‘बाघ तस्कर’ कुन्जोकको रिट सर्वोच्चले गर्यो खारेज, कानूनी छिद्रबाट उम्कने प्रयास असफल
बाघलगायत संरक्षित वन्यजन्तुका अंगको अवैध कारोबारमा संलग्न कुन्जोक छिरिङ तामाङ (कुन्जोक लामा पनि भनिने) ले कानूनी छिद्रबाट उम्कन पाँच महीनादेखि गरेको प्रयास असफल भएको छ।
जिल्ला अदालत रसुवाको आदेशले पुर्पक्षका लागि थुनामा रहेका तामाङले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। त्यहाँ लगातार आफ्नो सुनुवाइ स्थगित गर्दै आएका उनले पछिल्लो समय कोभिड–१९ ले सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालत गुहारेका थिए।
सर्वोच्च अदालतमा उनले बाघलगायत अन्य संरक्षित वन्यजन्तुका अंगको तस्करीमा नाम मुछिएको कुन्जोक लामा भन्ने व्यक्ति आफू नभएको र आफू कुन्जोक छिरिङ तामाङ भएकाले थुनामुक्त हुन पाउनुपर्ने आदेश माग गरेका थिए।
२ कात्तिकमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकोमा ३ कात्तिकमा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतले कारण देखाउ आदेश जारी गरेका थिए। त्यसपछि १७ र १८ कात्तिकमा क्रमशः न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मी तथा विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएका पेशीहरु कुन्जोकका वकीलले स्थगित गराएका थिए। त्यसपछि आज न्यायाधीशद्वय डा. भट्टराई र रेग्मीको इजलासले रिटमा सुनुवाइ गर्दै खारेज गर्ने निर्णय गरेको हो।
१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो। तामाङ त्यसै घटनाका मुख्य अभियुक्त हुन्। रसुवामा सेनाले बरामद गरेको उक्त घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो।
१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो। तामाङ त्यसै घटनाका मुख्य अभियुक्त हुन्।
उक्त घटनाका ८ जना अभियुक्तहरुमध्ये पक्राउ परेका पाँच जनालाई सर्वोच्च अदालतबाटसमेत सजाय भइसकेको छ। तीन जना फरार रहेकामध्ये कुन्जोकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ११ असार २०७७ मा काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेको थियो। त्यसपछि कुन्जोकलाई रसुवा जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।
२०६२ सालको घटनामा सजाय पाइसकेका व्यक्तिहरुले कुन्जोकसँगै निटुप लामा र दाण्डुक लामाको संलग्नता रहेको बयान दिएका थिए। उनीहरुले उपलब्ध गराएको मोबाइल नम्बरसमेत कुन्जोकले अहिलेसम्म पनि प्रयोग गर्दै आइरहेका छन्। त्यही घटनामा जोडिएका निटुप वन्यजन्तुका अंगको अवैध कारोबारका अन्य ठूला घटनामा पनि जोडिएका छन्। उनका विरुद्ध यही १५ अक्टोबरमा इन्टरपोलले रेडकर्नर नोटिस पनि जारी गरिसकेको छ। दाण्डुकका बारेमा भने प्रहरीले अहिलेसम्म कुनै सुराक पाउन सकेको छैन। कुन्जोक पक्राउ परेपछि उनीबाटै निटुपका विवरणहरु लिएर तथा तस्वीर सनाखत गराएर प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने पहल गरेको थियो।
कुन्जोकको नाम भारतमा पनि वन्यजन्तुको अपराधसँग जोडिएका ठूला ‘सिजर्स’ हरुमा आइरहेको थियो। भारतीय प्रहरीबाट प्राप्त गरी सीआईबीले उच्च अदालत पाटनमा बुझाएका कागजपत्रमा भारतको मध्यप्रदेशस्थित सोहागपुर जिल्ला अदालतले ‘एरेष्ट वारेन्ट’ जारी गरेपछि इन्टरपोलका खोजी सूचीमा रहेका सितार तामाङ, धार्के लामा र जय तामाङसँग कुन्जोकको सम्बन्ध देखिन्छ।
नेपालको सर्वोच्च अदालतबाट बाघका अंग अवैध व्यापारमा संलग्नता पुष्टि भई सात वर्ष कैद सजाय काटेका टासी छिरिङ भनिने छेवाङ उटुक लामासँग पनि कुन्जोकको सम्बन्ध देखिन्छ।
जिल्ला अदालत रसुले १४ असारमा कुन्जोकलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यस विरुद्ध कुन्जोकले उच्च अदालत पाटनमा निवेदन दिएर आफू थुनामुक्त हुनुपर्ने माग गरेका थिए। ३० असारमा उच्च अदालतले कुन्जोकलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशको फाइल मगाउने आदेश दिएका थिए।