वन्यजन्तुका अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक लामालाई सात वर्ष कैद, एक लाख जरिवाना
रसुवा जिल्ला अदालतले वन्यजन्तु अपराधमा कुख्यात कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला न्यायाधीश राजेन्द्र नेपालले बुधबार सजाय निर्धारण गरेको रसुवा जिल्ला अदालतकी स्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिइन्। न्यायाधीश नेपालको इजलासले ८ वैशाखमा उनलाई दोषी ठहर गरेको थियो।
नेपाल र भारतमा भएका वन्यजन्तु अपराधका ठूला घटनामा नाम जोडिएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ जिल्ला अदालतको आदेशपछि जिल्ला कारागार रसुवामा थुनामा थिए। उनीमाथि लोपोन्मुख वन्यजन्तु बाघ, चितुवा र ओतका छाला तथा हड्डी लगायतका अंगको अवैध व्यापारमा संलग्न भएको अभियोग लागेको थियो।
२०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले शुरूआतमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे/नरहेको ठहर गर्नुपर्छ। दोषी पाइएमा एक महीनाभित्र छुट्टै सुनुवाइ गरेर उसलाई हुने सजाय निर्धारण गरिन्छ। त्यसै अनुसार कुन्जोकको विषयमा पनि पहिला दोषी ठहर भएपछि छुट्टै सुनुवाइ गरेर सजाय निर्धारण गरिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वर्षौंको अनुसन्धानपश्चात् गत असारमा कुन्जोकलाई काठमाडौंबाट पक्राउ गरेको थियो। पक्राउ परेपश्चात् नै उनले वन्यजन्तु अपराधमा नाम मुछिएको कुन्जोक भन्ने व्यक्ति आफू नभएको रसुवा जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा दाबी गरेका थिए।
रसुवा जिल्ला अदालतमा पुर्पक्षका लागि थुनामा पठाउने क्रममा भएको बहस र मुद्दाको अन्तिम टुङ्गो लगाउन भएका दुवै बहसहरूमा उनले एउटै दाबी दोहोर्याएका थिए। रसुवा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि तारेखमा बस्न पाउने मागसहित कुन्जोकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालतले पनि उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।
त्यसपछि कुन्जोक आफूलाई गैरकानूनी रूपमा बन्दी बनाइएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर गएका थिए। तर, सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि उनलाई थुनामुक्त गर्न अस्वीकार गरे।
उनको थुना गैरकानूनी नदेखिएको सर्वोच्च अदालतले ठहर गरेको थियो। साथै, उनले दाबी गरेजस्तो वन्यजन्तुका कारोबारमा संलग्न भएको अभियोग लागेको व्यक्ति उनी नै हुन् वा अरू कोही हो भन्नेबारे प्रमाणको मूल्यांकन गर्ने क्रममा रसुवा जिल्ला अदालतले ठहर गर्ने गरी सर्वोच्चले निर्णय गरेको थियो।
वर्षौंको अनुसन्धानपछि कुन्जोकलाई पक्रन सफल सीआईबी र त्यसका दुई जना प्रहरी अधिकृतहरूले यसवर्ष राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी)को ‘एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड’ पाएका थिए। कुन्जोकविरुद्ध इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरिएको थियो।