शनिबार साँझ बालुवाटार पुगे छक्कबहादुर, अनि छक्याए दाहाललाई
१० मंसीर २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबैलाई चकित पार्दै हुम्लाबाट निर्वाचित भएका छक्कबहादुर लामाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पनि त्यसैगरी चकित पारेका छन्।
तत्कालीन माओवादीको केन्द्रीय सल्लाहकार समितिमा रहेका लामाले पार्टीका आधिकारिक उम्मेदवार छिमि दोर्जे लामालाई उम्मेदवार स्वीकार नगरेर आफैं स्वतन्त्र उम्मेदवारी दिएका थिए। अन्ततः उनले जित नै हात पारे। छक्कबहादुर र उनको पक्षमा लाग्ने माओवादीका नेता र कार्यकर्तालाई निर्वाचनताका तत्कालीन माओवादीले कारबाही गरेको थियो।
मतपरिणाम सार्वजनिक भएपश्चात भने तत्कालीन माओवादीका अध्यक्ष दाहालको ‘भिटो पावर’ले उनीमाथिको कारबाही फुकुवा भयो। त्यसको तीन वर्षपछि छक्कबहादुरले भने दाहाललाई अर्को ‘सरप्राइज’ दिएका छन्।
आइतबार संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावको ४३ नम्बरमा हस्ताक्षर गरेका छक्कबहादुरले हस्ताक्षरको मसी सुक्न नपाउँदै आफ्नो निर्णय फेरेका छन्।
नेकपाका कार्यकारी अध्यक्ष दाहालको आग्रहमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनले शनिबार बेलुकी कर्णाली करिडोरको बाटोबारे कुरा गर्ने बहानामा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलगायतका नेताहरूसँगै प्रधानमन्त्री ओलीलाई भेटेका थिए। ओलीलाई भेटेपछि परिस्थिति अर्कै बन्यो।
“बालुवाटारमा प्रधानमन्त्री ओलीले ‘तपाईंले त मेरो विरुद्धको अविश्वास प्रस्तावको ४३ नम्बरमा हस्ताक्षर गर्नु भएछ त छक्कजी’ भनेपछि उनी रातोपिरो भए”, त्यो भेटमा सहभागी नेकपा कर्णालीका एक नेताले हिमालखबरसँग भने, “अनि उनले हतारहतार म तपाईंकै पक्षमा छु, नपत्याए बोगटीजीलाई सोध्नुहोस् भन्दै बोगटीको नाममा आफूलाई ओलीको कित्तामा उभ्याए।”
मन्त्रीको आश्वासनले छक्कबहादुरको ‘यूटर्न’
पूर्वमाओवादीको ठूलो तप्का र पूर्वएमालेको समेत समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि दाहालकै पहलमा छक्कबहादुरको कारबाही फुकुवा भएको थियो। तर, मन्त्री बनाउने ओलीको प्रलोभनपछि भने उनले लामो समयदेखिको दाहालको साथ छाड्ने निधो गरे।
छक्कबहादुरले पछिल्लो घटनाक्रमलाई आफ्नो मन्त्री बन्ने अवसरका रूपमा सदुपयोग गरेर दाहालले लगाएको गुण बिर्सेको पूर्वमाओवादी हुम्लाका एक नेताले बताए।
ती नेताले भने, “आफ्नो अधिकांश समय वाम राजनीतिमा लागेर पनि राजाको टिके मन्त्री बनेका छक्कबहादुरले फेरि आफूकेन्द्रित राजनीतिलाई दोहोर्याएका छन्।”
शनिबार साँझको बालुवाटार भेट उनको कित्ता बदल्ने एक मात्र कारण थियो। कित्ता फेरेपछि सोमबार बालुवाटारमै ओलीले बोलाएको आफूपक्षीय विघटित प्रनिनिधि सभाका सदस्यहरूको भेलामा पनि उनी सहभागी भए।