बलात्कार मुद्दामा सफाइ पाएका ‘सिद्धबाबा’ लाई झिकाउन उच्च अदालतको आदेश
बलात्कार मुद्दामा सुनसरी जिल्ला अदालतबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्ण गिरीलाई उच्च अदालत विराटनगरले झिकाउन आदेश दिएको छ।
गिरीको मुद्दामा शुक्रबार भएको सुनुवाइमा उच्च अदालतका न्यायाधीश प्रेमराज ढकाल र रेनुका शाहको इजलासले जिल्ला अदालतको फैसला कानूनी रूपमा त्रुटिपूर्ण देखिएको र त्यसमा विचार गर्नुपर्ने भएकाले झगडिया झिकाउन आदेश दिएको हो।
सुनसरी जिल्ला अदालतले गिरीलाई बलात्कार मुद्दामा गत २२ मंसीरमा सफाइ दिएको थियो।
शुरूमा जिल्ला अदालतले रू.३ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालत विराटनगरले गिरीलाई थुनामै राख्न आदेश दिएपछि त्यसलाई चुनौती दिंदै उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले १२ मंसीरमा गिरीको माग अनुसार धरौटी वा तारेखमा छाड्न अस्वीकार गर्दै थुनामै राख्न आदेश गरेको थियो।
सर्वोच्चको यस्तो आदेश आएको १० दिनमै सुनसरी जिल्ला अदालतले एकतर्फी बहस सुनेर गिरीलाई सफाइ दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकीलको कार्यालयले गत २८ फागुनमा उच्च अदालतमा पुनरावेदन गरेको थियो।
पीडित पक्षको बहस नसुनी गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला २८ फागुनमा उच्च अदालतको न्यायाधीशका लागि सिफारिशमा परेका छन्।
शुक्रबार उच्च अदालत विराटनगरले गिरीलाई १५ दिनभित्र झिकाउन आदेश दिएको उच्च अदालतका प्रवक्ता ओमराज सुवेदीले हिमालखबरलाई बताए। उक्त समयपछि थप प्रक्रियाबारे सुनुवाइ हुनेछ।