संवैधानिक परिषद्को बैठकमा जाने/नजानेबारे कांग्रेस सभापति देउवा परामर्शमा
आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठकमा जाने वा नजाने भन्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केही नेताहरूसँग परामर्श थालेका छन्।
बिहान स्थगित गरिएको संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बोलाइएको छ। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सभापति देउवा पनि संवैधानिक परिषद्को सदस्य छन्। तर, कांग्रेससँग कुनै परामर्श समेत नगरी अध्यादेश ल्याएकाले सभापति अन्योलमा परेका छन्।
पार्टीका उपसभापति विमलेन्द्र निधिलगायत शीर्ष नेताहरूले अब बैठकमा जान नहुने सुझाव दिएका छन् भने अन्य केही नेताहरूसँग पनि देउवा परामर्शमा रहेको एक नेताले बताए।
अध्यादेशप्रति कांग्रेसका शीर्ष नेताहरूले विरोध गर्दै सामाजिक संजालमा लेख्ने तथा संचारमाध्यमहरूमा प्रतिक्रिया दिए पनि पार्टीको आधिकारिक विज्ञप्ति भने आइसकेको छैन।
तर, नेताहरूले अध्यादेशको विरोध गर्दै सभापति देउवा बैठकमा जान नहुने टिप्पणी गरिरहेका छन्।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले हिमालखबरसँग भने, “यो कुनै पनि हालतमा समर्थन गर्ने कुरा नै होइन, त्यसैले कांग्रेसले समर्थन गर्दैन र सभापतिज्यू बैठकमा जानु हुँदैन भन्ने मेरो सल्लाह छ।”
देउवाको निजी सचिवालयले पनि विभिन्न नेताहरूसँग अध्यादेशबारे अनौपचारिक कुराकानी भइरहेको बताएको छ।