छोरी बलात्कारको आरोपमा बुबा पक्राउ, अपांग आमासहित भाडाको घरबाट निकालिए पीडित
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६, साना गाउँमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। १७ वर्षीया पीडित छोरीले आफूमाथि करिब डेढ वर्षदेखि बुबाले बलात्कार गर्दै आएकाले प्रहरीमा जानकारी गराएकी थिइन्।
घटनापछि उनीहरू भाडामा बस्दै आएको घरबेटी र टोलछिमेकी मिलेर 'बाबुको बेइज्जत गर्ने' भन्दै शनिबार घरबाट निकालेका थिए। घरबाट निकालेपछि ७ वर्षीया छोरा, पीडित छोरी र शारीरिक अपांगता भएकी आमा समस्यामा परेका छन्।
उनले नेपाल अपांग महिला संघमा सहयोगका लागि आग्रह गरेपछि घटना बाहिर आएको हो। अपांग महासंघकी अध्यक्ष टिका दाहालको पहलमा हिजो साँझ घरबेटीसँग छलफल गरेर एक रात राखे पनि आज फेरि उनीहरू निकालिएका हुन्।
आज घरबेटी र छरछिमेकबीच छलफल भएपछि घरबेटीले नराख्ने अडान लिएपछी पीडित किशोरीकीका अंकलले एक महीना आफूसँगै राख्ने बताएका थिए। संघकी अध्यक्ष दाहालका अनुसार ती व्यक्ति पनि केही समयपछि सम्पर्कविहिन भएका छन्।
“मेयरसँग अनुरोध गरेपछि उहाँले वडाध्यक्षलाई भन्नु भएको थियो। तर वडाध्यक्ष र उपमेयरले पनि केही गर्न नसक्ने भनेनपछि उनीहरूको बिचल्ली भएको छ। प्रहरी कार्यालयसम्म आएर एक महीना सहयोग गर्छु भनेका पीडितका अंकल पनि २/३ घण्टादेखि सम्पर्कविहिन छन्”, दाहालले भनिन्।
"उनीहरूलाई घरबेटीले कोठा भाडा नतिरेको भन्ने गरे पनि घटना बाहिर ल्याएको भनेर यातना दिँदै आएको पाइयो", अध्यक्ष दाहालले भनिन्।
वडाध्यक्ष वासुदेव महर्जनले 'लामो समयदेखि भाडा नदिएको र भाडा माग्दा आत्महत्या गर्ने भनेकाले घरबेटीले राख्न नसक्ने' भनेको बताए।
"एउटा संस्थाले संरक्षण गर्ने भनेपछि वडाबाट सिफारिस बनाइदिँदैछु। मैले समन्वय गरिदिएको हुँ", उनले भने।