मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदै, जोगिएला पद?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि नेपाली कांग्रेससहितका दलहरूले राखेको अविश्वासको प्रस्तावमाथि आज पनि छलफल हुँदै छ।
छलफल सकिए आजै मतदान गरेर अविश्वासको प्रस्तावमाथि टुंगो लगाउने कार्यक्रम छ। आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
सोमबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि यसमाथि प्रदेश सभामा छलफल जारी छ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ। तर, मुख्यमन्त्री गुरुङलाई बहुमतका लागि आवश्यक संख्या नपुग्ने देखिन्छ। प्रदेश सभामा नेकपा एमालेका २७ सांसद मात्र छन्। मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन एमालेबाहेक थप ३ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ सांसद र स्वतन्त्र एक सांसद छन्।
तीन सांसदलाई कोरोना, मतदान गर्न भने पाउने
यसैबीच, गण्डकी प्रदेश सभाका कोरोना संक्रमित तीन सांसदलाई पनि अविश्वासको प्रस्तावमाथि मतदान गर्न दिइने भएको छ। मंगलबार गरिएको परीक्षणमा तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण देखिएका सांसदहरूले प्रदेश सभामा बोल्न पाउने छैनन्। तर, उनीहरूलाई मतदान गर्न दिने सहमति जुटेको थियो।
(गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद हुनुपर्नेमा २८ लेखिएकोमा सच्याइएको छ।)