कोरोना संक्रमणको एक वर्षः किन भयो धेरै ज्येष्ठ नागरिकको मृत्यु ? (भिडियोसहित)
कोरोनाभाइरस महामारीमा परिवारका युवा तथा वयस्क सदस्यले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्दा संक्रमण भित्रिएको एक वर्षमा मुलुकमा विभिन्न उमेरसमूहमध्ये सबैभन्दा धेरै ६२ प्रतिशत ज्येष्ठ नागरिकले ज्यान गुमाएका छन्।
मुलुकमा कोरोनाभाइरसको संक्रमण शुरू भएको एक वर्ष पुगेको छ । पहिलो पटक १० माघ २०७६ मा ३२ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । उनी चीनको वुहान शहरबाट २४ पुस २०७६ मा नेपाल फर्किएका थिए।
पहिलो संक्रमित भेटिएयता २२ माघ २०७७ सम्म मुलुकभर २ लाख ७१ हजार ६०२ जनामा संक्रमण देखिएको छ । यीमध्ये २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार २७७ छ।
नेपालमा कोरोना संक्रमण भेटिएको एक वर्षमा नै यस विरुद्धको खोप पनि भित्रिइसकेको छ । सरकारले १४ माघदेखि पहिलो चरणमा अग्रभागमा खटिएका स्वास्थ्य तथा सफाइकर्मी, सुरक्षाकर्मी लगायतलाई खोप लगाउने अभियान शुरू गरिसकेको छ।
अर्कातिर, कोरोनाभाइरस संक्रमणको अर्को लहर शुरू हुने खतरा रहेको भन्दै त्यसतर्फ सचेत रहन विज्ञहरूले सजग गराएका छन् । बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजाति नेपालमा पनि देखा परेको छ । भाइरसको उक्त नयाँ प्रजातिबाट मुलुकमा ५ माघमा तीन जना संक्रमित भेटिएका छन्।
'परिवारको हेलचेक्र्याइँले ज्येष्ठ नागरिकलाई क्षति'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० माघ २०७७ सम्मको तथ्यांक अनुसार, मुलुकमा एक वर्षको अन्तरालमा कोरोनाभाइरसको संक्रमणबाट २०३० जना मृत्यु भइसकेको छ । यीमध्ये ६० वर्षमाथिका १ हजार २४९ जना ज्येष्ठ नागरिकको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, ६० वर्षमुनिका ७७७ जना छन् । यस बाहेक एक जनाको उमेर खुलेको छैन भने बाँकी दुई जना एक वर्ष मुनिका बालबालिका छन्।
कोरोना संक्रमणबाट मृत्यु भएका १ हजार २४९ जना ज्येष्ठ नागरिकमध्ये ६० देखि ८० वर्षसम्मका ९७० जना र ८१ देखि १०८ वर्ष उमेरसमूहका २७९ जना रहेको मन्त्रालयको तथ्यांक छ । कोरोना संक्रमणबाट ४१ देखि ५९ वर्षसम्मका ५१४ र २१ देखि ४० वर्षसम्मका २२६ जनाको मृत्यु भएको छ। यस्तै, १ देखि २० वर्ष उमेरसमूहका ३७ जनाले संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यो तथ्यांकले मुलुकमा कोरोना संक्रमणबाट ६० वर्षदेखि माथिका सबैभन्दा धेरै अर्थात् १ हजार २४९ जनाको मृत्यु भएको देखाउँछ । यो कोरोनाबाट भएको कुल मृत्युमध्ये झण्डै ६२ प्रतिशत हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट ज्यान गुमाएका धेरैजसो ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था कमजोर थियो । उनीहरूमध्ये अधिकांश उच्च रक्तचाप, श्वासप्रश्वासको रोग, क्यान्सर, मधुमेह तथा मुटु, मिर्गौला सम्बन्धी समस्याबाट प्रभावित थिए।
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था युवाको तुलनामा कमजोर हुने भएकाले भाइरस संक्रमित भएपछि उनीहरूको स्वास्थ्य जटिल बन्ने र ज्यानै जाने जोखिम रहने चिकित्सकहरू बताउँछन् ।
काठमाडौँ टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला कमजोर स्वास्थ्य अवस्था भएका दीर्घरोगी वृद्धवृद्धा कोरोना संक्रमित भएपछि समयमा अस्पताल नपुगेको वा राम्रो उपचार सेवा नपाएका कारण पनि ज्यान गएको हुनसक्ने बताउँछन्।
“तर नेपालमा एक वर्षमा कोरोनाबाट हुने मृत्यु प्रक्षेपण गरिएभन्दा निकै कम संख्यामा भयो, जुन तुलनात्मक रूपमा राम्रो हो,” डा. बास्तोला भन्छन्। अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरस संक्रमणबाट सन् २०२० को अन्त्यसम्म नेपालमा करीब ५० हजार जनाको मृत्यु हुनसक्ने आकलन गरेको थियो।
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेल महामारीको समयमा घरपरिवारलाई संक्रमणबाट जोगाउन सावधानी अपनाउनुपर्ने काममा हेलचेक्र्याइँ भएको र त्यसको क्षति अन्य उमेरसमूहको तुलनामा ज्येष्ठ नागरिकले बढी बेहोर्नुपरेको बताउँछन्।
डा. कँडेल भन्छन्, “घरका युवा तथा वयस्क सदस्यहरू बाहिर निस्किँदा स्वास्थ्यका आधारभूत मापदण्ड पालना नगरेका कारण संक्रमित बने, र उनीहरूले घरमा बाबुआमालाई सारे ।” सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) खुकुलो भएको समयमा सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरवाही गर्दा मृत्यु हुनेको संख्या बढेको उनी बताउँछन्।
संक्रामक रोग तथा आईसीयू रोग विशेषज्ञ डा. प्रभात अधिकारी सरकारले कोरोनाबाट मृत्यु हुनेको आधिकारिक तथ्यांक नै नराखेको बताउँछन् । डा. अधिकारी स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट ८०० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्दा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले २४ सय जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेकाले सरकारी तथ्यांकमा प्रश्न उब्जिएको बताउँछन् । तर, स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले सेनाले शव व्यवस्थापनको तथ्यांक राखेको र त्यो सबै तथ्यांक कोरोनाबाट मृत्यु भएकाहरुको नभएको बताउँछन्।
डा. अधिकारीको भनाइमा, स्वास्थ्य मन्त्रालयले घरमै मृत्यु भएकाहरुको कोरोना जाँच नगर्ने नीति अपनाएका कारण पनि सरकारी स्तरबाट कोरोनाबाट ज्यान गुमाएकाहरुको आधिकारिक तथ्यांक सार्वजनिक हुन सकेन । आधिकारिक तथ्यांक संकलन भएमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अझै बढ्ने उनको भनाइ छ।