एकतर्फी बहस सुनेर सिद्धबाबालाई बलात्कार मुद्दामा सफाइ दिने कोइराला उच्च अदालतको न्यायाधीश सिफारिश
बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई एकतर्फी बहस सुनेर सफाइ दिने सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतको न्यायाधीशका लागि सिफारिशमा परेका छन्।
शुक्रबार (२८ फागुनमा) न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्त १८ न्यायाधीश पदमा सात जना जिल्ला न्यायाधीशलाई सिफारिश गर्दा कोइराला परेका हुन्। न्याय परिषद्को निर्णयअनुसार उनलाई उच्च अदालत जनकपुरको वीरगंज इजलासका लागि सिफारिश गरिएको छ।
न्यायाधीश कोइरालाले बलात्कार अभियोग लागेका गिरीका वकीलको मात्रै बहस सुनेर उनलाई गत २२ मंसीरमा सफाइ दिने फैसला गरेका थिए। फैसलाको पूर्णपाठमा गिरीले बलात्कार गरेको नभई पीडित भनिएकी महिलाले शरीर समर्पण गरेका कारण सहमतिमै यौन–सम्बन्ध भएको पाइएको उल्लेख छ।
गिरीलाई सफाइ दिने फैसला गर्दा न्यायाधीश कोइरालाले पीडितको तर्फबाट बहस समेत सुनेका थिएनन्। सुनसरी जिल्ला अदालतका सरकारी वकीलले मिसिलसँग सम्बन्धित फाइल थुनछेक बहसका लागि सर्वोच्च अदालत पठाइएको भन्दै उक्त दिनको सुनुवाइ स्थगन गर्न माग गरेका थिए। तर, न्यायाधीश कोइरालाले उक्त अनुरोध अस्वीकार गरेपछि सरकारी वकीलले बहस गरेका थिएनन्।
न्यायाधीश कोइराला सरकारी वनलाई हाउजिङ कम्पनीका नाममा सार्न आदेश दिएको अर्को विवादमा पनि मुछिएका व्यक्ति हुन्। कोइरालाले काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बाडभञ्ज्याङमा पर्ने सार्वजनिक वन निजी हाउजिङ कम्पनीको नाममा दर्ता गराउने कार्यमा संलग्न व्यक्तिलाई मेलमिलाप गराएर छाडेका थिए।
उक्त सार्वजनिक जग्गा व्यक्तिले हडपेपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। न्यायाधीश कोइरालाकाे आदेश विवादास्पद रहेकाे अख्तियारले गरेको छानबिनका क्रममा खुलेको थियो। अख्तियारले उक्त घटनामा मुछिएका अन्य व्यक्तिका विरुद्ध मुद्दा चलाए पनि न्यायाधीशमाथि भने क्षेत्राधिकार अभावमा छानबिन गर्न पाएको थिएन।