बाँध सुरक्षामा मलेसियाको अभ्यास, नेपाललाई पाठ
अघिल्लो साता हिमनदी विस्फोटपछि भारतको उत्तराखण्डस्थित धौलीगंगा नदीमा आएको बाढीले निर्माणाधीन ऋषिगंगा जलविद्युत् आयोजनाको बाँध बगायो। यसै सन्दर्भमा गत वर्ष मलेसियामा भएकाे बाँध सुरक्षासम्बन्धी सम्मेलनका विषय र त्यहाँकाे अभ्यास नेपाल र भारतजस्ता मुलुकका लागि उपयाेगी छन्।
नोभेम्बर २०१९ मा मलेसियाली सरकारको निमन्त्रणामा ‘क्यानेडियन एक्सपर्ट प्यानल’ को रूपमा मलेसिया जाने अवसर मिल्यो। त्यति बेला ‘क्यानेडेली एक्सपर्ट’ भन्दा पनि मभित्रको ‘नेपाली मान्छे’ खुसी भयो। त्यहाँ मलेसिया र अन्य देशका इन्जिनियरलाई बाँधको सुरक्षा व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्रक्रियाको तालिम दिनु थियो।
नेपालमा पनि त्यस किसिमका विशेषज्ञताहरूको आवश्यकता छ। मैले कुनै दिन नेपालमा त्यस्तै कार्यक्रम गर्ने सपना बुनेँ। किनभने बाँध र सिभिल इन्जिनियरिङको विषयमा २० वर्षदेखि आर्जन गरेको ज्ञान र अनुभवबारे बोल्न वा लेख्न पाउँदा म दङ्ग पर्छु। त्यो मेरो जन्मभूमि देश नेपाल भयो भने पक्कै मभित्र ऊर्जा थपिँदो हो।
मेरो मस्तिष्कमा क्यानाडा र मलेसियाभन्दा बाँध सम्मेलनमा नेपाललाई फाइदा हुने कति कुरा सिक्न पाइएला र त्यो ज्ञान नेपाली बाँध विज्ञहरूसँग कसरी बाँड्न सकिएला भन्ने जिज्ञासा चलिरहेको थियो। मलेसियाली सरकारको संयोजनमा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन ड्याम सेफ्टी एन्ड इन्जिनियरिङ–२०१९’ मा मैले कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो।
हाम्रो टोलीको मुख्य काम क्यानाडाको बाँध सुरक्षा सम्बन्धी नयाँ निर्देशिका तालिम दिनु पनि थियो। २३ देशका इन्जिनियरहरूलाई बाँध सुरक्षा व्यवस्थापन, बाँधबाट हुनसक्ने जोखिम, त्यसको रोकथाम र न्यूनीकरण, आपतकालीन तयारी र उद्धार प्रक्रियामा तालिम दिन पाउनु मेरा लागि गर्वको विषय थियो।
प्राविधिक पक्षमा छलफल र अवलोकन
मलेसियाली सरकारले अन्तर्राष्ट्रिय बाँध सुरक्षाविज्ञहरूसँगको सहकार्यमा गरेको अर्को कार्यक्रममा भने ६५ देशको सहभागिता थियो। यो अन्तर्राष्ट्रिय भेलामा विकासोन्मुख एवं विकसित देशमा बाँध सुरक्षा व्यवस्थापन, बाँधबाट हुनसक्ने जोखिम, त्यसको रोकथाम र न्यूनीकरण, आपतकालीन तयारी र उद्धार प्रक्रियामा हालसालै के कस्ता आदर्श अभ्यास (बेस्ट प्राक्टिस) भएका छन् भन्ने जानकारी पाइयो।
चीनका विज्ञले पहाडी मुलुकमा धेरैजसो ‘सिल्टिङ रिभर बेसिन’का नदीले अधिक मात्रामा गेग्रान र बालुवा थुपार्ने हुँदा बाँध डिजाइनमा विशेष ध्यान दिनुपर्ने बताए। उनीहरूको सुझावले मलाई हाम्रो कोशी बाँधको समस्या सम्झना गरायो।
धेरैजसो एसियाली देशहरूको सहभागिता भएको सम्मेलनमा अत्यधिक प्राकृतिक विपद्हरू (भुइँचालो, बाढी, पहिरो) का कारण बाँध बढी जोखिमपूर्ण भएका राष्ट्रका लागि उपगोगी हुने विषयहरूमा मन्थन भयो। नेपालजस्तै उच्च भूकम्पीय जोखिम भएका इन्डोनेसिया, चीन, कोरिया, भारत, पाकिस्तानले ठूला बाँधका जोखिमलाई कसरी न्यूनीकरण गरेका छन् भन्ने छलफल भयो।
चीनका विज्ञले पहाडी मुलुकमा धेरैजसो ‘सिल्टिङ रिभर बेसिन’का नदीले अधिक मात्रामा गेग्रान र बालुवा थुपार्ने हुँदा बाँध डिजाइनमा विशेष ध्यान दिनुपर्ने बताए। उनीहरूको सुझावले मलाई हाम्रो कोशी बाँधको समस्या सम्झना गरायो।
लाओसका विज्ञले अन्तर्राष्ट्रिय सीमावर्ती बाँधका सबै नियमहरू पालना नभएकाले आफ्नो देशमा बाँध भत्किँदा कम्बोडियासम्मै धनजनको ठूलो क्षति भएको बताए। यसै परिप्रेक्ष्यमा विज्ञहरूले बाँध निर्माणमा अन्तर्राष्ट्रिय प्राविधिक एवं सामाजिक क्षेत्रमा न्यूनतम मानकहरूको पालना एवं राम्रो बाँध सुरक्षा व्यवस्थापन कार्यक्रम लागू गर्नुपर्ने कुरा उदाहणसहित पुष्टि गरे। जसले गर्दा सार्वजनिक सुरक्षामा वृद्धि हुनुका साथै बाँधको योजनादेखि सञ्चालनसम्म आउनसक्ने प्रतिकूल प्रभावका सम्भावना कम हुन्छन्।
उक्त कार्यक्रमको प्राविधिक सत्रमा कोरिया र चीनका विज्ञले सुरक्षित बाँधहरूले देशको राष्ट्रिय समृद्धिमा टेवा दिने विषयलाई कुल गार्हस्थ्य उत्पादनको मापनबाट व्याख्या गरे। अन्य देशका विज्ञहरूले सुरक्षित बाँधले जलविद्युत्, खानेपानी, सिँचाइ, बाढी नियन्त्रण एवं जल पर्यटकीय क्षेत्रमा पुग्ने सहयोगबारे बताए।
अमेरिका, क्यानाडा र अस्ट्रेलियामा असुरक्षित बाँध भत्किएर मानवीय क्षति त भएको छ नै अर्बाैंको नोक्सानी पनि पुगेको छ। यी देशका विज्ञले बाँध सुरक्षाको व्यवस्थापन र बाँधबाट हुने सम्भाव्य जोखिम न्यूनीकरणका अवधारणाहरू प्रस्तुत गरे। उनीहरूले आफ्नो देशले अवलम्बन गरेको बाँधबाट हुने सम्भाव्य जोखिम न्यूनीकरणका अवधारणा पनि प्रस्तुत गरे।
ब्राजिलमा सन् २०१९ मा बाँध भत्किएर २५० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यहाँका प्रतिनिधिका अनुसार बाँध सुरक्षा व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भनेर केही जिम्मेवार उच्च अधिकारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। क्यानाडाका विज्ञहरूको प्यानलले तालिम दिने विषय पनि यही थियो। तालिममा हामीले यिनै उदाहरणलाई जोड दिंदै, सुरक्षित तरिकाले बाँध निर्माण र सञ्चालन हुनसकेमा राष्ट्र, जनता र लगानीकर्ता सबैले पर्याप्त फाइदा लिन सक्ने विषय व्याख्या गर्यौं।
पेनाङभित्र सुन्दर जर्जटाउन शहरको शिरमा अयर इताम बाँध धेरै सावधानीपूर्वक बनाइएको छ। तर, कथंकदाचित् भत्किए पूरै शहर डुबानमा पर्छ। करीब पाँच लाख मानिस घरबारविहीन हुन्छन्। त्यसैले बाँधको सुरक्षा चौबीसै घण्टा सेनाबाट गरिने रहेछ।
क्यानाडामा अभ्यास गरिने बाँध व्यवस्थापन चक्रअनुसार यसका छ चरण हुन्छन्; १. सुदृढ नीति र उद्देश्य, २. स्पष्ट योजना, ३. अनुशासनपूर्ण कार्यान्वयन, ४. निगरानी र मूल्यांकन, ५. परीक्षण, समीक्षा र प्रतिवेदन, ६. निरन्तर सुधार। यसको व्याख्या गर्दा सरकारी वा निजी क्षेत्रका एसियाली बाँध उद्यमीहरूले निकै उत्सुक भएर सुनेका थिए। यस्ता जानकारीहरू भुइँचालो, बाढी र पहिरो बढी जाने तथा कमलो भूभागमा नदीहरू बग्ने नेपालका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ।
खुला र बन्द सत्रमा भएका विज्ञहरूका बहस र सम्मेलनबाहेक कार्यक्रम आयोजकहरूले मलेसियाली सरकारको प्रगति देखाउने तथा मनोरञ्जनात्मक एवं प्राविधिक भ्रमणका कार्यक्रम पनि राखेका थिए। यसै क्रममा हाम्रो टोली अयर इताम बाँधको प्राविधिक भ्रमणमा निस्कियो। अन्तर्राष्ट्रिय ठूला बाँध संयोजनका अध्यक्ष माइकल रजर्ससहितको प्राविधिक टोलीले यो बाँधबारे स्थानीय विज्ञहरूसँग धेरै नै रमाइलो र ज्ञानवर्धक अन्तरक्रिया गर्ने मौका पायो।
पेनाङभित्र सुन्दर जर्जटाउन शहरको शिरमा यो बाँध धेरै सावधानीपूर्वक बनाइएको छ। तर, कथंकदाचित् भत्किए पूरै शहर डुबानमा पर्छ। करीब पाँच लाख मानिस घरबारविहीन हुन्छन्। त्यसैले बाँधको सुरक्षा चौबीसै घण्टा सेनाबाट गरिने रहेछ। पेनाङ टापूकै सबैभन्दा उचाइमा रहेको यो बाँध जर्जटाउन खानेपानीको महत्वपूर्ण पूर्वाधार पनि हो।
त्यहाँ पुगेपछि मलाई हाम्रो कुलेखानी बाँधको सम्झना आयो। हाम्रोजस्तो भू–बनोट भएको देशमा पनि ठूलाठूला बाँधको माथिल्लो तटीय क्षेत्रमा बाढी तथा पहिरो आउँदा, ठूलो भूकम्प जाँदा वा हिमताल भत्कँदा विषम परिस्थिति उत्पन्न हुनसक्छ। त्यसैले बाँधको तल्लो तटीय क्षेत्रमा विशेष निगरानी राख्नुपर्छ। किनभने आवश्यक हुनासाथ तत्काल आपतकालीन उद्धारमा जानुपर्छ, जसका लागि पूर्वतयारीको आवश्यकता पर्छ।
विश्व ब्यांकको बाँध सुरक्षा व्यवस्थापन सल्लाहकार रिचार्ड र म मिलेर लेखेको कार्यपत्र दैवीप्रकोप बढी हुने नेपालजस्ता पहाडी मुलुकका बाँध सुरक्षामा केन्द्रित थियो। यसको विषय ‘रिस्क इन्फर्मड डिसिजन मेकिङ इन ड्याम सेफ्टी म्यानेजमेन्ट’ थियो। जानकारीमूलक लागेर होला, हाम्रो कार्यपत्र मलेसियाको राष्ट्रिय प्राविधिक पत्रिकामा प्रकाशित गर्न लिखित अनुमति मागेका थिए।
यी हुन् नेपालका लागि काम लाग्ने विषय
मलाई कुनै पनि कार्यक्रमको अन्तिम सत्र अन्य सत्रभन्दा महत्वपूर्ण लाग्छ। हाम्रो टेबलमा क्यानाडाका विज्ञ टोलीबाहेक बेलायतबाट निस्कने बाँधसम्बन्धी प्रसिद्ध पत्रिका ‘द इन्टरनेसनल जर्नल अफ हाइड्रोपावर एन्ड ड्याम्स्’ की चीफ एडिटर एलिसन बर्टेल पनि थिइन्। हाम्रो पूरानो चिनापर्चीलाई पुनर्जीवित गर्दै हामी अन्य मुख्य अतिथिको प्रतीक्षामा थियौं।
कार्यक्रममा पेनाङका मुख्यमन्त्री र मलेसियाका जलस्रोत मन्त्री आए। जलस्रोत मन्त्री डा. जेभियर जयकुमारले कार्यक्रमको उद्घाटन सत्रमा नै बाँध सुरक्षा व्यवस्थापनमा आफ्नो दरो प्रतिबद्धता जनाएका थिए। युवा मुख्यमन्त्री याव तुवान चो कोन येओले पनि जलस्रोत र बाँध सुरक्षा व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा आफूले सरकारी, गैरसरकारी एवं विश्वविद्यालय तहमा सक्दो सहयोग गर्ने बताए। उनकै समर्थनका कारण मलेसियामा बाँध सुरक्षा व्यवस्थापनको पहिलो निर्देशिका तयार भएर यस्तो ठूलो सम्मेलन सफल भएको सम्मेलनकी अध्यक्ष प्रा.लारियाले बताइन्।
यो सम्मेलनमा आदानप्रदान भएका ज्ञान र अनुभव नेपालजस्ता पहाडी देशमा बन्ने बाँधका लागि उपयोगी थिए। ती ज्ञान र अनुभव यसप्रकार छन्ः
१. नेपालमा साना, मझौला एवं ठूला जलस्रोत आयोजनाहरू बने देशको कूल गार्हस्थ उत्पादन तीव्र गतिमा बढ्छ र जनताको समृद्धिको सपना चाँडै पूरा हुनसक्छ। तर, मझौला र ठूला बाँध बनाउँदा भने सुरक्षा र जोखिम न्यूनीकरणका उपाय सावधानीपूर्वक लागू गरिनुपर्छ।
२. हरेक राज्यले बाँध सुरक्षा व्यवस्थापन कार्यक्रम, नीति तथा नियमहरूको विकास गर्न र त्यसको कार्यान्वयन गर्न पूर्ण सहयोग गर्नुपर्छ। यसो गर्दा विश्वभर उपलब्ध बाँध सुरक्षाका अवधारणा र मान्यतालाई समेत आधार मान्नुपर्छ।
३. देशको भू–बनोट र भौगोलिक अवस्थालाई अध्ययन गरेर बाँध सुरक्षा व्यस्थापन नीति तयार गरी जोखिम व्यस्थापन लागू गर्नुपर्छ, जसले सम्भावित दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट हुने विपद्को असरलाई कम गर्न सकिन्छ।
४. नेपालको भौगोलिक अवस्था र नदीका प्रकृति अनुसार सुरक्षित बहुउद्देश्यीय ठूला बाँध डिजाइन गर्न सक्षम प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ।
५. बाँध निर्माणका विभिन्न चरणहरू जस्तै, योजना, स्थान छनोट, डिजाइन, निर्माण र सञ्चालनका प्रक्रिया पारदर्शी हुनुपर्छ। यी सबै चरणमा सार्वजनिक सुनुवाइ अनिवार्य छ।
६. दुई देशका सीमामा बन्ने वा दुई देशलाई असर पर्ने सीमावर्ती आयोजना ती देशबीचको सहयोग, सहकार्य, साझेदारी, सूचना आदानप्रदान, न्यायोचित स्रोत परिचालन, क्षति शून्यता जस्ता अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा बनाउनुपर्छ।
७. सीमावर्ती आयोजनाहरू बन्नुअघि दुवै देश र आयोजनाबाट फाइदा र हानि हुने प्रभावित क्षेत्रका जनताको सन्तोषजनक मतबाट यसलाई पारित गर्नुपर्छ।
८. बाँधको जोखिमबाट प्रभावित हुनसक्ने जनता, बाँध सुरक्षा, आपतकालीन प्रक्रिया र उद्धारमा खटिने व्यक्तिहरू तथा बाँध सुरक्षासँग सम्बन्धित कर्मचारीलाई जलविद्युत् परियोजनासँग सम्बन्धित र आपतकालीन व्यवस्थापनको औपचारिक तालिम र नियमित पूर्वाभ्यास गराउनुपर्छ।
९. नेपाल सरकारले अन्य सरकार एवं स्वदेशी प्राज्ञहरूसँग सहकार्य गरी विद्यालय र विश्वविद्यालय तहमा बाँध सुरक्षा, जोखिम न्यूनीकरण र आपतकालीन व्यवस्थापनका विषयहरू अध्ययन अध्यापन गराउनुपर्छ।
१०. देशका पेशागत तथा व्यावसायिक संस्थाहरू जस्तो, नेपाल इन्जिनियर्स एसोसिएसन, इन्जिनियरिङ परामर्शदाता, विद्युत् उत्पादक संघ लगायतले बाँध सुरक्षामा विदेशमा काम गरिरहेका विज्ञ तथा अन्तर्राष्ट्रिय बाँध सुरक्षा एजेन्सीहरूसँग सहकार्य गरेर त्यहाँका सफल अभ्यासलाई तीव्र गतिमा नेपाल भित्र्याउनुपर्छ।
मलेसियाकाे प्रगति, नेपाललाई पाठ
मलेसिया सम्मेलनमा राजनीतिज्ञ, नीति–निर्माता, लगानीकर्ता र विज्ञहरूबीच खुला र इमानदारीपूर्ण बहस भएको थियो। त्यति मात्र नभई सहकार्य गर्ने प्रतिबद्धता पनि भयो। सम्मेलनका कारण बाँधबाट हुनसक्ने सम्भाव्य खतरालाई उपयुक्त हिसाबले सम्बोधन र व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सबैको आत्मविश्वास बढ्यो।
बाँधसम्बन्धी ज्ञानको खोजी गर्दागर्दै म क्यानाडामा सरकारी जागिर खान पुगेको थिएँ। अनि त्यही क्रममा यस विषयका विश्वप्रसिद्ध विशेषज्ञहरूसँग काम गर्ने अवसर पनि पाएँ। अत्याधुनिक बाँधहरू कसरी बनाउने, बाँधहरूबाट के कस्ता फाइदा लिने, जोखिम न्यूनीकरण कसरी गर्ने, र आपतकालमा वरिपरिका बस्ती र बासिन्दालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा तालिम लिने र दिने दुवै अवसर प्राप्त भए।
विकसित देशका आदर्श अभ्यास तथा अन्तर्राष्ट्रिय उदाहरणहरू अरूलाई पनि बाँड्नु मेरो तृष्णा बनेको छ। त्यसैले अहिले म विकसित देशमा सँगालेको जलस्रोत र बाँधसम्बन्धी ज्ञान आफ्नो देशको जलस्रोतका नीति–निर्माण, विकास र सुरक्षामा पनि प्रयोग होस् भन्ने चाहन्छु।
मलेसियाको कार्यक्रमपछि बाँध सुरक्षामा त्यहाँको सरकारको गम्भीर प्रतिबद्धता, नीति–निर्माता एवं विज्ञहरूको चासो र प्रगतिको सन्देश नेपालमा पनि पुर्याउनुपर्छ भन्ने लागेको छ। अहिलेसम्म नेपालमा मानव निर्मित ठूला बाँध धेरै छैनन्। केही वर्षदेखि अरुण तेस्रो, बुढीगण्डकी, पश्चिम सेती जस्ता थुप्रै जलाशययुक्त बहुउद्देश्यीय बाँध बनाउने योजना बनेका छन्। त्यसैले नेपाललाई पनि मलेसियाको जस्तो कार्यक्रमबाट निकै फाइदा हुन सक्ने कुरामा दुई मत छैन।