कोरोनाको त्रासबाटै बिरामी भइरहेका छन् ज्येष्ठ नागरिक
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कोरोनाबाट संक्रमित हुनेमा धेरै जेष्ठ नागरिक नै परे। मृत्यु हुनेमा पनि जेष्ठ नागरिककै संख्या धेरै छ। यसले उनीहरूमा विभिन्न मनोसामाजिक समस्या देखा परिरहेको छ।
सरकारले कारोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि ११ चैत २०७६ मा बन्दाबन्दी घोषणा गरेको थियो। त्यसअघि नेपालमा दुई जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा पहिलो पटक चीनको वुहान शहरबाट फर्किएका व्यक्तिलाई संक्रमण देखिएको थियो। उनलाई १० माघ २०७६ मा संक्रमण भएको पुष्टि भएको थियो।
१० चैत २०७६ मा संक्रमित दोस्रो व्यक्ति फेला परे। सरकारले त्यसको भोलिपल्टदेखि बन्दाबन्दी घोषणा गर्यो। यो एक वर्षमा पौने तीन लाख नेपालीमा कोरोनाको निदान भएको छ। तीमध्ये तीन हजारभन्दा बढीको मृत्यु भएको छ।
कोरोनाबाट सबै उमेर समूहका व्यक्ति संक्रमित भएका छन्। तर, प्रत्यक्ष शारीरिक स्वास्थ्यमा र मनोसामाजिक हिसाबले ज्येष्ठ नागरिक धेरै प्रभावित भएका छन्। संसारका अन्य राष्ट्र सरह यहाँ पनि मृत्यु हुनेमा तुलनात्मक रूपमा ज्येष्ठ नागरिक नै धेरै छन्। कोरोना संक्रमण पश्चात् हुने न्युमोनिया जस्ता जटिलताका कारण उनीहरूको ज्यान गएको छ।
कोरोनाले ज्येष्ठ नागरिकहरूमा बहुआयामिक असर पार्छ। जसलाई निम्न लिखित बुँदामा चर्चा गर्न सकिन्छ:
क) शारीरिक स्वास्थ्यमा असर
ज्येष्ठ नागरिकहरू उमेरसँगै शरीरका विभिन्न प्रणालीमा आउने परिवर्तनका कारण कमजोर हुन्छन्। शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि शिथिल हुँदै जान्छ। त्यही कारण संक्रमणजन्य रोगहरूको चपेटामा छिटै पर्छन्।
कोभिड–१९ का कारण स्वस्थ ज्येष्ठ नागरिक संक्रमित भए। मुटु, कलेजो, फोक्सो, मिर्गौला आदिका दीर्घरोग भएका, डिमेन्सिया र अल्जाइमर्सले थला परेका, क्यान्सर आदि रोगबाट प्रभावित ज्येष्ठ नागरिकहरू धेरै संख्यामा अस्पताल भर्ना भए। कोभिड–१९ कै कारण फोक्सोमा कडा किसिमको न्युमोनिया भई आईसीयूमा भर्ना हुने, भेन्टिलेटरमा बस्नुपर्ने अवस्था पनि आएको छ। फोक्सो र मुटुमा देखिएको जटिलता निको हुन लामो समय लागेको छ।
अन्य उमेर समूहका कोभिड–१९ संक्रमितभन्दा ज्येष्ठ नागरिकहरू लामो समय अस्पताल बस्नुपरेको छ। अस्पताल बसाइका क्रममा होस र चेतनामा गडबडी भइरहने समस्या पनि बढी नै छन्। त्यसैगरी अस्पतालबाट डिस्चार्ज भएपछि लामो समयसम्म शारीरिक कमजोरी हुने, भोक र निद्रा गडबड हुने लगायत समस्या पनि देखिएका छन्।
ख) मानसिक र सामाजिक असर
कोभिड–१९ र त्यसको संक्रमण रोक्न भएको बन्दाबन्दीले शारीरिक मात्र नभई मानिसक स्वास्थ्यमा पनि गम्भीर असर देखिएको हामीले अनुभव गरेका छौँ। ज्येष्ठ नागरिकहरू लामो समयसम्म घरभित्र बसिरहँदा उनीहरूको सामाजिक अन्तरक्रिया क्रमिक रूपमा पातलिँदै गयो। यसले केही मानसिक समस्या पनि देखिँदै गइरहेका छन्। आत्तिने वा चिन्तामा डुब्ने, उदासी (डिप्रेसन) लगायत मानसिक समस्या देखिएका छन्।
कोरोनाका कारण हुने मृत्युको समाचार लगातार आउँदा त्यसले पनि ज्येष्ठ नागरिकहरू प्रताडित भए। उनीहरू आत्तिने र चिन्तित हुने समस्या भयो। अझै भइरहकै छ। त्यसैले ज्येष्ठ नागरिकमा मानसिक समस्या बढ्नुको कारण सञ्चार माध्यमहरूमा आउने कोरोनासँग सम्बन्धित मृत्यु र मृत्युदरको समाचार पनि हो। कोरोनासँग सम्बन्धित अन्य किसिमका भ्रमपूर्ण समाचार र सूचनाहरूले पनि मानसिक समस्या बढाए।
ग) स्वास्थ्य सेवामा पहुँचको समस्या
युवाको तुलनामा ज्येष्ठ नागरिक कुनै न कुनै किसिमका दीर्घरोगबाट बढी पीडित हुन्छन्। त्यसकारण उनीहरू स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा हुनुपर्छ। तर, अप्रत्याशित रूपमा भएको बन्दाबन्दीले स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकको पहुँच घट्यो।
बन्दाबन्दीको शुरूआती अवस्थामा अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा बन्द भए। सबै किसिमका स्वास्थ्य सेवा दिने अस्पताल पनि कोभिडको व्यवस्थापनमा सीमित रहे। यसले ज्येष्ठ नागरिकहरू साबिकको स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्यो।
परिणाम स्वरूप मधुमेह, उच्च रक्तचाप, दम, क्यान्सर जस्ता रोगहरू नियन्त्रणबाहिर हुन थाले। त्यस्ता रोगका कारण पक्षाघात, हृदयाघात लगायत जटिलता देखिँदा ज्येष्ठ नागरिक र सम्बन्धित परिवारले समस्या भोगे। कोरोना संक्रमण नियन्त्रण भएर बन्दाबन्दी खुकुलो हुँदै जाँदा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँगको पहुँचको समस्या पनि क्रमिक समाधान हुँदै गएको छ।
(घ) महामारीले सिकाएको पाठ
विश्वभर फैलिएको कोरोना महामारीले हाम्रो जस्तै विकासशील राष्ट्रहरूको स्वास्थ्य क्षेत्रका चुनौतीलाई उदांगो पारिदिएको छ। यो महामारीले हामीलाई तल उल्लिखित विषयमा पाठ सिकाएको छः
१. उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानीः
कोभिड–१९ महामारी विश्वभरि फैलिंदा यो चर्चित भनाइ असफल भयो। हामी रोग लागेपछि उपचारतिर लाग्यौँ। तर, उपचार गरेर चट्टै निको बनाउने औषधि र उपचारविधि हामीसँग थिएन। भविष्यमा आउनसक्ने यस्तै प्रकृतिका महामारीमा यस पटकको अनुभव काम लाग्छ। हामीले भोगिसकेका छौँ कि, जटिल प्रकृतिको कोभिड–१९ को उपचारभन्दा धेरै सजिलो त यसको रोकथाम हुने रहेछ। जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरे कोरोनाबाट बच्न सकिने रहेछ।
२. जनस्वास्थ्य क्षेत्रलाई प्राथमिकताः
वर्तमान स्वास्थ्य प्रणाली र राज्यको प्राथमिकता अस्पताल खोल्ने र औषधि पुर्याउने अर्थात् उपचारात्मक स्वास्थ्य सेवामा सीमित छ। तर, कोभिड–१९ र यस्तै महामारीसँग जुध्न संक्रमितको सक्रिय पहिचान र सम्पर्कमा आएकाको खोजी जस्ता जनस्वास्थ्यका उपायहरूको अवलम्बन गर्नुपर्ने रहेछ। यी कार्यका लागि दक्ष जनशक्ति आवश्यक हुन्छ। चिकित्सक, नर्स र पारामेडिकल जनशक्तिको साथसाथै जनस्वास्थ्य विज्ञहरूको समानान्तर विकासले मात्र यो लक्ष्य प्राप्त हुन्छ। तसर्थ, जनस्वास्थ्य प्रणालीको गुणात्मक र मात्रात्मक विकासका निम्ति राज्यले अहिलेदेखि नै उपयुक्त कदम चाल्नुपर्छ।
(ङ) स्वास्थ्य सेवामा गुणात्मक र संख्यात्मक सुधार
कोभिड–१९ को उपचारमा हाल उपलब्ध भौतिक पूर्वाधार र स्वास्थ्य जनशक्तिको अभाव टड्कारो देखियो। शुरूआती अवस्थामा अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखियो। आईसीयू र भेन्टिलेटर सञ्चालनका निम्ति दक्ष जनशक्तिको पनि अभाव भयो।
महामारीको असर केही कम भएसँगै स्वास्थ्य क्षेत्रलाई केही राहत त भएको छ, तर सम्भावित दोस्रो लहर र भविष्यमा पनि आउन सक्ने यस्तै किसिमका अन्य महामारीसँग जुध्न आजकै मितिदेखि तयारी थाल्नुपर्ने छ। सँगसँगै स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको न्यायोचित र वैज्ञानिक विकेन्द्रीकरण र व्यवस्थापनमा पनि ध्यान दिनु अति आवश्यक छ।
- कडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ हुन्।