उत्तराखण्डको पाठ : ठूलो जोखिममा नेपाल
हिमनदी माथिबाट खसेको पहिरोका कारण भारतको उत्तराखण्डस्थित धौलीगंगा नदीले निम्त्याएको विपत्ति जस्तै नेपालमा पनि ठूलो जोखिम रहेकाे अध्ययनहरुले देखाएकाे छ, तर सम्भावित विपत्तिबारे ध्यान पुग्न सकेको छैन।
हिमनदी माथिबाट खसेको पहिरोका कारण उत्तराखण्डको धौलीगंगामा बाढी उर्लिँदा बुधबार दिउँसोसम्म ३४ जनाको मृत्यु भएको छ। द हिन्दुस्तान टाइम्सका अनुसार घटनामा १७० जना हराइरहेका छन्। विज्ञहरूका अनुसार, पहिले पहाडको चट्टान हिमनदी र हिमनदीले किनारमा थुपारेको धूलोमा बजारिएको थियो। त्यसपछि धौलीगंगामा ठूलो बाढी आएको थियो।
त्यही पहिरोबाट उत्पन्न गेग्र्यान र धूलोसहितको बाढीले धौलीगंगाको ऋषिगंगा जलविद्युत् आयोजनालाई क्षति पुर्याएपछि झन् ठूलो बाढी आएको हिमालय क्षेत्रमा गएका पहिरोबारे अनुसन्धान गरिरहेका ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक वसन्तराज अधिकारी बताउँछन्। “माथिबाट आएको गेग्र्यानसहितको बाढीले विद्युत् गृहको बाँध भत्काउँदा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको देखिन्छ,” अधिकारी भन्छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, बाढीले धौलीगंगाका करीब चार वटा विद्युत्गृहमा क्षति पुर्याएको छ।
एशियामा पर्ने हिन्दुकुश हिमालय क्षेत्रमा ९५ हजार हिमताल छन्। यस क्षेत्रमा हिमनदी तथा बरफको मात्रा अत्यधिक भएकाले यसलाई ‘एशियन वाटर टावर’ भनिन्छ।
नेचर जर्नलमा हालै प्रकाशित ‘हिमनदी परिवर्तन र जलविद्युत् आयोजनामा पर्ने असर’ अनुसन्धानात्मक लेखका अनुसार, हिन्दुकुश हिमालयमा काठमाडौँको (५० वर्ग किलोमिटर) क्षेत्रबाट १४० किलोमिटर अग्लाे टावर बन्नेसक्ने जति हिउँ छ। हिन्दुकुश हिमालय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी मानिसले त्यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ पाइरहेका छन्। कृषि, जलविद्युत्, उद्योग, खानेपानी र हावापानीको नियमनको स्रोत पनि हिन्दुकुश हिमालय हो।
उक्त अनुसन्धानका अनुसन्धानकर्ता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का जलवायु तथा जलस्रोत विज्ञ सन्तोष नेपालका अनुसार, हिन्दुकुश हिमालयबाट बग्ने १० वटा नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने १ अर्ब ६५ करोड मानिसले अप्रत्यक्ष रूपमा लाभ लिइरहेका छन्।
पूर्वाधार विकासले बढाएको जोखिम
पृथ्वीको उत्पत्ति भएदेखि नै बाढी, पहिरो जस्ता प्राकृतिक घटना हुँदै आएका छन्। विगतमा मानवीय र भौतिक क्षतिका घटना कम हुन्थे, पछिल्लो समय भने बढी हुने गरेका छन्। किनभने पहिले मानिसको बसोबास खोला, नदीकिनारमा कम हुन्थ्यो भने भौतिक पूर्वाधारको विकास पनि अहिले जस्तो भएको थिएन।
समयक्रममा भौतिक पूर्वाधारको विकाससँगै नदीकिनारमा मानिसको बसोबास गर्ने क्रम बढेको छ। यस्तै, सडक, जलविद्युत् लगायत भौतिक पूर्वाधारका संरचना नदीकिनारमा बनाउने क्रम बढ्दो छ। यसले जोखिम बढाएको उप–प्राध्यापक अधिकारी बताउँछन्। उनी भन्छन्, “बाढी–पहिरो पहिला पनि आएका थिए र भोलि पनि आउँछन्। खोला तथा नदीकिनारमा मानिसको बस्ती विकास र भौतिक पूर्वाधार बनाएकाले यसबाट क्षति हुने गरेको हो।”
हुन पनि अहिलेसम्म प्राप्त रिपोर्ट अनुसार धौलीगंगामा हराइरहेकामध्ये ११५ जनाभन्दा बढी उक्त नदीमा विद्युत्गृह निर्माणमा कार्यरत मजदूर छन्। अर्बौं रूपैयाँको क्षति पुगेको अनुमान छ।
दोस्रो विश्वयुद्धपछि औद्योगिक क्रान्तिका कारण तापक्रममा भएको सरदर वृद्धिले हिमालय क्षेत्र यसै पनि प्रभावित छन्। हिउँ पग्लिने क्रम बढेको छ। विज्ञहरुका भनाइमा तापक्रम वृद्धि हुँदा हिमताल विस्फोट भएर बाढी आउने सम्भावना झन् बढी हुन्छ। नेपालले राष्ट्रिय अनुकूलन योजना तयार पार्ने क्रममा गरेको एक अध्ययनले यो शताब्दीको अन्त्यसम्म नेपालको तापक्रम वृद्धि १.७ देखि ३.५७ डिग्री सेल्सियसले बढ्ने देखाएको छ। इसिमोडका जलवायु तथा जलस्रोत विज्ञ सन्तोष नेपालका भनाइमा तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा बाढी, हिमपहिरो, हिमताल विष्फोट आदिको सम्भावना बढ्छ र त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दा र संरचनामा हुने जोखिम पनि बढाउँछ।
नेपाल भन्छन्, “हिन्दुकुश हिमालयमा बहुआयामिक जोखिम बढिरहेको छ। हिमपहिरो गएपछि आउने बाढी, त्यो बाढीले जलविद्युत् गृहमा पुग्ने क्षति र उक्त बाँध भत्किएर त्यसबाट निम्तिने थप जोखिम बहुआयामिक प्रकोपको रूप हो।”
जलविद्युत्लाई आर्थिक विकासको मुख्य स्रोत मानिन्छ। जलविद्युत्बाट कार्बन उत्सर्जन शून्य हुने भएकाले पनि वातावरणीय हिसाबले यसलाई आर्थिक स्रोत भनिएको हो। नेपाल, भारत र पाकिस्तानका ठूला जलविद्युत् आयोजना हिमाली क्षेत्र भएर बहने नदीमा आधारित छन्। नेचर जर्नलमा प्रकाशित रिपोर्टका अनुसार, अहिले ४० मेगावाट क्षमताभन्दा माथिका १०५ वटा जलविद्युत् गृहबाट ३६.६ गिगावाट विद्युत् उत्पादन भइरहको छ। ४० मेगावाट माथिका ६१ वटा आयोजना निर्माणाधीन छन्, जसबाट ३९.१ गिगावाट विद्युत् उत्पादन हुनेछ।
हिमाली क्षेत्रमा केही तलवितल भए यी विद्युत् आयोजनामा ठूलो क्षति हुनेछ।
इसीमोडका जलस्रोत तथा जलवायु विज्ञ नेपाल पेरिस सम्झौतामा उल्लेख भएको तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित राख्दा तापक्रम वृद्धिबाट हिमाली क्षेत्रमा पर्ने असर न्यूनीकरण हुनसक्ने बताउँछन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल हिमाली क्षेत्रमा जानसक्ने पहिरोबारे अध्ययन हुनुपर्ने बताउँछन्। “हिमतालहरूको अध्ययन त व्यापक भयो, अब त्यहाँका सम्भावित पहिरोबारे पनि अध्ययन हुनुपर्छ,” पोखरेल भन्छन् “बाढी आउनुको कारण हिमताल विष्फोट मात्र होइन, पहिरो पनि हो। सेती र धौलीगंगाको घटना यसैका उदाहरण हुन्।”
दुःखद विगत
घटना भएपछि छिटै बिर्सने र जोखिम न्यूनीकरणका लागि ध्यान नदिने प्रवृत्तिले रोकथामका लागि काम नै हुन सकेको छैन। नेपालमा भएका केही घटनालाई मात्र मसिनो गरी अध्ययन गर्ने हो भने हिमताल विस्फोट, हिमपहिरो वा अन्य प्राकृतिक घटनाका कारण ठूलो क्षति भएको छ। पछिल्लो पटक २१ असार २०७३ मा भोटेकोशी नदी थुनिएर आएको बाढीले तातोपानीदेखि बाह्रबिसेसम्म १२५ वटा घर बगाएको थियो। बाढीले ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा मात्रै करीब रु.२ अर्बसहित रु.३ अर्बको क्षति गरेको थियो।
त्यस्तै, २३ वैशाख २०६९ मा अन्नपूर्ण हिमशृंखला भएर बग्ने सेती नदीको मुहानमा गएको पहिरोले नदी थुनिएपछि आएको बाढीमा परेर ३१ जनाको मृत्यु भएको थियो भने ४० जना बेपत्ता भएका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीबाट रु.१० करोड भन्दा बढीको क्षति भएको विवरण सार्वजनिक गरेको थियो।
त्यसअघि, सन् १९३५ मा तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोशीमै आएको बाढीले साढे ६६ हजार वर्गकिलोमिटर खेतीयोग्य जमीन कटान गरेको थियो। सन् १९८१ मा तिब्बतको झाङजाम्बु हिमताल फुटेर सुनकोशीमा प्रतिघण्टा १ करोड ९० लाख घनमिटर पानी प्रवाह हुँदा सयौँ घरसहित १२ वटा पुल, २७ किलोमिटर सडक र सुनकोशी पावरहाउस बगाएको थियो।
त्यस्तै, १९९८ मा तामपोखरी हिमताल विष्फोट भएर दूधकोशीमा बाढी आउँदा अहिलेको हिसाबमा रु.१ खर्बभन्दा बढी क्षति भएको थियो। त्यसअघि १९८० मा दूधकोशीमा हिमताल फुटेर आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। सन् १९६८, ६९ र ७० मा लगातार तीन वर्ष तिब्बतको अक्यो हिमताल विष्फोट भएर अरुण नदीमा आएको बाढीले व्यापक क्षति गरेको थियो। त्यतिवेलाको तुलनामा अहिले नदी किनारमा धेरै संरचना बनेका कारण फेरि त्यस्तो घटना भए क्षति पनि बढी हुनेछ।
आसन्न संकट
पछिल्लो अध्ययनले हिमताल विस्फोटबाट नेपालमा ठूलो क्षति पुग्न सक्ने देखिएको छ। किनभने तिब्बत हुँदै नेपाल भएर बग्ने नेपालका प्रमुख नदीको जलाधार क्षेत्रमा जोखिम पहिचान गरिएका तालहरू छन्। इसीमोेड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे गरेको अनुसन्धान प्रतिवेदनले ४७ वटा हिमतालमध्ये ३१ वटालाई उच्च जोखिमका रूपमा पहिचान गरेको छ।
४७ हिमतालमध्ये २५ वटा चीनको तिब्बत क्षेत्रमा छन् भने २१ वटा नेपाल र एउटा भारतमा पर्छ। कोशीको सहायक अरुण नदीको जलाधार क्षेत्रमा मात्र जोखिम पहिचान गरिएका १७ वटा हिमताल छन्। तीमध्ये १३ वटा चीनमा पर्छन् भने चार वटा नेपालमा छन्। त्यसैगरी दूधकोशी जलाधार क्षेत्रमा नौ र तमोर नदीको जलाधार क्षेत्रमा चार वटा हिमताल छन्।
गण्डकी नदीको सहायक नदी त्रिशूलीको जलाधार क्षेत्रमा दुई र मर्स्याङ्दी नदीमा एउटा हिमताललाई जोखिमका रुपमा पहिचान गरिएको छ। त्रिशूली जलाधार क्षेत्रमा रहेको एउटा हिमताल चीनतर्फ पर्छ।
त्यस्तै, कर्णाली नदीको सहायक नदी काली र हुम्ला कर्णालीमा एक/एक वटा हिमताललाई जोखिमयुक्त पहिचान गरिएको छ। त्यसमध्ये एउटा नेपालतर्फ र अर्को भारततर्फ पर्छ। उक्त अध्ययनले तीन वटा नदीका जलाधारमा तीन हजार ६२४ वटा हिमताल रहेको औँल्याएको छ। तीमध्ये २ हजार ७० हिमताल नेपालको राजनीतिक नक्शाभित्र, एक हजार ५०९ वटा चीनको तिब्बत र ४५ वटा भारतमा पर्छन्। प्रतिवेदनमा उल्लेख भए अनुसार एक हजार ४१० हिमताल ०.०२ वर्ग किलोमिटरभन्दा ठूलो क्षेत्रका छन्।
भौतिक मापदण्ड, बाँध र हिमताल वरपरको अवस्थालाई आधार मानेर जोखिमका आधारमा हिमताललाई तीन भागमा वर्गीकरण गरिएको छ। ४७ वटा हिमतालमध्ये ३१ वटालाई जोखिमको पहिलो सूचीमा राखिएको छ। त्यस्तै, दोस्रो सूचीमा १२ र जोखिमको तेस्रो सूचीमा चार वटा हिमताल छन्। हिमताल विष्फोट हुनुको प्रमुख कारण उच्च हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धि र हिउँ पग्लिने क्रमलाई मानिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, हिमाली क्षेत्रको तापक्रम वृद्धिदर प्रतिवर्ष सरदर ०.०८६ डिग्री सेल्सियस छ।
हिउँ पग्लिने क्रमसँगै हिमतालको संख्या र क्षेत्रफल बढ्दै गएको छ। सन् २००० मा तीन वटा नदी जलाधार क्षेत्रमा तीन हजार ६०१ हिमताल र त्यसले ओगटेको क्षेत्रफल १७९.५६ वर्ग किलोमिटर थियो। सन् २००५ मा हिमतालको संख्या तीन हजार ६९६ र क्षेत्रफल १८६.४४ वर्ग किलोमिटर थियो। त्यस्तै, सन् २०१५ मा हिमतालको संख्या तीन हजार ६२४ र त्यसले ओगटेको क्षेत्रफल १९५.३९ पुगेको थियो। सन् २००० देखि २०१५ सम्म २३ वटा हिमताल बढेका छन्। त्यसको क्षेत्रफल १५.८ वर्ग किलोमिटर बढेको छ।