गण्डकी प्रदेश : कोरोना संक्रमित सांसदले पनि अविश्वास प्रस्तावमा मतदान गर्न पाउने
कोरोनाभाइरसको संक्रमण भएका सांसदले पनि गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव टुंगो लगाउन मतदान गर्न पाउने भएका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल जारी छ। मंगलबार नेकपा (एमाले)ले सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै संसद् अवरुद्ध गरेका थिए।
उनीहरूको माग बमोजिम मंगलबारै सबै सांसदको कोरोना परीक्षण गरिएको छ। त्यसको नतीजा आज बिहान १० बजेसम्म आउने जनाइएको छ।
कोरोना संक्रमण देखिएमा पनि सांसदले अविश्वास प्रस्ताव टुंग्याउन गरिने मतदानमा भाग लिन पाउने सहमति जुटेको प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले बताए। उनका अनुसार, मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति जुटेको हो।
तर, कोरोना संक्रमण देखिएका सांसदले अविश्वास प्रस्तावमाथिको छलफलमा भने भाग लिन पाउनेछैनन्। “कोरोना भएका सांसदले छलफलमा भाग लिन पाउनेछैनन्, मतदानमा भाग लिन पाउनेछन्,” सांसद दवाडीले भने।
कार्यव्यवस्था परामर्श समितिमा सहमति जुटेपछि मंगलबार नै सबै सांसदको कोरोना परीक्षण गरिएको छ। आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। समयमा छलफल सकिएमा आजै मतदान हुनसक्ने सांसद दवाडीले बताए। छलफल लम्बिएमा भने भोलि मतदान हुनेछ।
गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। जसमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद् छन्।
प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको आवश्यकता छ। मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन एमालेबाहेक थप ३ सांसदको समर्थन आवश्यक पर्छ।