बाबुबाटै बलात्कार !
छोरीको जन्मदाता र संरक्षण उसको अभिभावकको कर्तव्य हो। अहिलेसम्मको सामाजिक संरचनाले बाबुलाई परिवारको मुली मानेको छ। जन्मदर्ता र नागरिकता बनाउन बाबु चाहिन्छ। तर, कतिपय छोरीहरुका लागि आफ्नै बाबु ‘बलात्कारी’ बनेका छन्।
गत असोजमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाकी १७ वर्षीया किशोरीले आफू वर्षौंदेखि बुबाबाट बलात्कार हुँदै आएको घटना सार्वजनिक गरिन्। १० कक्षामा अध्ययनरत उनले आफूलाई विभिन्न औषधी खुवाउने गरेको समेत बताइन्।
आफूले गर्भ निरोधक औषधि खुवाएको ती ३५ वर्षीयबाबुले प्रहरीसँगै स्वीकारेका छन्। शुरुमा उनले प्रहरीसँग ‘तागतिलो औषधि’ खुवाएको बताएका थिए। तर आफूले खाएको औषधि गर्भनिरोधक हो भनेर आमाले नै भनेको छोरीले प्रहरीलाई बताइन्।
उनी पछिल्लो पटक १० असोजमा बाबुबाट बलात्कारमा परेकी थिइन्। आमा र परिवारका अन्य सदस्यले घटना दर्ता गर्न नमानेपछि जिल्लामै कार्यरत सहयात्री समाज नेपालको जाहेरीमा बलात्कार र हाडनाता करणीको मुद्दा दर्ता भयो। बल्लबाबुलाई प्रहरीले पक्राउ ग¥यो।
सहयात्री समाजसंस्थाकी ‘सेफ हाउस’ इन्चार्ज गायत्री खतिवडाका अनुसार ती किशोरीले आफूलाई ५/६ वर्षको उमेरदेखि नै बाबुले बलात्कार गर्ने गरेको बताएकी छिन्। यही कारण दुई वर्षअघि आफूले आत्महत्या गर्न खोजेको पनि उनले बताएकी छिन्।
गएको २६ जेठमा धादिङकै नेत्रावती गाउँपालिकामा ५३ वर्षका बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो। करिब तीन वर्षको हुँदा आमाले छोडेर हिँडेपछि बाबुले हुर्काएका थिए। ती बालिका अहिले ९ वर्ष भइन्।
गत जेठमा बालिका बिरामी भएर बालिकाकी एक नातेदार भाउजूले स्वास्थ्य चौकी लैजाँदा घटनाबारे थाहा भएपछि प्रहरीमा खबर गरिएको थियो। आफू बलात्कृत भएकोबारेवरपरका छिमेकीलाई भने पनि कसैले नपत्याएको बालिका बताउँछिन्। अहिले उनी सहयात्री समाजकै संरक्षणमा बसेर पढिरहेकी छिन्। बुबा हाडनाता करणी र बलात्कार मुद्दामा थुनामा छन्।
कैलालीमा दुई छोरीलाई बलात्कार गरेको आरोप लागेका एक बाबु फरार छन्। आमा कामका लागि विदेश गएपछि बाबु र हजुरआमासँग बसेका दुई दिदीबहिनीमाथि जबरजस्ती करणी गरेको पीडित छोरीहरुले बताएका थिए। ती बाबु माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। दुई छोरीहरु सोही विद्यालयमा पढ्छन्। तर बन्दाबन्दीमा घरमै बसेका बेला बाबुले पटक पटक बलात्कार गरेको बालिकाहरुले प्रहरीसमक्ष बताएका छन्।
घटनाबारे पहिला हजुरआमालाई भन्दा उल्टै ‘बुबालाई नराम्रो आरोप लगाएको’ भन्दै गाली गरेकी थिइन्। त्यसपछि उनीहरुघर छोडेर धनगढी हिंडेका थिए।जंगलको बाटो जाँदै गर्दा एक महिला अधिकारकर्मीले भेटेर सोधीखोजी गरेपछि घटना बाहिर आएको हो। घटनापछि आमा नेपाल फर्केकी छिन्। उनी दुई छोरीसहित माइत बस्दै आएकी छिन्।
गत मंसिरको दोस्रो साता दाङको बंगलाचुली गाउँपालिकाकी १२ वर्षिया छोरी झड्केलो बुबाबाट झण्डै एक वर्षदेखि बलात्कार हुँदै आएको घटना सार्वजनिक भयो। आमा घरमा भएको मौका पारेर उनले यसअघि पनि बलात्कार गर्दै आएको जाहेरीका क्रममा पीडित बालिकाकी आमाले बताएकी छिन्।
उनका अनुसार श्रीमान् यसअघि पहिलो श्रीमती हत्याको आरोपमा १० वर्ष कैद सजाय काटेर निस्किएका कारण छोरी पनि डराउँथी। उनी भन्छिन्,“कसैलाई भने मार्दिने भन्दै बलात्कार गर्दोरहेछ। छोरी हिँड्नै नसक्ने भएपछि सोधीखोजी गर्दा थाहा भयो।”
मंसिरकै दोस्रो साता कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि बाबुलाई छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ३९ वर्षीय ती बाबुले १३ वर्षिया छोरीलाई तीन वर्षदेखि बलात्कार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
मंसिर दोस्रो साता नै सर्लाहीमा आफ्नै ६ वर्षिया छोरीलाईपटक पटक जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परे। उनी भारत घर भइ हरिपुर नगरपालिका वडा नम्बर ६ स्थित ससुराली घरमा बस्दै आएका थिए। उनले राति छोरीलाई घरबाट बाहिर लगेर बलात्कार गर्ने गरेको भन्दै आमाले इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि बाबु पक्राउ परेका थिए।
यस्तो छ प्रहरीको तथ्यांक
माथि उल्लेखित बाबुबाट बलात्कार भएका केही प्रतिनिधि घटना मात्र हुन्। यस्ता घटना देशभरि नै हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। प्रदेशगत हेर्दा बागमतीमा र त्यसमा पनि संघीय राजधानी काठमाडौँमा यस्ता घटना धेरै हुने गरेको छ।
नेपाल प्रहरीले बलात्कार घटनाको पीडित र पीडकको नाता सम्बन्ध छुट्टयाएर राख्ने गरेको छ। जसमध्ये बाबु अथवा झड्केलो बाबुबाट बलात्कार भएको घटना चालु आर्थिक वर्षको तीन महिनामै २२ वटा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४७ वटा र २०७५/७६ मा ५२ वटा घटना दर्ता भएका थिए।
बलात्कारको जम्मा घटना आब २०७५/७६ मा सबैभन्दा बढी दुई हजार २३० वटा भएका छन्। आब २०७६/७७ मा दुई हजार १६७ र चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ८३० वटा घटना भएका छन्।
घरभित्रका घटनामा न्याय पाउन झन् कठिन
बुबा तथा झड्केलो बुबा, दाजु, हजुरबुबा, काका, मामालगायत घर परिवार र नजिकका नातेदारबाट देशैभरि बलात्कारका घटना भइरहेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। त्यसमध्ये एकै परिवारका सदस्यबाट मात्र होइन एउटै कोठामा सुत्ने बाबुबाट पनि बलात्कारका घटना भएका छन्। करिब तीन वर्षअघि नवलपरासीमा आठ महिनाकी छोरीसमेत बाबुबाट बलात्कृत भएको घटना प्रहरीमा पुगेको थियो।
घरभित्रका बलात्कारका घटनामा पीडितले बाध्यतापूर्वक सहेर बस्नु परेको उदाहरण धेरै छन्। पहिला फकाउने र नमाने परिवारैको हत्या गर्ने धम्की दिएर पीडकले अपराध लुकाउने गरेका छन्।
लामो समयदेखि बलात्कार मुद्दामा पीडितको तर्फबाट बहस गर्दै आएकी कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की अधिवक्ता पुण्यशीला दवाडी बाबु झड्केलो बाबुबाट हुने बलात्कार अलि सानो उमेरसम्म माया गर्ने बहानामा हुने गरेको छ। अलि ठूलो भएपछि भने डर देखाएर बलात्कार हुने उनी बताउँछिन्। (बक्स)
‘डाक्टर, लेक्चरर जस्ता प्रतिष्ठित व्यक्तिबाट पनि छोरी बलात्कृत भए’
– पुण्यशीला दवाडी, अधिवक्ता
मैले हेरेका मुद्दाहरुका आधारमा भन्ने हो भने कस्तो परिवार वा व्यक्तिबाट छोरीहरु बलात्कार भइरहेका छन् भन्न गाह्रो छ। धनी, गरिब, राजनीतिज्ञ, डाक्टर, विदेशमा राम्रो काम गरिरहेका सबै खालका व्यक्तिबाट बलात्कार भएको मुद्दा हेरेको छु। अलि सानो हुन्जेल माया गरेर आफूसँगै सुताउने/सुत्ने गरेका मुद्दा पनि छन्। डर धम्की देखाएर भएका घटनाहरु पनि छन्।
केही वर्षअगाडि एउटा विदेशमा बस्ने नेपालीको घटना हेरेको थिएँ। बाबु डाक्टर, आमा नर्स,छोरी ११ वर्षकी। श्रीमती बिहान चाँडै ड्युटी जाने रहिछन्। ड्युटी गएपछि बाबु छोरीसँगै सुत्ने र बलात्कार गर्नेरहेछ। छोरीलाई बाबाले यसो गर्ने पनि माया हो भन्ने बुझाएको रहेछ। एकदिन स्कुलमा आफ्नो बाबाले कसरी माया गर्छन् भनेर सबैलाई सोध्दा उनले बताएपछि घटना बाहिर आएको रहेछ।
काठमाडौँमा राजनीतिकर्मी बाबुबाट छोरीमाथि बलात्कार हुँदाआमाले नै देखिछन्। त्यसपछि आमाजुलाई भनेर छोरीसँग बसेर कुरा गरेपछि प्रहरीमा आए। अहिले त्यो व्यक्ति जेलमै छ।
एउटा मन्दिरको पूजारीले छोरीलाई बलात्कार गरेको घटनापनि बाहिर आयो। पहिला आमा नै हामी कहाँ आएकी थिइन्। तर, पछि मुद्दा नदिने भनेँ। मैले धेरै सम्झाएपछि मात्र मुद्दा चल्यो। त्यसैले जो कोहीबाट पनि छोरी बलात्कार हुने रहेछन् भन्ने यी घटनाले देखाउँछ।
धादिङमा रहेर बलात्कार पीडितहरुलाई सुरक्षित आवास गृहमा संरक्षण दिँदै आएकी अधिकारकर्मी गायत्री खतिवडाको अनुभव पनि उस्तै छ। कसैले माया गर्ने बहानामा र कसैल्े डर देखाएर बलात्कार गरेको पाइएको उनी बताउँछिन्। पीडित बालिकाहरुले आफन्त, छरछिमेकलाई भन्दा समेत कसैले गम्भीर रुपमा नलिएका कारण लामो समयदेखि पीडित हुनुपरेको खतिवडाको भनाइ छ।
के हुनसक्छ बच्ने उपाय ?
घर भित्रै र त्यो पनि घरको सबैभन्दा ठूलो मानिने व्यक्तिबाट हुने घटना बाहिर भन्नका लागि पीडित एक्लै हुन्छ। त्यसैले अहिले प्रायः सबै बालबालिका विद्यालय जाने भएकाले विद्यालयले यस्तो वातावरण बनाउनुपर्ने अधिकारकर्मी तथा अभियन्ताहरुको भनाइ छ।
अधिवक्ता तथा अनुसन्धानकर्ता कपिल अर्याल बाबु अथवा नजिकका आफन्तबाट भएको हिंसाको घटना बाहिर ल्याउन नसक्ने भएकाले विद्यालय वा बालविकासमा जाने बेलादेखि नै उनीहरुबाट विभिन्न ढंगले बुझ्नुपर्ने बताउँछन्। अर्यालले भने, “विभिन्न देशहरुमा नियमित स्वास्थ्य जाँच, मनोपरामर्शका कार्यक्रमहरु स्कूल र स्कूल बाहिर पनि हुने गर्छ। यस्ता घटना भइहाले चाँडै बाहिर आउने भएकाले नेपालमा पनि त्यही खालको कार्यक्रम सरकारले शुरु गर्नुपर्छ।”
सरकारले शुरु गर्ने भनेको एक विद्यालय एक नर्स कार्यक्रमलाई देशैभर लैजाने र त्यस्ता नर्सहरुलाई मनोपरामर्श पनि दिने गरी तालिम दिएर छात्राहरुसँग नियमित कुराकानी गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ। अहिले पालिकाहरुले नै विद्यालयहरुमा मनोपरामर्शकर्ता नियुक्त गरेर यस विषयमा छात्राहरुलाई सहजीकरण गर्न सक्ने उनी बताउँछन्।
महिला हिंसाविरुद्ध काम गरिरहेका अभियन्ता सन्जोग ठकुरी आफूले छोराछोरीको असल हुर्काइमा बुबाको भूमिकाबारे बुबाहरुसँग नै काम गर्न लागेको बताउँछन्। उनी भन्छन्, “अहिले हामी युवाहरुसँग काम गर्दैछौं। अब भने फादर गु्रपहरु पनि बनाउने र श्रीमती गर्भवती भएदेखि नै श्रीमानको भूमिका, बच्चा जन्मिसकेपछिको भूमिकाबारे छलफल गर्ने योजनामा छौं।” कतिपय गैरसरकारी संस्थाहरुले आदर्श दम्पत्ती, आदर्श पुरुष, आदर्श बुबा, महिला हिंसाविरुद्ध यवा, पुरुषहरुको भूमिका लगायतका विषयमा काम गरे पनि त्यो सबै ठाउँमा भने पुग्न सकेको छैन।