रौतहट नरसंहारका मुख्य योजनाकार महताबलाई खोज्न मुम्बईसम्म पुगेको थियो प्रहरी
मुम्बईसम्म पुगेर करीब ८ महीनादेखि महताबलाई पछ्याइरहेको प्रहरीले सोमबार भारतको मोतिहारीबाट उनलाई पक्राउ गरेको थियो।
रौतहटमा करीब १३ वर्ष पहिले भएको नरसंहारका मुख्य योजनाकार मानिएका मोहम्मद महताब आलम २२ मंसीरमा पक्राउ परेका छन्। प्रदेश-२ प्रहरी कार्यालयले महताबलाई रौतहटको नेपाल–भारत सीमानामा पर्ने बोधीमाई नगरपालिका–७, बड्की बंकल क्षेत्रबाट पक्राउ गरिएको प्रेस विज्ञप्तिमार्फत् औपचारिक जानकारी दियो।
रौतहटको राजपुरमा २०६४ सालको संविधानसभा निर्वाचनको ठिक अघिल्लो दिन भएको बमकाण्डका मुख्य अभियुक्त मानिएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसबाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेको करीब १४ महीनापछि महताब पक्राउ परेका हुन्। महताब पूर्वमन्त्री अफताबका सहोदर भाई हुन्। २६ असोज २०७६ मा पक्राउ परेका अफताब रौतहट जिल्ला अदालतको आदेशअनुसार अहिले पुर्पक्षका लागि कारागारमा छन्।
२७ चैत २०६४ मा भएको बमकाण्डमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई नजिकै रहेको इँटाभट्टामा हालेर हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो। महताब त्यसका मुख्य योजनाकार रहेको प्रहरीको भनाई छ। अफताब पक्राउ परेपछि फरार रहेका महताब प्रहरीको आठ महीना लामो निरन्तरको प्रयासपछि पक्राउ परेका हुन्। महताब कसरी पक्राउ परे ? यसपछाडिको कारण थप रोचक छ।
मुम्बईसम्म पुगेको थियो प्रहरी
महताबलाई पक्राउ गर्न प्रदेश-२ प्रहरी कार्यालयले आठ महीना अघिदेखि टोली परिचालन गरेको थियो। आठ महीना पहिलेदेखि उनलाई पक्राउ गर्न टोली खटाएको प्रदेश-२ प्रहरी कार्यालयले भारतमा समेत आफ्नो टोली परिचालन गरेको पाइएको छ।
गत वैशाखदेखि नै महताबलाई पछ्याइरहेको प्रहरीले ८ जेठमा उनी रौतहट, राजपुर नगरपालिका-४ स्थित घरमा आएको सूचनाका आधारमा छापा मारेको थियो।
प्रदेश-२ प्रहरी कार्यालयले बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयका प्रमुख, डीएसपी गोविन्द पुरीको नेतृत्वमा पठाएको टोलीले उनको घरलाई चारैतिरबाट घेरेको थाहा पाएपछि गाउँलेले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। करीब डेढ सय प्रहरी त्यसपछि १७ राउन्ड हवाई फायर गरेर त्यहाँबाट फर्केका थिए।
“त्यसपछि उनलाई पक्रन हामीले नयाँ किसिमले योजना बनाउनुपर्यो”, प्रदेश-२ प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने।
त्यसपछि महताब भारतमा बसेको सूचना पाएपछि प्रदेश-२ प्रहरी कार्यालयले भारतका विभिन्न शहरमा उनलाई खोजी गर्न टोली खटायो। त्यहीबीचमा उनी मुम्बईमा भएको सूचना आएपछि प्रदेश प्रहरी कार्यालयको एक टोली मुम्बई पुगेर करीब १५ दिनसम्म खोजी गरेको तर नभेटिएको ती प्रहरी अधिकृतले बताए।
त्यहीबीचमा उनी बिहारको शिवहरस्थित आफ्ना दाजु अफताबका सम्धि, त्यहाँका विधायकसमेत रहेका मोहम्मद सफरुदीनको घरमा रहेको सूचना आएपछि प्रहरी शिवहर पनि पुग्यो। तर, सफरुदीनको घरबाट उनलाई पक्राउ गर्न सम्भव नदेखेपछि गाउँबाहिर निस्कनासाथ उनलाई पक्राउ गर्ने योजना बनाएको प्रहरी १५ दिनसम्म शिवहरमै बस्यो तर महताबलाई समात्न सफल भएन।
त्यसपछि पनि प्रहरीले उनलाई पछ्याउन छाडेन। त्यहीक्रममा भारतीय प्रहरीको सहयोग लिएर बिहारकै मोतिहारीस्थित ब्लु डायमन्ड होटलबाट महताबलाई २२ मंसीरमा पक्राउ गर्न प्रहरी सफल भयो। महताब पक्राउ पर्दा उनीसँग हतियारधारी अंगरक्षक र सहयोगीसमेत रहेको, अंगरक्षक र सहयोगीलाई भने भारतीय प्रहरीले आफ्नो नियन्त्रणमा राखेको प्रहरी स्रोतले बतायो।
रौतहट बमकाण्डमा आलमका दाजुभाईसँगै अरु अभियुक्त पनि पक्राउ परेका छन्। गत १४ जेठमा प्रहरीले इँटाभट्टाका कामदार मुक्ति साह, १८ असारमा घाइते र शव ओसार्न प्रयोग भएको ट्रयाक्टर चालक शेख सेराज तथा १६ असोजमा इँटाभट्टाका मुन्सी बद्री सहनीलाई पक्राउ गरेको थियो। पक्राउ परेका सहनी र साहलाई अदालतले तारेखमा रिहा गरेको छ भने सेराज पुर्पक्षका लागि कारागारमा छन्।