कांग्रेसले भन्यो- ‘अध्यादेश ल्याएर सरकार उल्टो बाटो हिँड्यो’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ। संसद बोलाउनुको सट्टा अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिंडिरहेको कांग्रेसले ठहर गरेको छ।
कांग्रेस उपसभापति विमलेन्द्र निधीले अध्यादेश ल्याउनु सरकारको सर्वसत्तावादी र अधिनायकवादी काम भएको बताए। उनले यसरी अध्यादेश ल्याएर बस्ने संवैधानिक परिषद्को बैठकमा सभापति जान नहुने बताए।
“संवैधानिक परिषद्को बैठकमा सभापतिज्यू जानुहुँदैन भन्ने पक्षमा म छु, र त्यही सुझाव दिन्छु। उहाँसँग सम्पर्क गर्ने कोसिस गरिरहेको छु, सम्पर्क हुन सकेको छैन”, निधीले हिमालखबरसँग भने।
यस्तै, कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि संसद छलेर यसरी अध्यादेश ल्याइरहने प्रक्रियालाई कांग्रेसले कुनै हालतमा समर्थन नगर्ने बताए।
पौडेलले थपे, “यो संविधानको मर्म र लोकतन्त्र विरोधी काम हो, यसमा पार्टीको समर्थन हुँदैन, कांग्रेसको आपत्ति छ भनेर पार्टीको विज्ञप्ति पनि आउँछ होला, विज्ञप्ति नआए पनि कांग्रेसको धारणा यही हो, अध्यादेश मान्य हुँदैन।”
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक बस्न सकेको थिएन। त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अध्ययादेश जारी गरिसकेकी छन्।
आज साँझ ५ बजे संवैधानिक परिषद् बैठक बोलाइएको छ।