यौं।
अब भने दैनिक संक्रमण कम गराउन हरसम्भव प्रयास गरौं। संक्रमण घटेपछि भीड नहुनेगरी सबै नागरिकलाई एकै खालको भ्याक्सिन दिने व्यवस्था गरौं। त्यसपछि भने सामान्यजस्तो होइन, अहिलेजस्तै सारा मापदण्ड पालना गरौं। धेरैभन्दा धेरै सरकारी काम, शैक्षिक गतिविधि भर्चुअल, अनलाइन गर्न सकिने बनाऔं। व्यक्तिगत सावधानीबाहेक कतिपय जोखिम क्षेत्र, अफिस, यातायात, भीड हुने कार्यालयमा मापदण्ड बनाऔं। भीड गर्ने–गराउने बानी छाडौं। यसका लागि सरकारी नेतृत्व उदाहरणीय बन्नसक्छ, बन्नुपर्छ ।
महामारीका बेला सरकार तपाईंहरूजस्ता विज्ञका कुरा कत्तिको सुनिरहेको छ?
सरकारका आफ्नै विज्ञ छन् होला। म छैन।
कोरोना निको पार्ने उपचार पद्धतिबारे हाम्रा प्रधानमन्त्रीका अभिव्यक्ति सुनेर तपाईंजस्ता विज्ञको प्रतिक्रिया के हुन्छ?
प्रधानमन्त्रीका अभिव्यक्ति भाइरोलोजीका आधारभूत सिद्धान्त वा विज्ञानमा आधारित थिए भन्न सकिँदैन। घरेलु उपाय, तातोपानी–बेसारले संक्रमण हुँदैन भनेर विश्वास गरेर पनि संक्रमण बढ्नसक्छ, ज्यान जोखिममा पर्छ। बलियो इम्युनिटी कसैको हुँदैन, संक्रमण भएपछि इम्युन सिस्टम रियाक्टिभ हुने हो। कसलाई सिभियर कोभिड हुन्छ, पहिल्यै थाहा हुँदैन।
वैज्ञानिक रूपले पुष्टि नभएका पातपतिंगर र घरेलु उपचारको कुरा गर्नुभन्दा अस्पतालमा निःशुल्क उपचार हुनेगरी पूर्वाधार विकासमा ध्यान दिएको भए राम्रो हुन्थ्यो, तर त्यसो हुन सकेन।