२२ वर्षमा नेपाली क्रिकेटले मारेको फड्को
सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मलेसिया जाँदा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसिएट सदस्य पनि थिएन। त्यसको २२ वर्षपछि आजकै दिन १५ मार्च २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो।
“करण (केसी)को त्यो मिराकल गेम (चामत्कारिक खेल) थियो। मेरो आँखामा अहिले पनि झझल्को छ। त्यो म्याच नजितेको भए हामी यो ठाउँमा हुँदैनथ्यौं,” प्रशिक्षक जगत टमाटाले क्यानाडाविरुद्ध नेपालले खेलेको खेल यसरी सम्झिए।
त्यो १४ फेब्रुअरी २०१८ मा नामिबियामा भएको डिभिजन–२ अन्तर्गत क्यानाडाविरुद्धको खेल थियो। क्यानाडा र नामिबियासँगै नेपालको समान ६ अंक थियो। चार अंक भएको युएई नामिबियाविरुद्ध खेल्दै थियो। चार वटै देशमध्ये नेपालको रनरेट सबैभन्दा कमजोर थियो। त्यसैले जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा पुग्न र ओडीआईको सम्भावना कायम राख्न जितभन्दा अर्को विकल्प थिएन।
टस जितेर फिल्डिङ गरेको नेपालले क्यानाडालाई १९४ रनमा रोक्न सफल भयो। तर, ब्याटिङको शुरूआत गतिलो भएन। ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकर सस्तैमा बाहिरिंदा नेपाल दबाबमा पर्यो। २६ रन बनाएका आरिफ शेख नवौं विकेटका रूपमा बाहिरिँदा नेपालको १४४ रन थियो। जितका लागि ४७ बलमा ५१ रन आवश्यक थियो। क्यानाडाका खेलाडीले खुसी मनाउन थालिसकेका थिए।
तर, करण केसीले धैर्य गुमाएनन्। उनी क्रिजमा डटेर खराब बलमा चौका र छक्का हान्न थाले। अर्को ‘एन्ड’बाट सन्दीप लामिछानेले साथ दिइरहे। अन्तिम ओभरमा आठ रन आवश्यक थियो। पहिलो चार बलमा करणले रन बटुल्न सकेनन्। पाँचौं बलमा भने छक्का प्रहार गरे। अन्तिम बलमा दुई रन लिँदै नेपाललाई जित दिलाए।
करणले ३१ बलमा ४२ रन बनाएका थिए। त्यसक्रममा उनले चार छक्का र तीन चौका प्रहार गरे। अर्कोतर्फ सन्दीप लामिछानेले १८ बलमा पाँच रन बनाएर पनि परिपक्व साथ दिए।
“हाम्रो ब्याटिङ कोल्याप्स (धराशायी) भएको थियो, ५१ रन चाहिएको अवस्थामा एक विकेट बाँकी थियो। करणले एक, दुई छक्का हानेपछि भने आशा पलाएको थियो, किनभने उसमा त्यो क्षमता थियो। अर्को विकेटबाट सन्दीपले पनि गतिलो साथ दिएको हो,” त्यो खेलका उपकप्तान र हाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्।
त्यसपछि विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीको समूहगत चरणमा प्रदर्शन राम्रो भएन। नेपालले जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानसँग लगातार हारको सामना गर्यो। अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि नेपाल प्लेअफतिर धकेलियो। र, १५ मार्च २०१८ मा भएको प्लेअफको पहिलो खेलमा पपुवा न्यू गिनीलाई ६ विकेटले हराउँदै अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पायो।
त्यो पहिलो प्रतियोगिता
नेपालले क्रिकेट संघ स्थापना भएको ५० वर्षपछि २०५३ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको थियो। एसियाली क्रिकेट परिषद् (एसीसी) ले एसियाका टेस्ट नखेल्ने देशबीच सन् १९९६ मा एसीसी ट्रफी प्रतियोगिता शुरू गरेको थियो। यो प्रतियोगिता नेपालका लागि किन पनि महत्त्वपूर्ण थियो भने, यहाँको प्रदर्शनका आधारमा नेपालले आईसीसीमा एसोसिएट सदस्यको दाबी गर्न सक्थ्यो।
मलेसियामा हुने प्रतियोगिताका लागि नेपालले पहिलो पटक आधिकारिक राष्ट्रिय टीम बनायो। टीममा एलबी क्षेत्री, पवन अग्रवाल, जगत टमाटा, राजु खड्का, किरण राणा लगायत थिए। कप्तान उत्तम कर्माचार्य थिए।
मलेसियामा हुने प्रतियोगिताका लागि नेपालले पहिलो पटक आधिकारिक राष्ट्रिय टीम बनायो। टीममा एलबी क्षेत्री, पवन अग्रवाल, जगत टमाटा, राजु खड्का, किरण राणा लगायत थिए। कप्तान उत्तम कर्माचार्य थिए।
यही प्रतियोगिताका लागि दुई विदेशी प्रशिक्षकलाई पनि ल्याइएको थियो। भारतका वीरेन्द्र भटनाकर र पाकिस्तानका फारुख जमाल। प्रतियोगितामा पहिलो खेल नेपालले बाङ्लादेशविरुद्ध खेलेको थियो। त्यो वेला बाङ्लादेशले टेस्ट मान्यता पाइसकेको थिएन।
वर्षाले अवरुद्ध पहिलो खेलमा नेपाल ‘फास्ट स्कोरिङ रेट’ का आधारमा बाङ्लादेशसँग पराजित भयो। ‘डर्क वर्थ लुइस’ नियम आइसकेको थिएन। नेपालले निकै सुस्त ब्याटिङ गर्दै ३९ ओभरमा जम्मा ९० रन बनाएको थियो।
“त्यति वेला नेपालमा ३०/३५ ओभरभन्दा माथिका खेलै नहुने। हामीलाई पूरै ओभर खेल्न सकिन्छ सकिँदैन भन्ने चिन्ता थियो। क्यानले पनि कमसेकम ५० ओभर टिकेर खेल्न निर्देशन दिएको थियो,” तत्कालीन कप्तान उत्तम कर्माचार्य भन्छन्, “खासमा हामीले खेल्न सक्छौँ भन्ने देखाउनु थियो। आईसीसीबाट एसोसिएट सदस्यको मान्यता पाउन त्यो जरुरी थियो।”
त्यही प्रतियोगितामा नेपालले पहिलो अन्तर्राष्ट्रिय जित हात पारेको थियो। दोस्रो खेलमा नेपालले जापानलाई सहजै आठ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको जापानले ३३ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्र बनाएको थियो।
उत्तम कर्माचार्यले पहिलोपटक २०३७ सालमा राष्ट्रिय प्रतियोगिताका रूपमा जय ट्रफी खेलेका थिए। त्यो समय जनकपुरको बाह्रबिघामा मात्र क्रिकेट खेल्ने राम्रो मैदान थियो। त्यसमा पनि म्याट ओछ्याएर खेल्नुपथ्र्यो। क्रिकेट व्यावसायिक भएको थिएन।
“२०५७ सालमा अन्तिम पटक जय ट्रफी हुँदा मैले टर्फ विकेटमा खेलेको थिएँ। जीटीभीले टीयू क्रिकेट ग्राउन्डमा टर्फ विकेट बनाइदिएको थियो। काठमाडौंबाहिर त कार्पेट ओछ्याएर नै खेलिन्थ्यो,” कर्माचार्य भन्छन्।
जुनियर क्रिकेटमा फड्को
नेपाललाई क्रिकेट खेल्ने देशका रूपमा भने १९ वर्षमुनि (यू–१९)को क्रिकेटले चिनाएको हो। सन् २००० मा नै नेपाल १९ वर्षमुनिको विश्वकपमा छनोट भएको थियो। श्रीलंकामा भएको यो विश्वकपमा वर्षाका कारण नेपालले दक्षिण अफ्रिका र पाकिस्तान जस्ता बलिया देशसँग अंक बाँड्यो। केन्यालाई पराजित गरेपछि दोस्रो चरणमा पुगेको थियो।
२००६ को विश्वकपमा त नेपाल प्लेट च्याम्पियन नै बन्यो। त्यसक्रममा नेपालले दक्षिण अफ्रिका र न्यूजिल्यान्डजस्ता टेस्ट मान्यताप्राप्त देशलाई पराजित गरेको थियो। नेपाली टोलीले फाइनलमा पराजित गरेको न्यूजिल्यान्डको टीममा मार्टिन गुप्तिल, टिम साउथी, कोलिन मुन्रो जस्ता खेलाडी थिए।
त्यसपछि नेपाल लगातार २००२, २००४, २००६ र २००८ को १९ वर्षमुनिको विश्वकपमा छनोट भयो। २००६ को विश्वकपमा त नेपाल प्लेट च्याम्पियन नै बन्यो। त्यसक्रममा नेपालले दक्षिण अफ्रिका र न्यूजिल्यान्डजस्ता टेस्ट मान्यताप्राप्त देशलाई पराजित गरेको थियो। नेपाली टोलीले फाइनलमा पराजित गरेको न्यूजिल्यान्डको टीममा मार्टिन गुप्तिल, टिम साउथी, कोलिन मुन्रो जस्ता खेलाडी थिए।
उक्त प्रतियोगितामा कनिष्क चौगाईं नेपालका कप्तान थिए। टीममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, अमृत भट्टराई, महेश क्षेत्री, यशवन्त सुवेदी, रतन रौनियार, राज श्रेष्ठ, प्रेम चौधरी, शशी केसरी जस्ता खेलाडी संलग्न थिए।
न्यूजिल्यान्डविरुद्धको खेलमा वसन्त रेग्मी म्यान अफ दी म्याच बने। उनले नेपालबाट सर्वाधिक ६६ रन बनाउनुका साथै तीन विकेट लिएका थिए। त्यसपछि नेपालले २००८, २०१२ र २०१६ को यू–१९ विश्वकप क्रिकेट खेलिसकेको छ। तर, २००६ को जस्तो प्रभावशाली छाप छाड्न सकेको छैन।
कप्तान ज्ञानेन्द्र मल्ल नेपालको जुनियर क्रिकेट जहाँको त्यहीँ हुँदा उत्साहजनक नतिजा नआएको बताउँछन्। उनी भन्छन्, “अरू देश ‘ग्रास रुट’ क्रिकेटमा केन्द्रित भए। भारतमा रणजीमा दुई सय, तीन सय रन हानेका खेलाडी वल्र्डकप खेल्न आउँछन्। तर, हामी वर्षमा कति म्याच खेल्छौँ?”
टेस्टबाहेकका देशले पनि समुदायस्तरमा क्रिकेटमा काम गर्न थालेपछि उनीहरू बलियो भएर आएको राष्ट्रिय टोलीका पूर्व सदस्य तथा बागमती प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष राजु बस्न्यात बताउँछन्। “पहिला हामी मलेसिया, थाइल्यान्ड, हङकङ, सिंगापुर, युएईसँग प्रतिस्पर्धामा थियौँ। उनीहरूसँग समुदायस्तरमा क्रिकेट थिएन। बितेको १० वर्षमा तल्लो तहसम्म क्रिकेट सञ्चालन गरेर उनीहरूले उमेर समूह बलियो बनाए। नेपालमा भने त्यो अवधिमा कुनै काम भएन,” बस्न्यात भन्छन्।
सन् २०१७ मा भएको १९ वर्षमुनिको एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। जसमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले ८८ रन बनाउनुका साथै चार विकेट लिएका थिए। साँघुरो हार र वर्षा बाधक हुँदा नेपाल जुनियर विश्वकपमा छनोट हुन नसकिरहेको बस्न्यात बताउँछन्।
‘टर्निङ पोइन्ट’
सन् २०१८ मा नामिबियामा नेपालले क्यानाडाविरुद्ध खेलेको खेललाई क्रिकेटको ‘टर्निङ पोइन्ट’ मान्नेहरू धेरै छन्। तर, प्रतियोगिताकै रूपमा भने डिभिजन–५ नेपालका लागि ‘टर्निङ पोइन्ट’ भएको पूर्व कप्तान तथा म्यानेजर विनोद दास बताउँछन्।
उनी भन्छन्, “हामीलाई डिभिजन–५ पार गर्न समस्या भएको थियो। एकपटक मेरो र एकपटक पारस खड्काको कप्तानीमा खेलेका थियौं। २०१० मा डिभिजन–५ पार भएपछि २०१५ सम्म हामीले धेरै फड्को मारेका थियौं।” तर, यी सबै उपलब्धिको जग १९९६ यताका खेलहरू भएको उनी बताउँछन्।
दासले भने जस्तो सन् २०१० पछि नेपालले लगातार फड्को मार्दै गयो। सन् २०११ मा प्रशिक्षक भएर पुबुदु दासानायके नेपाल आएपछि लगातार उकालो लागेको हो। त्यसपछि नै नेपाल सन् २०१२ मा डिभिजन–४ च्याम्पियन भयो। सन् २०१३ र २०१४ मा लगातार डिभिजन–३ च्याम्पियन भयो।
सन् २०१४ मा नै नेपालले टी–२० विश्वकप समेत खेलेको थियो। विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरेर नेपालले सनसनी मच्चाएको थियो।
कप्तान ज्ञानेन्द्र मल्ल पनि नेपाली क्रिकेट टीमलाई दासानायकेले नै गति दिएको बताउँछन्। “पुबुदु सरले सपना देखाउनुहुन्थ्यो, मोटिभेसन गर्नुहुन्थ्यो। त्यसैले उहाँ आउनु नेपाली क्रिकेटको टर्निङ पोइन्ट भयो,” उनी भन्छन्, “तर, नेपालमा क्रिकेटको जग बसाउने जस भने रोय डायस सरलाई जान्छ।”
“पुबुदु सरले सपना देखाउनुहुन्थ्यो, मोटिभेसन गर्नुहुन्थ्यो। त्यसैले उहाँ आउनु नेपाली क्रिकेटको टर्निङ पोइन्ट भयो, तर, नेपालमा क्रिकेटको जग बसाउने जस भने रोय डायस सरलाई जान्छ।”
मल्लको भनाइसँग पूर्व क्रिकेटर शक्ति गौचन पनि सहमत छन्। उनी रोय डायसले नेपाली क्रिकेटलाई समुदायस्तरसम्म पुर्याएको र पुबुदु दासानायकेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा दिएको बताउँछन्।
रोय डायस सन् २००१ मा नेपाल आउनु एक वर्षअघि नै नेपालले यू–१९ क्रिकेट खेलिसकेको थियो। डायसले २००६ मा नेपाललाई प्लेट च्याम्पियन बनाए। त्यहींबाट नेपाली क्रिकेटले जित्न सिकेको पूर्व क्रिकेटर गौचन बताउँछन्।
अहिलेसम्म नेपाली क्रिकेट हाँक्न डेभ ह्वाटमोरसहित १४ विदेशी प्रशिक्षक आइसकेका छन्। ती भारतीय, पाकिस्तानी, श्रीलंकन र अस्ट्रेलियन छन्। पूर्व विदेशी प्रशिक्षकमध्ये नेपाली क्रिकेट प्रेमीले रोय डायस र पुबुदु दासानायकेलाई मात्र सम्झिने गरेका छन्।
उनीहरू लामो समय बसेर काम गर्न पाएका कारण नतिजा प्राप्त भएकाले चर्चामा रहेको प्रशिक्षक जगत टमाटा बताउँछन्। “नतिजा सबैभन्दा ठूलो कुरा हो। सबैभन्दा लामो समय रोय डायस बस्नुभयो। पुबुदु सर चार, पाँच वर्ष बस्नुभयो। अरू कोच छोटो समय मात्र बसेकाले पनि हुनसक्छ, सोचेजस्तो नतिजा देखिएन,” उनी भन्छन्।