एमाले विवाद : नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला ओली गलाउने रणनीति !
गुटगत भेला र समानान्तर संगठनात्मक अभ्यास मार्फत एमालेको माधव नेपाल समूह अध्यक्ष केपी शर्मा ओलीलाई गलाउने रणनीतिमा छ। तर, नेपाल समूहको यस्तो गतिविधि एमाले विभाजनको कारण बन्न सक्छ।
एमालेका तीन समूहले मंगलबार तीन ठाउँमा आआफ्ना पक्षका भेला गरे। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरे। सोही समयमा माधव नेपाल समूहले ललितपुरको सानेपास्थित होटल हेरिटेजमा पत्रकार सम्मेलनको आयोजना गर्यो।
नेपाल समूहले ४–५ चैतमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला पनि सोही स्थानमा हुने भएकाले त्यहाँ सो समूहका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो। अर्का नेता वामदेव गौतमले पनि मंगलबार नै बल्खुमा एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको बैठक गरे।
सर्वोच्च अदालतले २३ फागुनमा साबिक नेकपालाई बदर गरिदिएपछि ब्युँतिएको एमाले अहिले इतिहासकै सबैभन्दा ठूलो संकटबाट गुज्रिरहेको छ। नेतापिच्छेका गुटगत भेला जारी छन्। कुनै वेला मुलुकको सबैभन्दा सुव्यवस्थित संगठन र कार्यकर्ता परिचालनमा अब्बल एमाले अहिले अन्तरकलहका कारण विभाजनको बाटोमा छ। गौतम पक्षको भेलाले त्यति ठूलो अर्थ नराखे पनि नेपाल र ओली पक्षका भेलाले भने एमालेलाई स्खलित बनाउँदै लगेकाे छ।
केपी ओली र माधव नेपालबीच तीन महिनादेखिको संवादहीनताको अवस्था १ चैतमा तोडिएको थियो। नेताहरूबीच भएको सामूहिक छलफलले कार्यकर्ताहरूबीच सकारात्मक उत्साह पैदा गरेको थियो। तर, यो उत्साह धेरै समय टिकेन। झन्डै तीन घण्टासम्म छलफलमा बसेर उठेका नेताले आआफ्ना समूहका पूर्ववत् कार्यक्रमलाई निरन्तरता दिए। अब नेपाल र ओली पक्षको मिलन धेरै टाढा पुगेको अनुमान छ।
नेपाल पक्षले २८ फागुनमा ओली पक्षीय केन्द्रीय कमिटीले गरेको निर्णयलाई खारेज गर्नुपर्ने विषय राखेको थियो। तर, ओली पक्ष तयार भएन। विनासहमति बाहिरिएको नेपाल पक्षले ३ चैतमा प्रधानमन्त्रीले आयोजना गरेको चियापन कार्यक्रम बहिष्कारको घोषणा गर्यो। ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला पनि नरोक्ने बताए। अध्यक्ष ओलीले राष्ट्रिय भेला नगर्न नेपाल समूहलाई आग्रह गरेका थिए।
अडानमा दुवै समूह
एमालेमा गुटगत भेला नयाँ होइन। यस्तो अभ्यास एमालेको छैठौं महाधिवेशनदेखि हुन थालेको हो। नेपालगञ्जमा भएको छैठौं महाधिवेशनअघि वामदेव गौतम, सीपी मैनाली, सहाना प्रधान लगायतका फरक मत पक्षधरले बुटवलमा भेला गरेका थिए। एमालेको नवौं महाधिवेशनमा पनि नेपाल र ओली समूहले देशव्यापी रूपमा आआफ्ना पक्षका भेलाहरू गरेका थिए।
त्यसकारण भेला गर्दैमा पार्टी विभाजन हुन्छ भन्नु हतार भए पनि यसपटकको परिदृश्य फरक छ। यसअघिका गुटगत भेला महाधिवेशन लक्षित हुन्थे। सम्पूर्ण विवादित विषय महाधिवेशनसम्म पुग्थे। तर, अहिलेको गुटगत भेलाले भने पार्टी विभाजनलाई बल पुर्याइरहेको छ।
“मिल्ने सम्भावना एकदमै न्यून छ,” नेपाल पक्षीय नेता योगेश भट्टराई भन्छन्, “हाम्रो ठूलो माग नै होइन। २ जेठ २०७५ अघिको अवस्थामा फर्कौँ भन्ने हो। त्यसमा अध्यक्ष ओली तयार हुनुपर्यो। त्यसो हुँदा मात्र एमाले सग्लो हुनसक्छ।”
एमालेका दुवै पक्षका नेता मिलनको सम्भावना एकदमै कम भएको बताउँछन्। “मिल्ने सम्भावना एकदमै न्यून छ,” नेपाल पक्षीय नेता योगेश भट्टराई भन्छन्, “हाम्रो ठूलो माग नै होइन। २ जेठ २०७५ अघिको अवस्थामा फर्कौँ भन्ने हो। त्यसमा अध्यक्ष ओली तयार हुनुपर्यो। त्यसो हुँदा मात्र एमाले सग्लो हुनसक्छ।”
यता ओली पक्षीय नेताहरू नेपाल पक्षले शुरूदेखि नै पार्टीमा गुटको राजनीति गरेको र पछिल्लो समय बाध्यताले मात्र एमालेमा आएको ठान्छन्। विघटित नेकपाको अध्यक्ष पुष्पकमल दाहाल समूहमा लागेको र अहिले प्राविधिक कारण मात्र आएकाले उनीहरूलाई कमजोर बनाएर अघि बढ्नुपर्ने मनस्थितिमा ओली समूह छ। त्यति मात्र नभई नेपाल समूह अन्ततः एमालेमा शक्ति सञ्चय गरेर पुनः दाहालतिरै मिसिन जाने बुझाइ ओली पक्षको छ।
एमाले स्थायी समिति सदस्य एवं ओली पक्षका नेता सत्यनारायण मण्डल माधव नेपालको मन अहिले पनि माओवादी केन्द्रतिरै रहेको बताउँछन्। “माधव नेपालले शुरूदेखि नै अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै आउनुभयो, त्यसमा आत्मालोचना नगर्ने अनि २८ फागुनको मात्र कुरा गरेर हुँदैन,” उनी भन्छन्, “उहाँहरू त बाध्यताले फर्कनुभएको हो। १९ पन्ने आरोप पत्र दर्ता गर्ने, अध्यक्षलाई साधारण सदस्यबाट निकालेको हिसाब हुनु नपर्ने ?”
नेपाल समूहको मुख्य असहमति २८ फागुनमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ केन्द्रीय सदस्यको मनोनयन र जिम्मेवारी बाँडफाँडप्रति छ। नेपाल समूहका नेता तथा एमाले सचिव योगेश भट्टराई माओवादीबाट आएकालाई मनोनयन गर्ने विषयमा आफूहरूको विमति नरहे पनि प्रक्रिया नमिलेको बताउँछन्। “माओवादीबाट एमालेमा आएका साथीहरूलाई मनोनयन नगरौं भनेर भन्दैनौं, तर एकल बैठकबाट गर्नु हुँदैन भन्ने हाम्रो माग हो,” भट्टराई भन्छन्।
गलाउने रणनीतिमा नेपाल समूह
एमालेमा दुई समूहको अहंकार नै अहिलेको समस्या हो। सर्वोच्च अदालतको फैसलापछि रक्षात्मक अवस्थामा पुगेको नेपाल समूहको मनस्थिति तत्काल पार्टीलाई विभाजन गर्ने भन्ने छैन। तर, गुटगत भेलाको आयोजना र नयाँ अजेन्डामा बार्गेनिङ गर्दै ओली पक्षलाई गलाएरै २ जेठ २०७५ को अवस्थामा ल्याउने नेपाल पक्षको रणनीति देखिन्छ।
नेपाल पक्षीय नेता भट्टराई पार्टीलाई एक बनाउन भेलाको आयोजना गरिएको बताउँछन्। “हामी एमाले नै हौं, एमालेमै बसेर संघर्ष गर्छौं, पार्टी विभाजन हाम्रो उद्देश्य होइन,” उनी भन्छन्, “एमाले छोडेर माओवादीसँग एकता गर्न जान्छन् भन्ने कुरा पनि भ्रम हो।”
नेपाल समूहका अर्का एक केन्द्रीय सदस्य पनि ४ र ५ गतेको भेला दबाबका लागि आयोजना गरिएको बताउँछन्। नेपाल समूहले पार्टी विभाजनको उद्देश्य नभएको बताए पनि समानान्तर पार्टी सञ्चालनको अभ्यास र उसका गतिविधिले पार्टी जानी नजानी विभाजनको अवस्थामा जाने निश्चित छ। त्यसको छनक प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा आयोजना गरेको चियापन कार्यक्रममा दिएका छन्। “एमालेमा भाँडभैलो चल्दैन, अन्यथा कानून र विधान अनुसार हुनेछ।”