कारबाही भोग्न तयार भएरै ह्विप उल्लंघन गरेका हौं : प्रकाश ज्वाला
नेकपा (एमाले) का चार सांसदले पार्टीको ह्विप उल्लंघन गरेपछि नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरे। माओवादीका १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ गरी शाहीको पक्षमा २२ मत पर्याे।
प्रदेश सभा बैठक शुरु हुनुअघि एमाले कर्णाली प्रदेश सभा संसदीय दलले शाहीको विपक्षमा मत दिने निर्णय गरेको थियो। प्रस्तुत छ, प्रदेश सभा सचिवालयले विश्वासको मतको परिणाम सार्वजनिक गरेलगत्तै एमाले नेता प्रकाश ज्वालासँग हिमालखबरले गरेको संक्षिप्त वार्ताः
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्नुभएको हो?
हो, मसहित चार जना सांसदले उहाँको पक्षमा मतदान गरेरै त उहाँले विश्वासको मत पाउन सक्नुभयो।
नेकपा एमालेका को को सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत दिनुभयो?
मसहित नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले पक्षमा मतदान गरेका हौं।
प्रस्तावको विपक्षमा मतदान गर्न नेकपा (एमाले) प्रदेश सभा संसदीय दलको ह्विप थियो, किन उल्लंघन गर्नुभयो?
हाम्रो पार्टी नै एक जस्तो रहेको छैन। त्यसैले कसको ह्विप कसले मान्ने भन्ने प्रश्न छ नि।
ह्विप उल्लंघन गरेपछि पार्टीले कारबाही पनि गर्नसक्ला नि?
त्यसबारे हामी जानकार नै छौं। कारबाही होस् वा अन्य कुनै पनि परिणाम, भोग्न तयार भएरै सोचविचार गरी मतदान गरेका हौं। हामी सबै प्रकारका कारबाही सहन तयार छौं।