नेकपा अध्यक्षमा माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको अध्यक्ष चयन भएका छन्। मंगलबार बबरमहलस्थित् कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाललाई नेकपाको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष चयन गरेको हो।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरिएको केन्द्रीय सदस्य निरज आचार्यले हिमालखबरलाई बताए।
नेकपा नेता प्रभु साहले भने नेपाललाई अध्यक्ष बनाउने निर्णयमा असहमति जनाएका थिए। दुई जना अध्यक्ष बनाउँदा पार्टीमा समस्या हुने गरेको भन्दै साहले असहमति जनाएका थिए।
तर, अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टीले निर्णय गरिसकेकाले सबैले मानेर जानुपर्ने बताएका थिए।
अध्यक्ष पुष्पकमल दाहालले नवनिर्वाचित अध्यक्ष नेपाललाई बधाई दिएका छन्। उनले दुवै जना मिलेर पार्टी सञ्चलान गर्ने पनि बताए।
“हामी दुवै जना विधानमा भएको व्यवस्था अनुसार समान हैसियतमा आलोपालो पार्टी सञ्चालन गर्छौं”, दाहालले भने, “केपी ओलीले विधानको यो व्यवस्था नमानेकाले आजको अवस्था आएका हो।”
केन्द्रीय कमिटी बैठकमा ३१५ जना सदस्य उपस्थित रहेको नेताहरूले बताएका छन्।