के बर्माका नेपालीभाषी संकटमा छन् ?
बर्मेली सेनाले आन्दोलनमा जान निरुत्साहन गर्ने गरी यदि नेपालीभाषी समुदायमाथि दबाब सिर्जना गर्न शुरू गर्यो भने त्यसको असर नेपालसम्म आइपुग्छ।
बर्मामा सेनाले गएको १९ माघमा शासनसत्ता हातमा लिएपछि शुरू भएको विरोध प्रदर्शन रोकिएको छैन। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीमाथि सेनाले दमन जारी राखेको छ। सुरक्षाकर्मीको गोलीबाट अहिलेसम्म ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।
बर्मामा यसअघि सेनाले झन्डै पाँच दशक सत्ता सञ्चालन गरेको थियो। बर्मेली सेनाले सन् १९६२ मा पहिलो पटक सत्ता हातमा लिएको थियो। सन् २०११ मा प्रजातन्त्र पुनर्बहाली भएको नौ वर्षपछि पुनः सेनाले शासनसत्ता लिएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार बर्माको दक्षिणपूर्वी राज्य करेनका करीब तीन हजार मानिस भागेर शरणका लागि थाइल्यान्ड पुगेका छन्। धार्मिक सशस्त्र समूहको नियन्त्रणमा रहेको उक्त क्षेत्रलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको थियो। अहिले बर्माभरि अशान्ति छाएको छ।
तीतो विगतले झस्काउँछ
बर्मामा उल्लेख्य रूपमा नेपालीभाषीहरूको बसोबास छ। बर्मामा बसेर तीन वर्ष पत्रकारिता गरेका पत्रकार दीपक भट्टराईका अनुसार करीब एक लाख २५ हजार नेपालीभाषी त्यहाँ बसोबास गर्छन्। नेपालीभाषीहरू दोस्रो विश्वयुद्धअघि नै बर्मा पुगेका थिए।
शुरूमा पशुपालन र कृषि गर्न पुगेका उनीहरू उतै बसोबास गर्न थाले। तर, सन् १९६२ मा सेनाले शासनसत्ता हातमा लिएपछि केही नेपालीभाषी त्यहाँबाट भागे। तीमध्ये केही भारततिर बसे भने केही नेपाल आए। त्यसरी आएका नेपालीलाई नेपाल सरकारले झापा, नवलपरासी, रुपन्देहीको भैरहवा र छपिया, कञ्चनपुर लगायत स्थानमा जंगल फँडानी गरेर राखेको थियो।
शुरूमा पशुपालन र कृषि गर्न पुगेका उनीहरू उतै बसोबास गर्न थाले। तर, सन् १९६२ मा सेनाले शासनसत्ता हातमा लिएपछि केही नेपालीभाषी त्यहाँबाट भागे। तीमध्ये केही भारततिर बसे भने केही नेपाल आए। त्यसरी आएका नेपालीलाई नेपाल सरकारले झापा, नवलपरासी, रुपन्देहीको भैरहवा र छपिया, कञ्चनपुर लगायत स्थानमा जंगल फँडानी गरेर राखेको थियो।
बर्माका कतिपय नेपालीभाषीका नातेदार अहिले पनि नेपालमा छन्। उनीहरू बर्मा आउने–जाने गरिरहन्छन्। रुपन्देहीको टिकुलीगढका टीकाराम पाण्डेका आफन्त पनि बर्मामा छन्। उनका अनुसार एउटै परिवारसमेत नेपाल र बर्मामा बाँडिएका छन्। उनीहरू वर्षको एकदुई पटक आउनेजाने गर्छन्।
यदि त्यहाँ रहेका नेपालीभाषीमाथि सेनाले दमन गर्ने हो भने त्यसको प्रभाव नेपालसम्म आइपुग्ने पाण्डे बताउँछन्। “केही दिनअघि उताका आफन्तसँग सम्पर्क भएको थियो, त्यतिबेलासम्म ठीकै थियो। अहिले फोन र इन्टरनेट काटिएर होला, सम्पर्क हुन सकेको छैन,” पाण्डे भन्छन्, “सेनाबाट कुनै समस्या भयो भने त उहाँहरू आउने नेपालमै हो। सबै नातागोता यहीँ छन्।”
बर्माका लागि नेपाली राजदूत भीम उदास नेपाली मूलका बर्मेलीहरूको नयाँ पुस्ता प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउँछन्। बर्मा सरकार र त्यहाँका विपक्षी दलहरूको दृष्टिकोण नेपालीभाषीप्रति सकारात्मक रहेको उनको भनाइ छ। उदास भन्छन्, “युवा पुस्ता आन्दाेलनमा लागे पनि अहिले कुनै समस्या छैन, नेपालीभाषी बर्मिजहरूप्रति सैनिक सरकारको पनि सकारात्मक धारणा छ।”
तर, पत्रकार दीपक भट्टराई चाहिँ बर्मामा रहेका नेपालीभाषीलाई देश छोडेर भाग्नुपर्ने कुनै खतरा नभएको बताउँछन्। “नेपालीभाषीहरू बर्मेली नै हुन्, उनीहरू पनि मातृभूमिबारे सोच्छन्। आत्तिहाल्नुपर्ने र देश छोड्नुपर्ने अवस्था छैन,” भट्टराई भन्छन्, “सन् १९६० मा पनि सेनाले खेदेर नेपाली आएका होइनन्। सेनाको सरकारले सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान सञ्चालन गरेपछि नेपालीहरू आत्तिएर भागेका हुन्।”
सन् १९६० को दशकमा बर्माको भन्दा नेपालको आर्थिक स्थिति राम्रो थियो। त्यतिबेला भारतीय मूलका बर्मेलीहरू त्यहाँका स्थानीय व्यापारीभन्दा धनाढ्य हुन थालेपछि सरकारले सम्पत्ति राष्ट्रियकरणको अभियान चलाएको थियो। त्यहीकारण धेरै नेपाली र भारतीय मूलका बर्मेलीले देश छाडेका थिए।
बर्मा छोड्नुको बाध्यता
बर्माका नेपालीले सन् १९६० देखि बर्मा छोड्न थालेका हुन्। बर्मामा जन्मे–हुर्केका लीलाराम न्यौपानेको ‘जीवन र व्यक्तित्व’ पुस्तकमा उल्लेख भए अनुसार सन् १९६२ मा सैनिक जनरल ने विनले सत्ता कब्जा गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान सञ्चालन गरेका थिए।
सन् १९६२ मा सैनिक जनरल ने विनले सत्ता कब्जा गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान सञ्चालन गरेका थिए। त्यसको दुई वर्षअघिबाटै त्यहाँको राजनीतिक उथलपुथलका कारण नेपालीले बर्मा छोड्न शुरू गरेको उताबाट फर्किएका हिमलाल शर्मा बताउँछन्। उनका अनुसार सन् १९६० देखि १९६४ सम्ममा करीब दुई लाख नेपालीले बर्मा छोडे।
त्यसको दुई वर्षअघिबाटै त्यहाँको राजनीतिक उथलपुथलका कारण नेपालीले बर्मा छोड्न शुरू गरेको उताबाट फर्किएका हिमलाल शर्मा बताउँछन्। उनका अनुसार सन् १९६० देखि १९६४ सम्ममा करीब दुई लाख नेपालीले बर्मा छोडे।
तत्कालीन सैनिक सरकारले बर्मेली मुद्रा २० क्याटमाथिका सबै नोट र चलअचल सम्पत्ति राष्ट्रियकरण गरेको थियो। आफूले १४ लाखका नोट सरकारलाई बुझाउनुपरेको न्यौपानेले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। सबै सम्पत्ति राष्ट्रियकरण गरेपछि १७५ नेपाली रुपैयाँ लिएर भारतको मेघालयमा उनले व्यवसाय शुरू गरे। सैनिक सरकारको दमनबाहेक तत्कालीन राजधानी रंगुनबाहिर फैलिएको कम्युनिष्ट आन्दोलन पनि नेपाली विस्थापन हुनुको कारण थियो।
बर्मामा जमेर बसेका रेशमलाल पाण्डेले त्यतिबेला बल्ल साम्यवादको अर्थ बुझेका थिए। सबै सम्पत्ति सरकारलाई बुझाउनुपर्ने नियम उनलाई मन परेन। दुई वर्षअघि निधन भएका उनले पाँच वर्षअघिको भेटमा हिमालखबरसँग भनेका थिए, “साम्यवाद भनेको अड्कलेर खान दिने र भएको सम्पत्ति सरकारलाई बुझाउने रहेछ। सात दिनका लागि चामल दिएर १० दिनका लागि पुर्याउन भन्थ्यो। खेती हामीले गरेर उत्पादन चाहिं उसलाई दिनुपर्थ्याे।”
पुग्ने गरी चामल नदिएपछि चना उसिनेर पनि गुजारा गर्नुपरेको उनले सुनाएका थिए। कतिपटक त दूधका क्यानमा चामल लुकाएर पनि घर ल्याए। सरकारका मान्छेले भेट्टाए कारबाही गर्थे।
जिन्दगीभरि कमाएको जायजेथा छोड्नुपरेका कारण नेपाल आएपछि धेरैले कष्टकर जीवन बिताउन बाध्य भए। २०२२ सालमा श्रीमतीसहित नेपाल आएका चूडामणि पन्थले खानकै लागि लगाएका कपडा पनि बेचे। बर्माबाट आउँदा उनीसँग रू.४०० र दुई तोला सुन थियो। भारतको कोलकाता हुँदै आएका थिए। नारायणगढ आइपुग्दा पैसा सकिएको थियो।
उनीहरू तीन दिनसम्म धर्मशालामा बसे। धर्मशालामा त्योभन्दा बढी बस्न पाइँदैनथ्यो। अनि दुई तोला सुन रू.४७ मा बेचे। त्यसपछि भैरहवा पुगेर बर्माबाट आएका अरू नेपालीलाई भेटे। सरकारले जिल्लाकै छपियामा बसोबासका लागि जग्गा प्रदान गर्यो।
बर्माबाटै आएका भैरहवाका भीम अधिकारीका अनुसार त्यहाँ कमाएको सम्पत्ति देशबाहिर लैजान प्रतिबन्ध लगाइएको थियो। मानिसहरू बर्मा छोडेर जान सक्थे, तर एक जनाले बढीमा एक तोला सुन, ४०० नेपाली रुपैयाँ, दुई जोर कपडा मात्र बोक्न पाइन्थ्यो। उनी भन्छन्, “धेरै नेपालीको बर्मामा राम्रो बन्दोबस्ती थियो। त्यो सबै छोडेर आउँदा गाह्रो भयो। नेपाल आएकाहरू सरकारले राष्ट्रियकरण गर्दछ भनेर डराएर आएका हुन्। उता बस्नेहरू उतै जमे।”
आफन्तको सम्झना
नेपालमा रहेका धेरै बर्मेलीका आफन्त बर्मातिरै छन्। धनकला पाण्डेका देवर हरिलाल पाण्डे, नन्द र आमाजूको परिवार उतै छन्। चार पाँच वर्षमा भेटघाटका लागि आउने–जाने हुन्छ।
बर्मातिरै छुटेका आफन्तको सम्झनाले सधैं सताउने चूडामणि पन्थ बताउँछन्। उनी भन्छन्, “छुट्टिएर टाढा बस्दा पीडा हुँदो रहेछ। चाहेर पनि भनेको समयमा जान सकिन्न। एकै ठाउँमा भएको भए कति रमाइलो हुन्थ्यो !”
२०२२ सालमा नेपाल आएका उनी पछिल्लो पटक नौ वर्षअघि बर्मा गएका थिए। २८ दिन बसेर फर्किए। उनका ससुराली बर्मामै छन्। आफ्ना जेठान पीताम्बर अधिकारीको मृत्यु हुँदा भने जान नसकेको उनी बताउँछन्।
उनकी श्रीमती लीलावतीले दाजुको सम्झनामा नेपालमै ४५ दिनसम्म परम्परा अनुसार धार्मिक कार्य गरिन्। “नाताले त नजिक हो, तर फरक–फरक देशका नागरिक भयौं। नागरिकता फरक भए पनि सम्बन्ध र माया टाढा हुन सक्दो रहेनछ,” लीलावती भन्छिन्।
माइती सबै बर्मामै भएकाले दशैं, तिहार र तीज जस्ता चाडमा नरमाइलो लाग्ने उनी बताउँछिन्। उनले तिहारमा दाजुहरूलाई टीका लगाइदिन नपाएको धेरै वर्ष भयो। उनी भन्छिन्, “हरेक वर्ष तीज र तिहारमा मन भक्कानिन्छ।”