भूकम्पले दिएको उत्प्रेरणा
पेशाले नर्स बबिता सेढाई (२७) शनिबारको दिन साथीसँग घुम्दै धरहरा पुगेकी थिइन् । विगतमा धरहरा चढेको भए पनि एक पटक फेरि उँचाइबाट काठमाडौं नियाल्ने रहर लाग्यो । सिंढी उक्लिएर माथि पुगेका मात्र के थिए, बेस्सरी हल्लियो । “के भयो भन्ने सोच्न नपाउँदै धरहराले मलाई थिचिसकेको थियो” बबिता भन्छिन्, “होश खुल्दा पालमुनि उपचार भइरहेको पाएँ ।”
१२ वैशाख २०७२ को भूकम्पले धरहरा फेदैदेखि ढल्दा ५७ जनाको मृत्यु भयो, सामान्य घाइते मात्र भएको आफूलाई भाग्यमानी सम्झिन्छिन्, बबिता । दुई साताको उपचारपछि उनी तङ्ग्रिइन् । र लगत्तै महाराजगंज, काठमाडौंको इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलमा काम गर्न थालिन् । भूकम्पका घाइते बालबालिकाको हेरचाहमा जुटिन् ।
भूकम्पले उनको जिन्दगीको गतिमा केही दबाब दिए पनि धक्का दिन सकेन । उनले नर्सिङमा स्नातक गर्न विदेश जाने योजना बनाएकी थिइन् । तर, भूकम्पपछि उक्त योजना रोकियो । देशभित्रै अध्ययन थाल्ने सोच बनाउँदा धेरैले ‘अहिले नै पढ्न सक्छ्यौ र ?’ भन्ने प्रश्न गरे ।
“तर, ममा आत्मविश्वास थियो, नपढी बसेर वर्ष ‘ग्याप’ गर्ने चाहना पटक्कै थिएन”, उनी भन्छिन् । सिफल, काठमाडौंको इनोभेटिभ कलेज अफ हेल्थ साइन्समा साइकियाट्रिक नर्सिङमा ‘ब्याचलर अफ साइन्स इन नर्सिङ’ भर्ना भइन् ।
हाल बसुन्धरा, काठमाडौंको ग्रीन सिटी अस्पतालमा रजिष्टर नर्सका रूपमा कार्यरत बबिता भूकम्पमा बाँचेकाहरूले खोलेको सर्भाइभर्स नेपालकी संचालक समिति सदस्य छिन् । संस्थाले विपत्काे बेला राहत तथा उद्धार कार्यका साथै प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्यमा सहयोग जुटाउँदै आएको छ ।
धेरै मानिसको ज्यान लिएको विपत्मा आफूले दोस्रो जीवन पाएको महसूस गर्ने उनी त्यो घटनाले आफूलाई निडर बनाएको र केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दिएको बताउँछिन् ।
विनाशकारी भूकम्पपछि पनि सरकारी र निजी क्षेत्रले फेरि त्यस्तै विपत् निम्तिए के गर्ने भन्ने पूर्वतयारी नगरेको देख्दा बबितालाई चिन्ता लाग्छ । “ठूला विपत्ति्का बेला धेरै मानिसलाई उपचार कसरी गर्ने भनेर सोचिएको छैन”, उनी भन्छिन् ।
११ असोज २०७४ मा विवाह गरेकी उनी श्रीमान् र चार महीने शिशुसँग सुखद जीवन अघि बढाइरहेकी छन् । बिरामीकै घेरामा जीवन बिताउने सोच राख्ने उनले मनोचिकित्सा विषयमा स्नातकोत्तर गर्ने योजना बनाएकी छन् ।
पढ्नुहाेस्: