ओडीआईका तीन वर्ष : कति खेल, कस्तो नतीजा ?
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको तीन वर्षमा थोरै मात्रै खेल खेल्न पाएको छ र, नतीजा औसत छ। जम्मा १० ओडीआई खेल्दा नेपालले पाँच वटामा जित हात पारेको छ। जसमध्ये तीन जित विदेशी भूमिमा निकालेको हो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाएको १३ महीना भयो। पछिल्लो पटक विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध खेलेको थियो। त्यसमा अमेरिकालाई ३५ रनमा अलआउट गरेको नेपाल आठ विकेटले विजयी भएको थियो।
त्यसपछि कोभिड–१९ महामारीका कारण विश्वका अधिकांश देश बन्दाबन्दीमा गए भने अन्तर्राष्ट्रिय उडान ठप्प भए। जसले खेल गतिविधि पनि रोकियो। यही कारण विश्वकप लिग–२ अन्तर्गतका नेपालले खेल्ने तीन वटा ओडीआई शृंखला रोकिए। यदि महामारी नहुँदो हो त नेपालले यो तीन वर्षमा कम्तीमा २२ वटा ओडीआई खेलिसकेको हुन्थ्यो।
क्रिकेट गतिविधि रोकिनुअघि नेपालले दुई वर्षमा खेलेका १० ओडीआईमध्ये सबैभन्दा बढी यूएईसँग खेलेको छ। यूएईसँग खेलेका चारमध्ये दुई खेलमा जित र त्यति नै हार छ। ओमानविरुद्ध भने नेपालले दुवै खेलमा हार व्यहोरेको छ। विश्वकप लिग–२ अन्तर्गतका दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएका थिए।
त्यस्तै नेदरल्यान्ड्ससँग भएका दुई खेलमध्ये जित–हार बराबरी छ। अमेरिकाले भने ओडीआईमा नेपाललाई हराउन सकेको छैन। घरेलु मैदानमा भएका विश्वकप लिग–२ अन्तर्गतका दुवै खेल नेपालले जितेको थियो।
नेपालले १० ओडीआईमा पाँच पटक पहिला ब्याटिङ र पाँच पटक पहिला फिल्डिङ गरेको छ। पहिला ब्याटिङ गरेकामध्ये तीन खेलमा जित हासिल गरेको छ। अर्थात्, पहिला ब्याटिङ गर्दा नै बढी सफलता प्राप्त भएको छ।
नेपालले ६ पटक टस जितेको छ। जसमध्ये चार पटक पहिला फिल्डिङको निर्णय गरेको छ। ती चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेकोे छ। तर, दुई पटक ब्याटिङको निर्णय गर्दा दुवै पटक नेपालले जितेको छ।
नेपालले चार पटक टस हार्दा विपक्षी टीमले एक पटक फिल्डिङ र तीन पटक ब्याटिङ गराएको छ। जसमा नेपालले एउटामा जित निकालेको छ भने तीन वटामा हार व्यहाेरेको छ।
नेपालले अहिलेसम्म ओडीआईमा बनाएको सबैभन्दा ठूलो योगफल २५६/६ हो। २८ जनवरी २०१९ मा दुबईमा भएको खेलमा पहिला ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा २५४ बनाएको थियो। जवाफमा नेपालले ४४.४ ओभरमा ६ विकेटकै क्षतिमा २५६ रन बनाएको थियो। यो खेलमा पारस खड्का ११५ रन बनाउँदै ओडीआईमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
पहिलो इनिङमा भने नेपालले अहिलेसम्म बनाएको ठूलो योगफल २४९ रन हो। कीर्तिपुरमा विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध आठ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। तर, नेपालले यो खेल गुमाएको थियो। यो खेलमा ओमानका अकिब इलियासले शतक बनाएका थिए।
यही प्रतियोगितामा अमेरिकाविरुद्ध भने पहिलो इनिङमा १९० रन बनाएर पनि जित हासिल गरेको थियो। यो नै नेपालले रक्षा गरेको सबैभन्दा कम योगफल हो।
नेपालले बनाएका कीर्तिमान
ओडीआई मान्यता पाएको छोटो अवधिमा नै नेपालले केही विश्व कीर्तिमान बनाएको छ। यी कीर्तिमान पनि नेपाल चिनाउने माध्यम बनेका छन्।
कुशल मल्लले ओडीआईमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान बनाएका छन्। उनले विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा ६ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध भएको खेलमा ५१ बलमा ५६ रन बनाएका थिए। त्यति वेला उनी १५ वर्ष ३४० दिनका थिए। उनले डेब्यु खेलमा नै अर्धशतक बनाएका हुन्।
यसअघि यो कीर्तिमान नेपालकै रोहित पौडेलको नाममा थियो। उनी पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमान भंग गर्दै अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी भएका थिए। उनले २६ जनवरी २०१९ मा युएईविरुद्ध दुबईमा ५५ रन बनाएका थिए। त्यति वेला उनको उमेर १६ वर्ष १४६ दिन थियो। अफ्रिदी यो रेकर्ड बनाउँदा १६ वर्ष २१७ दिनका थिए।
ओडीआईमा डेब्यू गर्ने रोहित विश्वकै पाँचौं कान्छो खेलाडी हुन्। उनी ३ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दा १५ वर्ष ३३५ दिनका थिए। कुशल मल्ल पनि डेब्यू गर्ने विश्वकै छैटौं कान्छो खेलाडी हुन्।
नेपालले विपक्षीलाई सबैभन्दा कम योगफलमा समेट्ने कीर्तिमानको पनि बराबरी गरेको छ। विश्वकप लिग–२ अन्तर्गत १२ फेब्रुअरी २०२० मा कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई जम्मा ३५ रनमा अलआउट गरेको थियो। यो खेलमा सन्दीप लामिछानेले १६ रन दिँदै ६ विकेट लिएका थिए भने सुशन भारीले पाँच रन दिएर चार विकेट लिएका थिए। सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई ३५ रनमै अलआउट गरेको थियो।
क्रिकेटको अबको लक्ष्य
प्रशिक्षक जगत टमाटा नेपालसँग क्षमतावान् खेलाडी धेरै भएको बताउँछन्। तर, भौतिक पूर्वाधार अभाव र पर्याप्त खेल नहुँदा खेलाडीले ‘एक्सपोज’ नपाएको उनको भनाइ छ। टमाटा भन्छन्, “भारतमा वर्षमा हजारभन्दा बढी खेल हुन्छन्। हाम्रोमा १०–१२ वटा खेल हुन्छन्। एउटा खेलाडीले वर्षमा चार–पाँच वटा खेल खेलेर आफ्नो क्षमता देखाउन सक्दैन। बढीभन्दा बढी खेल खेल्न दिनुपर्छ।”
नेपालको अबको लक्ष्य ओडीआई स्टेटस जोगाउने र २०२३ को विश्वकपमा छनोट हुने नै रहेको टमाटा बताउँछन्। तर, त्यसका लागि निरन्तर तयारी गरिरहनुपर्ने उनको भनाइ छ। अहिले नयाँ प्रशिक्षक डेभ ह्वाटमोर आउँदा सबै खेलाडी ‘एक्साइटेड’ भएको उनी बताउँछन्। प्रशिक्षक ह्वाटमोरले पनि अबको आफ्नो लक्ष्य ओडीआईलाई निरन्तरता दिनु नै भएको बताइसकेका छन्।
नेपाली क्रिकेट टोलीका म्यानेजर विनोद दास ओडीआई मान्यतालाई निरन्तरता दिन नसके नेपालको क्रिकेट अरू ५–१० वर्ष पछि धकेलिने बताउँछन्। त्यसैले अहिले घरेलु क्रिकेटमा जतिसक्दो ५० ओभरको खेल खेलाउने प्रयास गरिएको उनको भनाइ छ।
नेपालले आगामी दुई वर्षमा कम्तीमा ३२ ओडीआई खेल्दैछ। विश्वकप लिग–२ अन्तर्गत खेल्ने ३६ मध्ये अहिलेसम्म चार खेल मात्र खेलेको छ। जसमा नेपालले दुईमा जित र दुईमा हारसहित चार अंक पाएको छ। लिग–२ मा भएका सात देशमध्ये नेपालले सबैभन्दा कम खेल खेलेको हो। सातौं स्थानमा रहेको पपुवा न्यू गिनीले आठ खेल खेल्दा कुनै पनि खेल जितेको छैन। नेपाल भने छैटौं स्थानमा छ।
प्रशिक्षक टमाटा टेस्ट मान्यता पाउनका लागि भौतिक संरचना र बजार पनि हुनुपर्ने बताउँछन्। त्यसैले बहुदिवसीय खेलसँगै भौतिक संरचना विकासलाई ध्यान दिएमा अबको एक दशकपछि टेस्ट मान्यता पाउन सक्ने उनको विश्वास छ।
पूर्वक्रिकेटर तथा बागमती क्रिकेट एसोसिएसनका अध्यक्ष राजु बस्न्यात नेपालको लक्ष्य टेस्ट क्रिकेट खेल्ने हुनुपर्ने बताउँछन्। तर, त्यसका लागि लामो स्वरूपको क्रिकेटलाई जिल्ला तहदेखि नै खेलाउनुपर्ने उनको भनाइ छ। यसले खेलाडीमा आत्मविश्वास बढाउने र एकदिवसीयलाई पनि अझ निखार्ने उनी बताउँछन्।
तर, प्रशिक्षक टमाटा टेस्ट मान्यता पाउनका लागि भौतिक संरचना र बजार पनि हुनुपर्ने बताउँछन्। त्यसैले बहुदिवसीय खेलसँगै भौतिक संरचना विकासलाई ध्यान दिएमा अबको एक दशकपछि टेस्ट मान्यता पाउन सक्ने उनको विश्वास छ। तर, त्यसका लागि नेपाली क्रिकेटलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लक्ष्य टेस्ट क्रिकेटको भए पनि अहिले ५० ओभरको खेलमै ध्यान केन्द्रित गरेको बताउँछन्। सन् २०२१ मा ५० ओभरका खेलहरू मात्र गर्ने र अर्को वर्ष मात्र बहुदिवसीय क्रिकेट शुरू गर्ने उनी बताउँछन्। चन्द भन्छन्, “अहिले हाम्रो लक्ष्य ओडीआई मान्यतालाई कायम राख्ने नै हो। त्यसबाहेक अरू सोचेको छैन। बरु बाहिरका बलिया टीम बोलाएर अभ्यास खेलहरू खेलाउने योजना बनाउँदैछौँ।”