रौतहट नरसंहारका एक फरार अभियुक्त पक्राउ
रौतहटको फरहदवामा २०६४ सालमा भएको नरसंहारका एक फरार अभियुक्त पक्राउ परेका छन्।
घटनाका मुख्य व्यक्ति नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका भाइ मोहम्मद महताव आलमलाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनाका प्रतिवादीहरु खोजी गर्ने क्रममा कार्यालयबाट खटिएको विशेष टोलीले २२ मंसीरमा रौतहटको राजपुर नगरपालिका-४ का ५५ वर्षीय महतावलाई नेपाल-भारत सिमानामा पर्ने रौतहटको बौधीमाई नगरपालिका-७ बडकी बंकल एरियाबाट पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका महतावबारे अनुसन्धान शुरु गरिएको र प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो दाइ मोहम्मद अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखी इँटाभट्टामा जलाएको स्वीकारेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यही घटनामा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा नेता अफताव आलम थुनामा छन्। रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित उनलाई २६ असोज २०७६ मा कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले गौरमा आयोजना गरेको चियापानमा सहभागी हुन जाँदै गर्दा पक्राउ गरिएको थियो।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा बुथ कब्जा गरी जित्ने प्रपञ्च रचेर अफताव आलमले चुनावको अघिल्लो दिन २७ गते साँझ रौतहटको साविकको राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल राजपुर नगरपालिका-४ मा बम बनाउन लगाएका थिए। तर बम बनाउने क्रममा विस्फोट हुँदा २/३ जनाको मृत्यु भएको थियो भने १५/१६ जना घाइते भएको बताइन्छ। उक्त घटनालाई सामसुम पार्न मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको इँटा भट्टामा लगेर जलाइएको त्यसबेलाका प्रत्यक्षदर्शीहरुले बताएका थिए।
घटनाका पीडितहरुले न्याय माग्दै विभिन्न समयमा प्रहरी-प्रशासनमा धाए पनि राजनीतिक प्रभाव र पहुँचका कारण अफताव आलममाथि १२ वर्षसम्म कारबाही हुन सकेको थिएन। उनले राज्य शक्तिको आडमा बम विस्फोटको घटनाका प्रमाण समेत नष्ट गरेका थिए। १२ वर्ष पुरानो मुद्दामा प्रहरीको अब्बल अनुसन्धानले उनलाई न्यायको कठघरामा उभ्याएको हो।