दाहाल–नेपाल समूहमै फर्किए छक्कबहादुर
हुम्लाबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित भएका छक्कबहादुर लामा नेकपाको दाहाल–नेपाल समूहमा फर्किएका छन्। प्रतिनिधि सभा विघटनपछि दुई समूहमा बाँडिएको नेकपाभित्र उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका थिए। उनलाई ओलीले केन्द्रीय सदस्य समेत बनाएका थिए।
नेकपा कर्णालीका अध्यक्ष गोरख बोगटी र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मन्त्री बनाउन सहयोग गर्ने भनेपछि उनी ओली समूहमा पुगेको आरोप लागेको थियो। बोगटी र रावल दुवै पूर्वएमालेभित्र ओली समूहका हुन्। लामा भने पूर्वमाओवादी पृष्ठभूमिका हुन्।
तर, प्रधानमन्त्री ओलीले शुक्रबार साँझ गरेको मन्त्रीमण्डल विस्तारमा उनी परेनन्। त्यसको भोलिपल्टै शनिबार विज्ञप्ति जारी गर्दै लामाले आफू नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहमै रहेको उल्लेख गरेका छन्।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेद्वारी दिएपछि उनी कारबाहीमा परेका थिए। तर, निर्वाचित भएपछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ‘भिटो पावर’ले उनीमाथिको कारबाही फुकुवा भएको थियो। उनी त्यतिबेला माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समितिमा थिए।
२०४८, २०७० र २०७४ मा हुम्लाबाट निर्वाचित लामा ओली समूहमा लागेपछि जिल्लामा उनीपक्षका नेताहरूले साथ छाडेका थिए।
५ पुसमा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनी ६ पुसमा ओली समूहमा लागेका थिए। त्यसअघि उनले ४ पुस साँझ बोगटी र रावलसँगै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए।
शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता र कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहमा यथावत रहेको बताएका छन्।
‘नेकपा (ओली नेतृत्वको) केन्द्रीय आयोजक सदस्यको पदलाई परित्याग गरि नेकपा (प्रचण्ड–नेपाल) पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्न तथा सम्पूर्ण पार्टी कार्यकर्ता र हुम्लावासी जनताहरूलाई कुनै विचलित नभई प्रचण्ड–नेपालको मूल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकतावद्ध भएर बस्न अनुरोध गर्दछु’ लामाले विज्ञप्तिमा भनेका छन्।
उनले आफू हुम्ली जनताको सेवामा निरन्तर लागिरहने प्रतिवद्धता पनि जनाएका छन्। लामाले नेकपाभित्र देखिएको विवादप्रति दुःख समेत व्यक्त गरेका छन्।