सधैंलाई थन्कियो चिनियाँ जहाज, पाँचवर्षमा ५ अर्ब डुब्यो
नेपाल वायुसेवा निगमले पाँच वर्षमा रु.१ अर्ब ९० करोड घाटा भएकाे निष्कर्ष निकाल्दै १५ साउन देखि ६ चिनियाँ जहाज नउडाउने निर्णय गरेको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पाँच वर्षदेखि उडान गर्न थालेको चिनियाँ जहाजले घाटा भएको र उडान सञ्चालनबाट नाफा कमाउन नसक्ने निर्णय गर्दै अब सधैंका लागि थन्क्याउने निर्णय गरेको छ।
निगमले चीनसँग अनुदानमा ल्याएका २ र खरीद गरेका ४ सहित ६ वटै चिनियाँ जहाज अब नउडाउने निर्णय गरेको छ । निगमले चिनियाँ जहाज उडान थालेको पाँच वर्षमा रु.१ अर्ब ९० करोड घाटा भएको र आगामी दिनमा पनि लाभ गर्न नसक्ने निष्कर्ष निकाल्दै रु.३ अर्ब १४ करोड ऋण रहेका ६ वटै चिनियाँ जहाज नउडाउने निर्णय गरेको हो।
जहाज किन्दाको ऋण र निगमको घाटा गरी पाँच वर्षमा रु.पाँच अर्ब चार करोड रुपैंयाँ तिर्नुपर्ने भएको छ ।
निगम सञ्चालक समितिले एक साता अगाडि नै निर्णय गरेर सो निर्णयको जानकारी निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन समक्ष पेश गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘‘बोर्डले निरन्तर घाटामा गएको र उडाएर नाफा पनि कमाउन नसक्ने निष्कर्ष निकाल्दै चिनियाँ जहाज १५ साउन २०७७ बाट नउडाउने निर्णय गरेको हो।’’
कोभिड –१९ नियन्त्रणका लागि गरिएको ११ चैत २०७६ देखि जारी बन्दाबन्दीपछि यी चिनियाँ जहाजले जम्मा तीनवटा मात्र उडान भरेका छन् ।
निगमले जहाज नउडाउनुकाे कारण र तथ्यसहितको आधार खुलाएर गरेको निर्णयलाई पर्यटन मन्त्रालयमा पेश गरेकाले अब सरकारले जे निर्देशन दिन्छ सोही अनुसार जहाज व्यवस्थापन गरिने खड्का बताउँछिन।
निगम सञ्चालक समितिले जहाज नउडाउने निर्णय गरेको भएपनि अब जहाज बेच्ने वा भाडामा लगाउने विषयको निर्णय भने सरकारको निर्देशनपछि मात्रै हुने निगमले जानकारी दिएको छ।निगमले उडाउन नसक्ने निर्णय गरेका ६ वटै चिनियाँ जहाजको ऋण रु.३ अर्ब १४ करोड ४ लाख ८९ हजार ७८२ रहेको छ । यसमध्ये दुईवटा एमए ६० को ऋण रु.१ अर्ब ६५ करोड ८ लाख ८३ हजार र चार वटा वाई १२ को ऋण रु.१ अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ छ।
बाँकी १२ करोड भन्सार तिर्दा लिएको ऋण पनि निगमले तिर्न बाँकी छ । निगमले जहाज किन्दा लिएको ऋणको एमएम ६० को वार्षिक ब्याज नै रु.६५ लाख र वाई १२ ले रु.२ करोड ३९ लाख तिर्नुपर्छ।
निगमलाई चिनियाँ जहाजबाट २०७१/७२ देखि आव २०७५/७६ सम्ममा व्यहोरेको कुल नोक्सानी रु.१ अर्ब ९० करोड ६९ लाख ३३ हजार ११४ छ । यसमा सञ्चलन नोक्सान मात्रै रु.७७ करोड ७४ लाख १० हजार १४३ रहेको छ।
यस्तो घाटा रकममा चारवटा वाई १२ को मात्रै रु.३८ करोड १८ लाख ९० हजार २९ र एमए ६० को रु.३९ करोड ५५ लाख २० हजार ११४ रहेको छ । सञ्चालन सहितको कुल घाटा भने वाई १२ को रु.७२ करोड ६३ लाख ३७ हजार १३४ र एमए ६० को रु.१ अर्ब १८ करोड ५ लाख ९५ हजार ९८० रहेको निगम स्रोतले हिमालखबरलाई उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ।
निगमले चिनियाँ जहाज उडाउन नसक्नुको कारणमा वाई १२ को प्रशिक्षक पाइलट उपलब्ध नहुनु, तालिम खर्च अन्य जहाजको तुलनामा ४ गुणा बढी लाग्नु, पाइलटले तालिम लिने समय प्रशिक्षक पाइलटबाट नपाउनु, २५ देखि ६० प्रतिशतको अकुपेन्सी (क्षमता भन्दा कम यात्रु बोक्ने) गर्नु र इन्धन ३३ देखि ६७ प्रतिशतसम्म बढी खपत गर्ने कारण उल्लेख छ।
यस्तै, एमए ६० काे सिमुलेटर तालिम खर्च अन्य जहाजको तुलनामा ७८ प्रतिशत बढी हुनु, टाइप रेटिङ तालिम अन्य जहाजको तुलनामा ५० प्रतिशतले बढी हुनु, क्षमताको ३० प्रतिशत मात्रै यात्रु बोक्न सक्नु र अन्य वायुसेवाको तुलनामा इन्धन खपत शतप्रतिशत बढी हुनुले चिनियाँ जहाजको उडान घाटामा रहेको निगम सञ्चालक समितिले गत साता गरेको सञ्चालक समितिको निर्णयमा उल्लेख छ।
निगम सञ्चालक समितिका एक सदस्यका अनुसार चिनियाँ जहाज १ साउनदेखि नै नउडाउने गरी निर्णय प्रस्ताव गरिएको भएपनि एक प्रशिक्षक पाइलट फिजियो नेपालीको करार अवधि १५ साउनसम्म बाँकी रहेकाले सोही दिनबाट उडान नगर्ने गरी निर्णय भएको हो।
जहाज घाटामा गएको, मर्मत सम्भार खर्च अधिक भएको, जहाज पूर्ण क्षमतामा उडान योग्य नभएको र जहाज उडानमा पाइलट अभावसहितको विषय उल्लेख छ । निगमले गराएको जानकारी अनुसार अब जहाज उडानमा गर्न सक्ने र विकल्प खोजी गर्न शुरु गरेको जानकारी प्राप्त भएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए।
अधिकारीका अनुसार जहाज नउडाउने निर्णय गर्ने संस्थाले नै अबको योजना र यसको व्यवस्थापनको टुंगो लगाउने छ । निगमले अब ती जहाजलाई के गर्ने र कसरी ऋण तिर्ने भन्ने योजना पेश गर्ने जानकारी पनि दिए।
निगमसँग १८ सिट क्षमताका वाई १२ ई चारवटा र ५८ सिट क्षमताका एमए ६० नामक जहाज २ वटा रहेका छन् । यी जहाजमध्ये निगमले वाई १२ एक र एमए ६० एक जहाज अनुदानमा पाएको हो भने बाँकी चारवटा जहाज खरीद गरेको थियो।
यस अघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि जहाज उडाएर नाफा कमाउन नसक्ने र निरन्तर घाटामा जाने हो भने जहाज बेच्न वा व्यवस्थापन गर्न सुझाव दिएको थियो।
समितिले ‘नेपाल वायुसेवा निगमको जहाज खरीद सम्बन्धी अध्ययन प्रतिवेदन, २०७६’ मार्फत निगमलाई यस्तो सुझाव दिएको थियो । निगमको उक्त जहाजको किस्ता अबको चार महीनापछि तिर्नुपर्ने हुन्छ।
निगमले चिनियाँ सहुलियत ऋणमा ल्याएका यी जहाजको किस्ता तिर्न सात वर्षसम्म छुट अवधि पाएको छ। त्यसपछि २० वर्षसम्म किस्ता तिर्ने शर्त उल्लेख छ। निगमले तीन वाई १२ र एक एम ६० जहाज सहुलियत ब्याजदरमा खरीद गरेको थियो भने एक एमए ६० र एक वाई १२ अनुदानमा पाएको हो।
यी जहाजको कात्तिक २०७७ देखि किस्ता तिर्न शुरु गर्नुपर्ने शर्त छ। तर, चिनियाँ जहाज उडान शुरु गरेको सात वर्षसम्म पनि निगमले यी जहाजबाट निरन्तर घाटा खाँदै आएको छ।
निगमले सन् २०१४ मा एक एमए ६० र तीन वाई १२ का जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा खरीद गरेको हो। यी जहाजको आगामी २०७७ कात्तिक मसान्तमा पहिलो अर्थवार्षिक किस्ता ८४ लाख १५ हजार २२५ आरएमबी बुझाउनुपर्छ। यस्तो किस्ता २०९० वैशाखसम्म बुझाउने शर्त सम्झौतामा उल्लेख छ।
यो पनि पढ्नुहाेस्– नउड्दा घाटा उड्दा झनै घाटा