वन्यजन्तुका अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक लामा अदालतद्वारा दोषी ठहर
वन्यजन्तु अपराधमा कुख्यात कुन्जोक छिरिङ तामाङलाई रसुवा जिल्ला अदालतले दोषी ठहर गरेको छ। उनलाई हुने सजाय निर्धारण गर्न भने बाँकी छ।
नेपाल र भारतमा भएका वन्यजन्तु अपराधका ठूला घटनामा नाम जोडिएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङलाई रसुवा जिल्ला अदालतले दोषी ठहर गरेको छ।
लोपोन्मुख वन्यजन्तु बाघ, चितुवा र ओतका छाला तथा हड्डी लगायतका अंगको अवैध व्यापारमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि रसुवा कारागारमा थुनामा रहेका तामाङलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले दोषी ठहर गरेको हो। रसुवा जिल्ला अदालतकी स्रेस्तेदार मुना अधिकारी ढकालले कुन्जोक दोषी ठहर भएको, तर उनलाई सजाय निर्धारण गर्न बाँकी रहेको बताइन्।
कुन्जोकबारे हिमालको विगतको रिपोर्ट-
२०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले शुरूमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे–नरहेको ठहर गर्नुपर्छ। दोषी पाइएमा एक महीनाभित्र छुट्टै सुनुवाइ गरेर उसलाई हुने सजाय निर्धारण गरिन्छ। त्यसै अनुसार कुन्जोकको विषयमा पनि पहिला दोषी ठहर भएपछि छुट्टै सुनुवाइ गरेर सजाय निर्धारण गर्न लागिएको हो।
सजाय निर्धारणका लागि अर्को साता पेसी तोकिएको रसुवा जिल्ला अदालतकी स्रेस्तेदार अधिकारीले जानकारी दिइन्।
१५ वर्षअघिको त्यो 'सिजर्स'
१६ भदौ २०६२ मा रसुवामा नेपाली सेनाको टोलीले बाघ, चितुवा र ओतका अंग र तिनको तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाएको उक्त 'सिजर्स' मा सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जना पक्राउ गरी लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो।
कुन्जोङ तामाङ सन् १९९९ मा भारतको उत्तर प्रदेशस्थित गाजियावाद, सन् २००० मा उत्तर प्रदेशकै खागा र सन् २००८ मा मध्य प्रदेशस्थित हरियाणामा भएको वन्यजन्तु अपराध मुद्दामा समेत फरार प्रतिवादीका रूपमा छन्। भारतीय अनुसन्धान ब्यूरो र वन्यजीव अनुसन्धान ब्यूरोले प्रकाशन गरेका प्रतिवेदनमा उनीमाथि भारतमा सयौं बाघको छाला तस्करी गरेको आरोप लगाइएको छ।
तीमध्ये चार जनालाई लाङटाङ राष्ट्रिय निकुञ्ज, तत्कालीन पुनरावेदन अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्मले दोषी ठहर गर्दै सजाय सुनाए। वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको आरोप लागेका मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भन्ने रिसाङ लामालाई सर्वोच्च अदालतले १२ फागुन २०६६ मा सात वर्ष कैद र रू. एक लाख जरिवाना गरेको थियो भने उनीहरूका सहयोगी बलराम श्रेष्ठलाई पाँच वर्ष कैद। सेनाले छापा मारेको घरका धनी थोप्तेन तामाङलाई भने तस्करीमा संलग्नता नखुलेपछि सफाइ दिइएको थियो।
११ वर्षअघि सर्वोच्च अदालतले उक्त घटनामा संलग्नलाई कैद गर्ने फैसला गरेसँगै यो मुद्दा त्यहीँ सकिएको ठानिएको थियो। त्यस घटनामा पक्राउ परेका व्यक्तिले आफूहरूले कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङका लागि काम गरेको बयान दिएका थिए। नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा रहेका तिनै तामाङलाई ११ असार २०७७ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं-६ सिमलटारबाट पक्राउ गरेसँगै तामाङको १५ वर्ष पुरानो फाइल खुलेको थियो।
तामाङ सन् १९९९ मा भारतको उत्तर प्रदेशस्थित गाजियावाद, सन् २००० मा उत्तर प्रदेशकै खागा र सन् २००८ मा मध्य प्रदेशस्थित हरियाणामा भएको वन्यजन्तु अपराध मुद्दामा समेत फरार प्रतिवादीका रूपमा छन्। भारतीय अनुसन्धान ब्यूरो र वन्यजीव अनुसन्धान ब्यूरोले प्रकाशन गरेका प्रतिवेदनमा उनीमाथि भारतमा सयौं बाघको छाला तस्करी गरेको आरोप लगाइएको छ।
अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध
तामाङलाई पक्राउ गरेपछि सीआईबीले उनलाई लाङटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको थियो। निकुञ्जले उनीविरुद्ध रसुवा जिल्ला अदालतमा मुद्दा चलायो। अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा पठाउने आदेश गर्यो। त्यस क्रममा सीआईबीले तामाङबारे इन्टरपोल र भारतीय सुरक्षा निकायबाट प्राप्त गरेका विवरण चाखलाग्दा छन्।
भारतको मध्यप्रदेशस्थित सोहागपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि इन्टरपोलको खोजी सूचीमा रहेका सितार तामाङ, धार्के लामा र जय तामाङसँग कुन्जोकको सम्बन्ध देखिन्छ। यस्तै, नेपालको सर्वोच्च अदालतबाट बाघका अंगको अवैध व्यापारमा संलग्नता पुष्टि भई सात वर्ष कैद सजाय काटेका टासी छिरिङ भनिने छेवाङ उटुक लामासँग पनि उनको सम्बन्ध रहेको कागजात प्रहरीले अदालतमा बुझाएको छ।
ती विवरणले तामाङको सम्बन्ध उस्तै अपराधमा इन्टरपोलको खोजी सूचीमा रहेका अन्य व्यक्तिसँग पनि रहेको देखाउँछन्। भारतको मध्यप्रदेशस्थित सोहागपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि इन्टरपोलको खोजी सूचीमा रहेका सितार तामाङ, धार्के लामा र जय तामाङसँग कुन्जोकको सम्बन्ध देखिन्छ। यस्तै, नेपालको सर्वोच्च अदालतबाट बाघका अंगको अवैध व्यापारमा संलग्नता पुष्टि भई सात वर्ष कैद सजाय काटेका टासी छिरिङ भनिने छेवाङ उटुक लामासँग पनि उनको सम्बन्ध रहेको कागजात प्रहरीले अदालतमा बुझाएको छ।
टासी छिरिङ १६ भदौ २०६२ मा रसुवामा नेपाली सेनाले गरेको 'सिजर्स'पछि चलाइएको मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएका व्यक्ति हुन् भने कुन्जोक उक्त घटनाका मुख्य अभियुक्त हुन्।
सात वर्ष जेल सजाय काटेपछि पनि आफ्नो पुरानो 'व्यापार' नछाडेका टासीको नाम भारतका ठूल्ठूला 'सिजर्स' मा मुछिएको छ। उनको नाममा भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
मध्य प्रदेशको भोपालका 'चिफ वाइल्डलाइफ वार्डेन' ले सीआईबीलाई पत्र लेखेरै आफूहरूको ‘सर्वाधिक खोजी सूची' मा रहेका जयसँग कुन्जोकको सम्बन्ध रहेको पाइएको खुलाएका छन्।
सीआईबीका एक प्रहरी अधिकृतले कुन्जोकको सम्बन्ध देखिएका अर्का भारतीय कुख्यात अभियुक्त जय तामाङ नेपालमा लुकिबसेको हुनसक्ने प्रहरीको अनुमान रहेको बताए। इन्टरपोलको खोजी सूचीमा रहेका जय १२ कात्तिक २०७२ मा मध्यप्रदेशबाट पक्राउ परेका थिए। तर, सोहागपुर जिल्ला अदालतले २१ कात्तिक २०७२ मा धरौटीमा छाडेपछि उनी फरार छन्।
सीआईबीले लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत अदालत पेश गरेका कागजात केलाउँदा नेपाल र भारतमा कुन्जोकले प्रयोग गर्ने मोबाइल नम्बरबाट जयको मोबाइलमा कैयौं पटक कुराकानी भएको देखिन्छ। मध्य प्रदेशको भोपालका 'चिफ वाइल्डलाइफ वार्डेन' ले सीआईबीलाई पत्र लेखेरै आफूहरूको ‘सर्वाधिक खोजी सूची' मा रहेका जयसँग कुन्जोकको सम्बन्ध रहेको पाइएको खुलाएका छन्।
भारतको मध्यप्रदेश ‘स्पेसल टास्क फोर्स' ले इन्टरपोललाई सितार, धार्के र टासीसँग कुन्जोकको सम्बन्ध रहेको र ती तीन जनाविरुद्ध भारतको अदालतले जारी गरेको पक्राउ पुर्जी २५ जुन २०२० (११ असार २०७७) मा नेपाल प्रहरीसँग ‘शेयर' गरिसकेको जानकारी गराएको छ। उनीहरूविरुद्ध सोहागपुर जिल्ला अदालतले २९ जुलाई २०१९ (१३ साउन २०७६) मा पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
त्यस्ता अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध भएका र इन्टरपोल तथा भारतीय प्रहरीको समेत खोजी सूचीमा रहेका कुन्जोक तामाङलाई अहिले रसुवा जिल्ला अदालतले दोषी ठहर गरेको छ। हुम्लाको नाम्खा गाउँपालिका-६ स्थायी घर भएका तामाङ काठमाडौं महानगरपालिका-६ मा बस्दै आएका थिए।
अदालती चक्कर
गत असारमा पक्राउ परेका तामाङले आफ्नो पक्राउका विरूद्ध तीन वटै तहका अदालत गुहारेर छुट्न प्रयास गरे पनि सफल भएनन्। उनीजस्तै वन्यजन्तु अपराधमा मुछिएका व्यक्तिहरू कानूनी छिद्र प्रयोग गरेर उम्किरहेका बेला तामाङले पनि त्यस्तै प्रयास गरेका थिए।
नेपाल प्रहरीको सीआईबीले नियन्त्रणमा लिएपछि उनलाई ११ असारमै लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो। त्यसपछि रसुवा जिल्ला अदालतले १४ असारमा उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट निर्दोष मान्न नसकिने' भन्दै थुनामा पठायो।
उच्च अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल र शेखरचन्द्र अर्यालको इजलासले तामाङलाई थुनामै राख्नेगरी भएको जिल्ला अदालतको आदेशलाई सदर गरेपछि जिल्ला अदालतमा उनको कसूरमाथि सुनुवाइ शुरू भएको थियो।
तामाङले मुद्दाको टुंगो नलागुन्जेल आफूलाई थुनामा राख्ने रसुवा जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनमा चुनौती दिए। २०६२ सालको घटनामा नाम मुछिएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको र सीआईबीले निर्दोष मानिसलाई फसाउन खोजेको भन्दै उनले थुनामुक्त हुनुपर्ने माग गर्दै २८ असारमा निवेदन दिएका थिए। उनले प्रहरीसमक्ष कुन्जोक लामा भनिने व्यक्ति आफू नै हुँ भनी स्वीकार गरेर कागज गरे पनि आफू ‘लेखपढ गर्न नजान्ने निरक्षर' भएको भन्दै उक्त कागजबारे अनभिज्ञता प्रकट गरेर उच्च अदालतमा थुनामुक्त हुन पाउनुपर्ने दाबी गरेका थिए।
उनी रसुवाको 'सिजर्स' पछि पनि ‘व्यापारको सिलसिलामा' भन्दै विदेश आउजाउ गरिरहेका थिए। अध्यागमन विभागको अभिलेख अनुसार, यस अवधिमा उनी दुई पटक अमेरिका र कैयौं पटक भारत आउजाउ गरिसकेको देखिन्छ।
३० असारमा पाटन उच्च अदालतले रसुवा जिल्ला अदालतलाई कैफियत प्रतिवेदन (आदेशको फाइल) माग गर्दै पत्र पठायो। त्यसपछि बारम्बारको सुनुवाइ स्थगनपछि अन्तत: २ पुसमा उच्च अदालतले आदेश गर्दै उनलाई थुनामुक्त गर्न मानेन।
उच्च अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल र शेखरचन्द्र अर्यालको इजलासले तामाङलाई थुनामै राख्नेगरी भएको जिल्ला अदालतको आदेशलाई सदर गरेपछि जिल्ला अदालतमा उनको कसूरमाथि सुनुवाइ शुरू भएको थियो।
त्यसअघि २९ असोजमा तामाङले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उच्च अदालतमा नै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराउने प्रयास गरेका थिए। मुद्दाको सुनुवाइको पालो आउँदा स्थगन गर्ने, तर बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त हुन माग गर्ने उनको निवेदनलाई उच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको थियो।
त्यसपछि २ कात्तिकमा तामाङका कानून व्यवसायीले तामाङलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराए। २४ कात्तिकमा सर्वोच्च अदालतले तामाङको निवेदन खारेज गर्यो।
उच्च र सर्वोच्च अदालतमा तामाङले दिएका थप निवेदनमाथिको सुनुवाइ सकिएपछि गत १० फागुनमा रसुवा जिल्ला अदालतले तामाङको मुद्दा सुनुवाइ थाल्ने प्रयास गरेको थियो। तर, १० फागुन र १२ चैतका पेसी तामाङका कानून व्यवसायीले स्थगन गरे। २४ चैत र ८ वैशाखमा भएका सुनुवाइपछि जिल्ला अदालतले उनलाई दोषी पाउँदै कैद तय गर्न अर्को साता सुनुवाइ गर्ने आदेश गरेको हो।
सीआईबीकी प्रवक्ता एसपी गंगा पन्तले लामो समयको मिहिनेतपछि तामाङलाई पक्राउ गरिएको बताउँदै बलियो अनुसन्धानबाट दोषी ठहर भएको बताइन्।