चिनियाँ जहाज उडाउँदा साढे दुई अर्ब डुब्यो, थन्काउँदा पनि पार्किङ र बीमा शुल्क तिर्नैपर्ने
नेपाल वायुसेवा निगमले चिनियाँ जहाज उडाउँदा ६ वर्षमा साढे दुई अर्ब नोक्सान भएको छ। रु.३ अर्ब १४ करोड ऋणको पहिलो किस्ता नै नतिरी जहाज ग्राउन्डेड गरिएका छन्। तर, नियमित मर्मत, बीमा र पार्किङ शुल्कमा भने खर्च गरिरहनुपर्छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चिनियाँ सहुलियत ऋणमा ल्याएको जहाजको पहिलो किस्ता तिर्नुपर्ने मिति गएकाे कात्तिकदेखि सुरु हुँदै थियो। तर, साढे तीन महीना अगाडि (१५ साउन २०७७) देखि नै निगमले औपचारिक रूपमै सबै ६ वटा चिनियाँ जहाज ग्राउन्डेड गरेको छ। अधिक खर्च र न्युन आम्दानीका कारण उडाएर लाभ लिन नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज ग्राउन्डेड गरेको हो।
६ वटै चिनियाँ जहाजको ऋण रु.३ अर्ब १४ करोड ४ लाख ८९ हजार ७८२ छ। यसमध्ये दुईवटा एमए–६० को रु.१ अर्ब ६५ करोड ८ लाख ८३ हजार र चार वटा वाई–१२ को रु.१ अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नुपर्ने छ। जहाज ल्याउन तिरिएको रु.१२ करोड भन्सार पनि सरकारी ऋणबाटै हो। निगमले जहाज किन्दा लिएको ऋणमध्ये वाई–१२ को वार्षिक ब्याज नै रु.२ करोड ३९ लाख तिर्नुपर्छ। एमए–६० को ब्याज भने रु.६५ लाख तिर्नुपर्छ।
निगमले २०६८ मा गरेको सम्झौता अनुसार ५६ सिट क्षमताको एक एमए–६० र १८ सिट क्षमताको तीन वटा वाई–१२ जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा दुई चिनियाँ कम्पनीमार्फत खरीद गरेको हो। बाँकी एउटा एमए–६० र एउटा वाई–१२ सित्तैमा पाएको हो।
निगमले १४ वैशाख २०७१ मा पहिलो र त्यसको ६ महीनापछि दोस्रो अनुदानको जहाज भिœयाएर उडाउन थलेको थियो। निगमले किनेकामध्ये १३ माघ २०७३ मा पहिलो र त्यसको एक सातापछि दोस्रो वाई–१२ जहाज ल्याएको थियो। बाँकी दुई वाई–१२ जहाज १ फागुन २०७४ मा आएका थिए।
निगमले चिनियाँ जहाज साढे दुई वर्षदेखि ६ वर्षसम्म उडायो। खरिद सम्झौता अनुसार यी जहाजको पहिलो अर्थवार्षिक किस्ता गएको कात्तिक मसान्तबाट तिर्न सुरु गर्नुपथ्र्यो। तर, जहाज नै ग्राउण्डेड गरेका कारण किस्ता नबुझाएको निगमका अधिकारी बताउँछन्। निगमले सरकारमार्फत २०९० वैशाखसम्म किस्ता बुझाउने शर्तमा जहाज किनेको हो।
आन्तरिक उडानका पाँच चिनियाँ जहाज साढे चार महीनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तापेर बसिरहेका छन्। एउटा वाई–१२ भने चैत २०७६ मै नेपालगन्ज विमानस्थलमा दुर्घटना भई काम नलाग्ने अवस्थामा उतै थन्किएर बसेको छ। निगमले जहाज उडान घाटामा गएको, मर्मत सम्भार खर्च अधिक भएको, जहाज पूर्ण क्षमतामा उडाउन योग्य नभएको र उडानमा पाइलट अभाव भएको कारण देखाएर थन्काएको हो।
जहाज उडाउँदा रु.२ अर्ब ४८ करोड घाटा
निगमले ६ वर्ष उडाएको चिनियाँ जहाजको वार्षिक घाटा औषतमा रु.५० करोड छ। चरणबद्ध रूपमा नेपाल भित्रिएका यी जहाज सञ्चालन र अन्य अत्यावश्यक खर्चबाट रु.२ खर्ब ४८ करोड ३९ लाख ४८ हजार खुद नोक्सान भएको छ।
आर्थिक वर्ष २०७१/७२ देखि २०७६/७७ सम्ममा निगमले उक्त रकम गुमाएको हो। चार वटा वाई–१२ बाट मात्र ६ वर्षमा रु.९७ करोड १४ लाख ६३ हजार घाटा भएको छ। दुईवटा एमए–६० बाट रु.१ अर्ब ५१ करोड १२ लाख घाटा भएको निगम स्रोतले हिमालखबरलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
निगमका अनुसार चिनियाँ जहाज जति पूर्ण क्षमतामा उडायो घाटा उति नै बढी हुन थालेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा ६ वटै जहाज उडाइएको थियो। उक्त वर्ष रु.५७ करोड घाटा भयो।
चिनियाँ जहाज उडाउन थालेपछि हरेक वर्ष निगम घाटामा गएको छ। यस्तो घाटा प्रत्येक वर्ष बढ्दै गएको थियो। पहिलो वर्ष रु.२७ करोड ६२ लाख, दोस्रो वर्ष रु.२८ करोड २६ लाख, तेस्रो वर्ष रु.३२ करोड ८३ लाख घाटा भएको थियो। चौथो वर्ष रु.४९ करोड ७५ लाख, पाँचौ वर्ष रु.५२ करोड २१ लाख र छैटौं वर्ष रु.५७ करोड ७० लाख घाटा भएको निगमले तयार पारेको चिनियाँ जहाजको ६ वर्षको वासलतमा उल्लेख छ।
वाई–१२ उडाउँदा निगमले रु.१ करोड आम्दानी गरेको थियो। तर, त्यसको मर्मत संभारसहितको खर्च नै रु.६५ करोडसम्म पुगेको छ। एमए–६० उडाउँदा भने आम्दानीभन्दा खर्च नौ गुणासम्म बढी भएको छ। पहिलो वर्ष एमए–६० र वाई–१२ दुई वटा जहाज उडाउँदा जम्मा रु.८ करोड कमाउँदा रु.६५ करोड खर्च भएको थियो।
जहाज थन्काउँदा पनि यसरी हुन्छ घाटा
निगमले चिनियाँ जहाज उडाउँदा सञ्चालन खर्च, इन्धन, मर्मत, आम्दानी गरे अनुसारको कर, तथा अप्रत्यक्ष खर्च गर्नुपर्छ। तर, उडाउन नसकेर थन्काइएका जहाजमा पनि निगमले नियमित खर्च गर्नुपर्छ। जहाज थन्काउँदा अत्यावश्यक मर्मत, पार्किङ र बीमामा खर्च हुने गरेको छ। जहाज नउडाएपनि बीमा र पार्किङ शुल्क अनिवार्य तिर्नुपर्छ।
चिनियाँ जहाजको बीमा शुल्क अन्य आन्तरिक उडानका जहाजको तुलनामा झन्डै दोब्बर महंगो छ। अन्य जहाजको बीमा कुल रकमको १.५ प्रतिशतदेखि बढीमा ७ प्रतिशतसम्म तिर्नुपर्छ। चिनियाँ जहाजको भने १२ देखि १५ प्रतिशतसम्म तिर्नुपरेको छ। निगमले ६ वर्षमा एमए–६० को मात्र रु.६२ करोड १६ लाख र वाई–१२ को ४७ करोड ४७ लाख जम्मा रु.१ अर्ब ८ करोड ६३ लाख बीमा शुल्क मात्र तिरेको छ।
बीमा र पार्किङ शुल्क जहाज उडाउँदा पनि र नउडाइ थन्काएरै राख्दा पनि अनिवार्य तिर्नुपर्छ। निगमले ६ वर्ष यता वाई–१२ को ल्याण्डिङ/पार्किङ शुल्क मात्र वार्षिक रु.४९ लाखसम्म तिरेको छ। एमए–६० को भने यस्तो शुल्क बार्षिक रु.१० लाखसम्म तिरेको छ।
मर्मतका लागि लाग्ने शुल्क पनि अन्य जहाजको तुलनामा महङ्गो भएको निगमका अधिकारी बताउँछन्। वाई–१२ जहाजका लागि पहिलो वर्ष नै रु.१२ लाख मर्मतमा खर्चिनु परेको थियो। यस्तो शुल्क वार्षिक ४२ लाखसम्म पुगेको छ। एमए–६० का लागि पनि वार्षिक रु.१ करोड ७१ लाखसम्म मर्मत खर्च गर्न परेको छ।
पुनः उडाउने सम्भावना न्यून
१५ साउदेखि औपचारिक रूपमा चिनियाँ जहाज थन्काइएको भए पनि अनौपचारिक रूपमै जहाज उड्ने र थन्कने भइरहेको छ। ६ वटा चिनियाँ जहाजमध्ये हाल उडाउन योग्य पाँच वटा छन्। जसमध्ये तीन वटा वाई–१२ र दुई वटा एमए–६० हुन्। यीमध्ये वाई–१२ एकैपटक दुई देखि तीन वटासम्म उडेका थिए। तर, एमए–६० भने भित्रिएको ६ वर्षसम्म एकदिन पनि एकैपटक दुवै जहाज नउडेको निगम सञ्चालक समितिका सदस्य अच्चुतराज पहाडी बताउँछन्।
जे समस्या आएर जहाज थन्काएको हो, पुनः सोही समस्या बोकेर उडाउन सक्ने अवस्था नभएको निगमको भनाइ छ। अब उडाउँदा लागि पाइलट पनि नहुने समस्या देखिएको जनाइएको छ।
उनका अनुसार पटक पटक ग्राउण्डेड भइरहका निगमका जहाज अब उड्ने संभावन न्यून छ। पहाडीले भने, “निगमलाई राजनीतिक दबाव आउँदा र सरकाले उडाउनै पर्ने दबाव दिएर पुनः उडानमा ल्याउने भयो भने अहिले जति खर्च भइरहेको छ त्योभन्दा बढी हुन्छ।” अध्ययनविना नै उडाउन नसक्ने जहाज ल्याउनेलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।
‘‘जहाज उडाएर फाइदा नहुने र उडाउन पनि नसक्ने जहाज किन ल्याइयो ? जहाज ल्याउने व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही किन नगर्ने ?’’ निगम सञ्चालक समितिका सदस्य पहाडीले प्रश्न गर्छन्।
निगमले जहाज थन्काउने निर्णय गरेपछि अब विकल्पमा सरकारलाई विभिन्न चारवटा सुझाव दिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठ बताउँछिन्। उनका अनुसार पर्यटन मन्त्रालयमार्फत चिनियाँ जहाज व्यवस्थापनमा सरकारलाई सबै जहाज फिर्ता गर्ने, टेण्डर गरेर बेच्न, भाडामा दिने वा नयाँ जहाज किन्न नगदसँग घटाउने सुझाव दिइएको छ। तर, सरकारले कुनै निर्णय नदिइसकेको निगमले जनाएको छ।
जे समस्या आएर जहाज थन्काएको हो, पुनः सोही समस्या बोकेर उडाउन सक्ने अवस्था नभएको निगमको भनाइ छ। अब उडाउँदा लागि पाइलट पनि नहुने समस्या देखिएको जनाइएको छ।
निगम प्रवक्ता श्रेष्ठका अनुसार एमए–६० का लागि दुई जना क्याप्टेन र पाँच जना को–पाइलट छन्। तर, वाई–१२ को लगि आवश्यक प्रशिक्षक पाइलट एक जना पनि छैनन्। यसका लागि को–पाइलट भने पाँच जना छन्। जहाज थन्किएपछि यी पाइलटले लामो समयदेखि उडान गर्न पाएका छैनन्।